कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनमोर्चाले जितेको वडामा शून्य बजेट

‘नियतबस नगरिएको तर वडाध्यक्षले सिस्टमबाट बजेट माग्ने समयमा बेवास्ता गरेका कारण त्यस्तो भएको’ 
नारायण शर्मा

नवलपरासी — गैंडाकोट नगरसभाले राष्ट्रिय जनमोर्चाका अध्यक्ष जितेको १६ नम्बर वडामा बजेट विनियोजन गरेको छैन । आफ्नो वडामा कत्ति पनि बजेट विनियोजन नगरेर अलग्याउने प्रयास भएको वडाध्यक्ष गोवर्धन ज्ञवालीले आरोप लगाएका छन् । 

जनमोर्चाले जितेको वडामा शून्य बजेट

असार १७ मा सम्पन्न नगरसभाले आगामी आर्थिक वर्षका लागि ६२ करोड ३ लाख ८८ हजारको बजेट पास गरेको छ । उक्त वजेटबाट त्यस वडालाई नगरस्तरीय योजनाको कुनै पनि शीर्षकमा बजेट विनियोजन गरिएको छैन ।


आफूले बजेट माग गरेर नपाएपछि गत असार २२ को कार्यपालिकाको २९ औं बैठक बहिस्कार गरेको ज्ञवालीले बताए ।


त्यसअघिको २१ औं बैठकमा पनि उनले बजेट वितरणमा असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेर बाहिरिएका थिए । उक्त वडामा वडाध्यक्षमा जनमोर्चाले जितेको छ भने ४ वटै वडा सदस्यमा नेपाली कांग्रेसका प्रतिनिधि विजयी भएका छन् ।


आइतबार गैंडाकोट नगरपालिकाको १६ नम्बर चोकस्थित सार्वजनिक थलोमा वडाध्यक्ष गोवर्धन ज्ञवालीले पत्रकार सम्मेलन गरेर सानो दल भएकै कारण नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसले आफ्नो वडालाई रकम नदिएको आरोप लगाए ।


उनले सानो दल हुनु गल्ती नभएको बताउँदै त्यसविरुद्ध आममतदातालाई डाकेर वडा भेला गर्ने जानकारी दिए । पटक–पटक नगरस्तरीय योजना पार्न माग गरे पनि बजेट विनियोजन नगरेको उनले दु:खेसो पोखे ।


गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले नगरपालिकामा गठित विषयगत समितिका विभिन्न शीर्षकमा बजेट विनियोजन गरिएको र त्यही च्यानलबाट आउनुपर्नेमा वडाध्यक्षले हेल्चेक्राइँ गरेका कारण त्यस्तो हुन पुगेको जानकारी दिए ।


नगरस्तरीय योजनाअन्तर्गतका शीर्षकबाट दिइनुपर्ने रकम नपरे पनि सशर्त अनुदानलगायतको शीर्षकमा वडा नम्बर १६ मा ५० लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिए ।


नियतबस त्यस्तो नगरिएको र वडाध्यक्षले सिस्टमबाट बजेट माग्ने समयमा बेवास्ता गरेका कारण त्यस्तो हुनसक्ने उनले दाबी गरे । अत्यावश्यक स्थानमा नगरपालिकाको आकस्मिक कोषबाट समेत फेरि रकम पठाउन सकिने व्यवस्थाका आधारमा उक्त वडालाई रकम दिन आगामी कार्यपालिकाको बैठकमा पेस गर्न सकिने उनले बताए ।


१८ वडा रहेको गैंडाकोटमा मेयरसहित ८ वडाध्यक्ष नेपाल कम्युनिस्ट पार्टीले जितेको छ भने उपमेयर सहित ९ वटा वडा नेपाली कांग्रेसले र वडा नम्बर १६ को वडा अध्यक्षमा जनमोर्चाले निर्वाचन जितेको हो ।


पूर्वी नवलपरासीका ८ स्थानीय तहका ९२ वडामध्ये एउटा वडामा मात्र जनमोर्चाले जितेको हो । जनमोर्चालाई तत्कालीन एमाले, माओवादी केन्द्र, राप्रपालगायतका दलले सघाएपछि त्यहाँ ज्ञवाली वडाध्यक्षमा विजयी भएका थिए ।

प्रकाशित : असार ३१, २०७५ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?