हाते ट्रयाक्टरको प्रयोग बढ्दो

प्रतीक्षा काफ्ले

स्याङ्जा — ससाना गह्रामा हिजोआज गोरु नारेर जोतेको विरलै देखिन्छ । हलगोरुको ठाउँ पावरटिलर भनिने हाते ट्रयाक्टरले लिएका छन् । केहीअघि जिल्ला कृषि विकास कार्यालय र हाल स्थानीय तहले अनुदानमा उपलब्ध गराउन थालेपछि किसानले खेतबारीमा हातेट्रयाक्टरको प्रयोग बढाएका हुन् ।

‘हलगोरु नारेर खेत जोत्न लोग्नेमान्छे नै चाहिन्छन्,’ फेदीखोलाका किसान रामचन्द्र गौतम भन्छन्, ‘महिलाले हलगोरु नार्न हुँदैन भन्ने मान्यता अझै पनि कायमै छ । हली पाउनै समस्या हुन्थ्यो । हाते ट्रयाक्टर महिलाले पनि चलाउन सक्छन् ।’ प्रविधिको उपयोग बढ्नुको एउटा कारण यस्तो पनि रहेको उनको तर्क छ ।

त्यसो त जिल्लाको पहाडी भूगोलमा ठूला ट्रयाक्टरले जोत्न सजिला ठाउँ निकै कम छन् । आकार सानो, जोत्न सजिलो र अनुदानको व्यवस्थाले पनि किसानले हाटे ट्रयाक्टरको उपयोग बढाएका हुन् । स्थानीय तहहरूले किसान र तिनका समूहलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराएपछि पनि हाते ट्रयाक्टरको प्रयोग बढेको हो ।

‘हलगोरुले जोत्न नमिल्ने साँघुरा खेतबारीमा हाते ट्रयाक्टर सजिलो छ,’ पुतलीबजारका वसन्त थापाक्षत्रीले भने, ‘यो समयको माग पनि हो ।’ कृषिमा यान्त्रीकरण हाते ट्रयाक्टर मात्रै नभई अरू सजिलो विधि पनि प्रयोगमा आउनुपर्ने उनले बताए । ‘हली नपाइने, पाए पनि धेरै समय लाग्ने, ज्याला पनि बढ्ता लाग्ने समस्याको समाधान हाते ट्रयाक्टर हो,’ उनले भने, ‘हाते ट्रयाक्टरको प्रयोग बढ्यो तर सँगसँगै यसको मर्मत र पाटपुर्जा सजिलै पाइने सुविधा किसानले पाउनुपर्छ ।’ पुतलीबजारकै ईश्वरी थापा हाते ट्रयाक्टरको उपयोग बढेसँगै गाउँमा हलगोरु राख्ने चलन घटेको बताउँछन् । ‘हाते ट्रयाक्टरले समय, श्रम र खर्च घटाएको छ,’ उनले भने, ‘डल्ला माडिने र झार काट्ने पनि भएकाले रोपाइँमा सजिलो भएको छ ।’

कृषिलाई आधुनिकीकरण गर्दै लैजाने सरकारी नीतिअनुरूप अनुदानमा स्थानीय तहले किसानलाई हाते ट्रयाक्टरमा अनुदानको व्यवस्था गरेको पुतलीबजारकी नगरप्रमुख सीमा क्षत्रीले बताइन् । ‘हाम्रो नगर कार्यपालिकाले निर्णय गरेर असारमा मात्र अनुदानका ३० हाते ट्रयाक्टर वितरण गरेका छौं,’ उनले भनिन् । अनुदानको व्यवस्थाले किसानमा प्रविधिको प्रयोगप्रति रुची पनि बढाएको उनले बताइन् । आर्थिक वर्ष समापनको नजिक पारेर अधिकांश स्थानीय तहले हाल किसानलाई अनुदानमा कृषि औजारका रूपमा हाते ट्रयाक्टर वितरण गरिरहेका छन् ।

युवा शक्तिको विदेश पलायनले ग्रामीण भेगमा असहज भएको खेतपातीलाई यान्त्रीकरणले सघाएको वरिष्ठ कृषि विकास अधिकृत तेजप्रसाद दवाडी बताउँछन् । ‘खेतबारीमा काम गर्ने युवा छैनन्,’ उनले भने, ‘गाउँमा महिला र बूढाबूढी मात्र छन् । महिलाले आफंै हाते ट्रयाक्टर चलाउने र रोपाइँ गर्ने गरेका छन् ।’ जिल्ला कृषि विकास कार्यालयका अनुसार स्याङ्जामा हाते ट्रयाक्टर उपयोग गर्ने किसानको संख्या बढ्दो छ । रोपाइँका लागि खेत तयार पार्न मात्र होइन, मकै छर्न र कोदो रोप्नका लागि पनि हाते ट्रयाक्टर नै प्रयोग गरिँदै आएको अधिकृत दवाडीले बताए ।

गत वर्ष हाते ट्रयाक्टरको माग बढेपछि कृषि इन्जिनियरिङ निर्देशनालयको कार्यक्रमबाट ५४ मिनी टिलर र चारवटा पावर टिलर जिल्ला कृषिले ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरेको थियो ।

प्रकाशित : असार २७, २०७५ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्

कारागार कमाइले घरखर्च

प्रकाश बराल

बागलुङ — कारागारका कैदीबन्दीले सीप सिकेर नियमित आयआर्जन गर्न थालेपछि उनीहरूलाई घरमा खर्च पठाउन सजिलो भएको छ । जिल्ला कारागार बागलुङमा कैदीबन्दीलाई बाँस र डोरीबाट मुढा बनाउने सीपले मनग्य आम्दानी दिएको छ ।

कारागारमा निर्मित मुढा प्रतिगोटा पाँच सयदेखि हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ । मुढा चाहिएनेहरू अधिकांशले कारागारमै पुगेर पनि किनेर ल्याउँछन् । केही थोक पसललाई कैदीबन्दीले कारगारबाटै पठाउँछन् । यसरी नियमित मुढा बुन्नेहरूले मासिक १५ देखि २० हजार रुपैयाँसम्म कमाइ गरेको उनीहरू बताउँछन् । काम सिक्दै गरेकाले पनि मासिक १० हजार रुपैयाँसम्म कमाउन सकेका छन् ।

सीप सिकेर आम्दानीमा लागेका कैदीबन्दीले अपराध गर्ने मनसाय हटाउन सहयोग मिलेको बताए । केहीले भने छुटेपछि सीपको काम गरेर समाजमा सकारात्मक सन्देश दिने योजना सुनाए । ‘बस्न र खानलाई सकस भए पनि मेहेनत गर्न सबैले सिकेका छौं,’ कैदीबन्दीका नाइके सूर्य नेपालीले भने, ‘हाम्रो काम मन परेर धेरैले किनेर लगिदिएकाले कमाइ राम्रै हुने गरेको छ ।’ अधिकांशले आफ्नो कमाइ घरखर्चका लागि पठाउने गरेको सुनाए ।

विभिन्न अपराधमा जेल परेकाहरूको घरको आर्थिक अवस्था भने निकै कमजोर छ । बालबालिकाको पढाइलेखाइ र खाना खर्चले सास्ती खेपेकाले यहाँको कमाइ पठाएर सहज बनाएको उनीहरूको अनुभव छ । ‘सुरुसुरुमा जेलमा भेट्न पनि नआउने परिवारका सदस्य अहिले नियमित भेट्न आउँछन्,’ एक बन्दीले भने, ‘अहिले भेट्ने र घरखर्च चलाउने पैसा लिन आउने गर्छन् ।’ अपराधीका रूपमा व्यवहार गर्ने घरपरिवार र छिमेकीले समेत सम्मान गर्न थालेको उनले बताए ।

लामो समयको सजाय भुक्तानी सकेर फर्कंदा समाजमा अगुवा व्यवसायी र असल चरित्रको देखाउनुपर्छ भन्ने मान्यताले उनीहरू निरन्तर खटेको कारागार प्रमुख दीपक शर्माले बताए । ‘सीप र कमाइको कारण समाजमा उनीहरूको छवि राम्रो बन्दै गएको छ,’ उनले भने, ‘समाजमा फर्कंदा हेलामा पर्ने र अर्को अपराधमा जान सक्ने सम्भावना अन्त्यका लागि कारागारलाई सुधारगृहको रूप दिन खोजिएको छ ।’

नियमित पत्रपत्रिका पढ्ने, चरित्र निर्माण र व्यक्तित्व विकासका तालिम सञ्चालन गर्ने र सकारात्मक सोच सम्बन्धी प्रशिक्षणसमेत चलाउने गरिएको उनले बताए । भौतिक क्षमताको कमीले चाहेजति सेवा दिन नसकेको उनले स्वीकारे । स्वच्छ खानेपानी, सरसफाइ र नियमित स्वास्थ्य परीक्षणका लागि विभिन्न संघसंस्थालाई प्रवेश गर्न दिइएकाले सुधारगृहको रूपमा विकास हुने प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले बताए ।

‘एकपटकको गल्तीले अपराधी बनेकाहरूलाई सुध्रने अवसर दिएर समाजसेवी र अगुवा बन्ने अवसर सिर्जना गराउनुपर्छ,’ उनले भने, ‘उनीहरूले गल्ती महसुस भएमा अपराधका घटना आफंै न्यूनीकरण भएर जान्छन् ।’ चार वर्षअघि तत्कालीन संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले कारागारलाई सुधारगृहकारूपमा विकास गर्न सुझावसमेत दिएको थियो ।

प्रकाशित : असार २७, २०७५ ११:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्