कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हजार जनालाई सीप

लमजुङ — घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले एक वर्षको अवधिमा झन्डै हजार जनालाई सीपमूलक तालिम प्रदान गरेको जनाएको छ ।

हजार जनालाई सीप

भूकम्पपीडितका घर बनाउने डकर्मीसमेत ९ सय ९१ जनालाई तालिम दिइएको कार्यालायले जनाएको छ । जिल्लाका चार नगरपालिका र चार गाउँपालिकाका सहर तथा ग्रामीण भेगमै पुगेर तालिम प्रदान गरेको कार्यालयका निमित्त प्रमुख उद्योग अधिकृत लक्ष्मीप्रसाद दाहालले बताए । उनका अनुसार सीपमूलक, स्वरोजगारमूलक, उद्यमशीलता विकास र पुनर्ताजगीलगायतका तालिम प्रदान गरिएको छ । सीप साथै स्वरोजगारअन्तर्गत जिल्लाका आठवटै स्थानीय तहमा २ सय ९ जनालाई डकर्मी तालिम दिइएको छ । हाल उनीहरू भूकम्पपीडितका घर निर्माणमा जुटेका उनले बताए ।

‘भूकम्पपीडितका घर बनाउन कामदारको अभाव भएका बेला हामीले तालिम दियौं ।त्यही तालिम लिएकाहरू अहिले स्वरोजगार भएका छन्,’ उनले भने, ‘अझै धेरै तालिमको माग आए पनि दिन सकिएन ।’ उनका अनुसार तालिमकै क्रममा क्व्होलासोंथर १ मा भूकम्पपीडितका घर बनाइएको छ । दूधपोखरी गाउँपालिका २ मा वडाध्यक्षको कार्यकक्ष (कोठा) निर्माण गरिएको छ । दोर्दी र मस्र्याङ्दी गाउँपालिकाको शौचालय र बाथरुम निर्माण गरिएको छ । राइनास नगरपालिकाको शौचालय निर्माण गरिएको छ । ‘यी संरचना निर्माण गर्न इँटा, बालुवा, सिमेन्ट, रडदेखि सबै सामग्री हामीले जुटायौं । तालिममा सहभागीले नमुनाका लागि बनाएका ती संरचनाले स्थानीय तहलाई नै सजिलो भएको छ,’ उनले भने ।

सीप विकास तथा जनचेतना तालिमतर्फबाट ५ सय २ जनालाई तालिम दिइएको छ । यसमा सिलाइकटाइ, ढाकाको पर्स बनाउने, अगरबत्ती धूप, ब्युटिपार्लर, झुल बनाउने, कम्प्युटर, ड्राइभिङ, हाते स्वेटर, मखमलको चप्पल, क्रिस्टल गहना, डल तथा कुशन, फर्निचर तथा फिक्चर बनाउने प्रशिक्षण दिइएको छ । यसमा जनजाति, महिला, दलित, अपांगताका साथै गरिब परिवारका सदस्यलाई प्राथामिकतामा राखेर तालिम दिइएको घरेलुले जनाएको छ । यसै कार्यक्रमअन्तर्गत प्रवद्र्धनात्मक कार्यक्रम, अन्तरक्रिया, परामर्शलगायत कार्यक्रम सञ्चालन गरेको उनले बताए ।

गरिबी निवारणका लागि लघुउद्योग विकास कार्यक्रम (मेड्पा) कार्यक्रमअन्तर्गत २ सय ८२ जनालाई तालिम दिइएको घरेलुले जनाएको छ । उक्त तालिमका लागि एकीकृत समाज विकास नेपालले जिम्मा लिएको थियो । यसमा सिलाइकटाइ, बुटिक, गुडिया, मुढालगायत बनाउने प्रशिक्षणका साथै मेसिनरी औजार प्रदान गरिएको घरेलुका निमित्त प्रमुख दाहालले बताए ।

प्रकाशित : असार २७, २०७५ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?