कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खस्कँदै नेपाली हाते कागज

प्रकाश बराल

बागलुङ — चार वर्षअघि एक गाउँ एक उत्पादनअन्तर्गत बागलुङलाई नेपाली हाते कागजको जिल्ला घोषणा गरियो । उत्पादन बर्सेनि घट्दा कामदार पलायन र ग्रामीण उद्योग जीर्ण बन्दै गएका छन् ।कच्चा पदार्थको संकलनमा कठिनाइ, कामदार अभाव र बजारीकरणमा समस्या भएको उद्यमीको गुनासो छ ।

खस्कँदै नेपाली हाते कागज

बजारमा हाते कागज बिक्री कम भएपछि व्यवसायी अर्को पेसा रोज्न थालेका छन् । उद्योग वाणिज्य संघले भने यसमै भविष्य भएको भन्दै केही वर्षअघि घोषणा गरेको थियो । व्यवसायीले भने बजारीकरणमा संघले सहयोग नगरेको गुनासो छ ।

यहाँको लेखानी, ताराखोला र तमानमा हाते कागज धेरै उत्पादन हुन्थ्यो । हाते मेसिनबाट उत्पादन हुने कागज बजारमा सजिलै बिक्री हुन छाडेपछि उत्पादनमा समेत कमी भएको हो । ‘हाते कागजमा लेखापढी हुन्थ्यो, त्यसैले हामीले बनाएको कागज बजारमा जान्थ्यो,’ तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भने, ‘आधुनिक प्रविधि अभावमा बजार नपाएर धेरैले हात झिके ।’ बजारमा फोटो कपी गर्न मिल्ने, प्रिन्टमा प्रयोग हुने गुणस्तरको नेपाली कागजको माग भए पनि परम्परागत विधिबाट सम्भव नभएको ताराखोलाकी मिरा रोकाले बताइन् । ‘हामीले बनाएको कागज फोटोकपीमा सर्दैन, त्यसैले विकल्प खोज्दैछौं,’ रोकाले भनिन्, ‘डायरी बनाएर रंग भरेपछि मात्र सामान बिक्री भएको छ ।’ उपहार दिन मिल्ने गरी रंगीन सामान बनाएर मात्र बिक्री गर्न सकिएको उनले बताइन् । गाउँपालिकाको समेत सहयोग पाएर ताराखोलास्थित जुल्फे लोक्ता प्रशोधित तथा हाते कागज समूहले मात्र हाल व्यावसायिक कागज उत्पादन गरेको छ । कार्यालय प्रयोजनका लागि भने बिक्री नभएको उनले गुनासो गरिन् ।

दाताको सहयोगमा काठेखोला ८ मा स्थापित लेखानी हाते कागज उद्योग अहिले जीर्ण छ । उद्योगमै रोगजारी गरेर जीवन गुजारेका चारजना कामदार हाल अन्यत्रै काम खोज्न हिँडेका छन् । नजिकको जंगलमा लोक्ता नपाएर टाढा खोज्न जानुपरेको, सामुदायिक वनले कर लगाउने र सहयोगी संस्थाले संरक्षणमा चासो नदिँदा उद्योग बन्द भएको लेखानीका दिलबहादुर दर्जीले बताए । कच्चा पदार्थको अभावमा मौसमी रूपमा मात्र उत्पादन गर्न सकिएको उद्योगका म्यानेजर खड्गसिंह घर्तीमगरले बताए ।

घरेलु तथा साना उद्योग विकास समितिको रणनीतिक योजना र उद्योग वाणिज्य संघको एक गाउँ एक उत्पादनमा सूचीकृत भएको उद्योग बन्द हुँदा कच्चा पदार्थको खोजी, उद्योग सञ्चालनलगायतमा चासो राख्ने कोही नभएको घर्तीले गुनासो गरे । प्रचार गरेझैं उत्पादन र बजारको व्यवस्थापन गर्न नसकेको उनले बताए । मौसमी रूपमा बनाएका सामान उनीहरूले मेला र महोत्सवमा पठाउँछन् । अरू बेला बेरोजगार बसेको उनले टिप्पणी गरे ।

ताराखोला गाउँपालिकाले घरघरमा उद्यमी बनाउने योजना अगाडि सारेको छ । योजनामा कागजलाई पनि प्राथमिकता दिएको अध्यक्ष प्रकाश घर्तीले बताए । ‘कच्चा पदार्थको दिगो व्यवस्थापन गर्ने र निरन्तर चलाउने काममा सहयोग गर्ने नीति छ,’ घर्तीले भने, ‘हातमा पैसा आउने अवस्था बनाएर उद्यमी टिकाउने हो ।’ गाउँका अन्य उत्पादनलाई पनि बजारको खोजी गर्न पहल गरेको उनले बताए । संघका अध्यक्ष जयराम भारीले कागजबाटै जिल्ला चिनाउने प्रयास भएको बताए । ‘हामीले उनीहरूको सामान खरिद गरिदिएर सहयोग गर्छौं,’ भारीले भने ।

परम्परागत गुणस्तरको उत्पादन गरे पनि बजारको कागजमा प्रतिस्पर्धा गर्न नसक्दा बिक्री नभएको उद्यमी बताउँछन् । ‘प्रतिकेजी ५० रुपैयाँमा पाइने लोक्तालाइ १ सय पर्ने र नपाइने समस्या छ,’ रोकाले भनिन्, ‘बजारको सामानमा प्रतिस्पर्धा गर्न सकिँदैन ।’ रंगीन कागज बनाउँदा लाग्ने खर्चबाट नाफा निकाल्दा बिक्री गर्न कठिन भएको उनले गुनासो गरिन् । लेखानीका व्यवसायीले खर र अन्य झारबाट पनि कागज बनाउने प्रविधि विकास गर्नुपर्ने माग गरेका छन् । ‘लोक्ता नपाएको मौसममा उद्योग नचलेपछि कामदारसमेत पलायन भए,’ वडाध्यक्ष चित्रकला छन्त्यालले भनिन्, ‘कच्चा पदार्थमा प्रयोग गर्न सकिने सबै वस्तुको परीक्षण गरेर उत्पादन थाल्नुपर्छ ।’ त्यसका लागि प्राविधिक सहयोगको खोजी गरेको उनले बताइन् ।

प्रकाशित : असार ३२, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?