कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेशको नाम ‘गण्डकी’ राखेको विरोधमा बन्द

पोखरा — प्रदेशको नाम गण्डकी राखिएको विरोधमा उत्रेको तमुवान–मगरात संघर्ष समितिको आह्वानमा सोमबार प्रदेश राजधानी पोखरासहित गण्डकीका प्रमुख सहरहरू बन्दले प्रभावित भएका छन् ।

प्रदेशको नाम ‘गण्डकी’ राखेको विरोधमा बन्द
पोखरामा बजार, यातायात र शिक्षण संस्थाहरू बन्द रहे । पोखराबाट लामो तथा छोटो दूरिका सार्वजनिक यातायात चलेनन् । उद्योग, कलकारखाना पनि बन्द रहे । विहानभरि पानी परेकाले सुनसान सडकमा दिउँसो वर्षा थामिएपछि छिटपुट संख्यामा निजी सवारी चलेका छन् । चोक चोकमा प्रहरीले सुरक्षा तैनाथी बढाएको छ । बन्दमा कास्कीमा कुनै पनि अप्रिय घटना नभएको कास्कीका प्रहरी नायव उपरीक्षक रविन्द्र गुरूङले बताए ।

प्रदेशको नाम जातीय पहिचानमा राख्नुपर्ने माग तमुवान–मगरात संघर्ष समितिको छ । समितिको आन्दोलनलाई नयाँशक्तिसहित संघीय समाजवादी फोरम र देशभक्त जनतान्त्रिक मोर्चाले समेत समर्थन गरेका छन् । समितिले पटक पटकगरि प्रदेशको नाम पारित हुनुअघि मुख्यमन्त्री, उपसभामुख र विपक्षी दलका नेतालाई पहिचानसहितको हुनुपर्ने भन्दै आफ्ना ज्ञापनपत्र बुझाएका थिए । प्रदेशको नाम जातीय पहिचानको साटो सबैलाई अपनत्व हुने हुनुपर्ने भन्दै त्रापनपत्र बुझाउने संघ संगठनहरू पनि थिए । दुवै पक्षधरले पटकपटक र्‍याली र कोणसभा गरेका थिए ।

प्रदेशसभामा गत शुक्रबार सदस्य संख्याको दुइतिहाइले प्रदेशको नाम ‘गण्डकी’ पारित गरेका थिए । नाम पारित गराउन सत्ताधारी नेकपा, प्रतिपक्षी कांग्रेस र राष्ट्रिय जनमोर्चाका सांसद एक भएका थिए । ५९ सदस्यीय प्रदेशसभासमा प्रदेशको नाम गण्डकी हुने प्रस्तावको पक्षमा ५४ र विपक्षमा नयाँ शक्तिका दुई सांसदको मात्रै मत परेको थियो । सभामुख नेत्रनाथ अधिकारी भने बिरामी परेकाले सभामा आएका थिएनन् भने राजमोका टेकबहादुर घर्ती पनि अनुपस्थित थिए । नेकपाका ३७, कांग्रेसका १५ राजमोका २ सांसदले गण्डकीको पक्षमा मत दिएका थिए । नयाँशक्तिका हरिशरण आचार्यले ‘गण्डकी तमुवान’ नाम राख्न पेस गरेको संशोधन प्रस्ताव बैठकले अस्वीकृत गरेको थियो ।

प्रदेशको नाम गण्डकी राख्न कांग्रेस, राजमो र साबिकको एमालेले पहिल्यै निर्णय गरेका थिए भने साबिकको माओवादी केन्द्रले निर्णय गरेको थिएन । एमालेसँगको पार्टी एकीकरणपछि नेकपाले ढिलो निर्णय गरेको थियो । नेकपा संसदीय दलमा प्रदेशको नाम गण्डकी वा गण्डकी–तमुवान राख्ने भन्ने विषयमा मत विभाजन पनि भएको थियो । पुन: बैठक गरेर साझा नाम ‘गण्डकी’ राख्नेमा विहीवार नेकपामा सहमति भएपछि शुक्रबार प्रदेशसभाको बैठकले पारित गरेको थियो ।

प्रदेशको नामका विषयमा विवाद आउन सक्ने देखेपछि प्रदेशसभाले चैत १२ मा प्रदेश राजधानी र नामकरण सुझाव समिति गठन गरेको थियो । समितिले असार १० मा टेबुल गरेको प्रतिवेदनमा प्राथमिकताका आधारमा गण्डकी, तमुवान मगराँत, गोरखा र धौलागिरी नाम दिएको थियो ।

प्रकाशित : असार २५, २०७५ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?