कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किसानको उत्पादन बढ्यो

सिँचाइ आयोजनाले ल्याएको परिवर्तन

तिलाहार (पर्वत) — मोदी ६ तिलाहारका लक्ष्यबहादुर केसीको घरमा ३ वर्षअघिसम्म बजारबाट तरकारी किनेर ल्याउनुपथ्यो । पेसाले पूर्वसुरक्षाकर्मी केसीले घरमुन्तिरको रतिखोलाबाट नहर गाउँमा आएपछि जिल्ला कृषि विकास कार्यालयमा तरकारी उत्पादनबारे तालिम सिके ।

किसानको उत्पादन बढ्यो

अहिले उनको बारीमा लटरम्म तरकारी फलेको छ । ३ वर्षअघि बजारको तरकारी किनेर खाने उनको परिवारले अहिले दैनिकजसो बजारमा तरकारी पुर्‍याउँछ ।

तिलाहारबाट कुश्मा, पातीचौर, पोखरालगायत बजारमा अहिले तरकारी बिक्री गर्ने लक्ष्यबहादुर एक्ला होइनन् । यहाँका करिब सय परिवारले टनेलमा विभिन्न मौसमी तथा बेमौसमी तरकारी फलाएका छन् । विश्व बैंकको सहयोगमा २ करोड ६ लाखमा रतिखोला सिँचाइ आयोजना निर्माण भएपछि यहाँका करिब ४ सय परिवारको जीवनस्तरमा आमूल परिवर्तन आएको छ । विगतमा बजारबाट तरकारी किनेर खाने आजभोलि भने प्रत्येक दिन डोकोमा तरकारी बजार पुर्‍याउँछन् । करिब १ सय २० हेक्टरमा धानलगायत ३ खेती लगाउन थालेका छन् । यतिबेला तिलाहारका प्रत्येक परिवारले नहरबाट ल्याएको पानीले धमाधम रोपाइ भइरहेको छ । ‘यहाँ सिँचाइ नआउँदासम्म दसैंमा भात खानु ठूलो कुरा थियो,’ स्थानीय मीना क्षत्रीले भनिन्, ‘अहिले घरघरै भकारीभरि धान छन् । कसैको खेत बाँझो छैन । टनेलभरि तरकारी खेती छ ।’

करिब ४ किमि दूरीको मुख्य लाइनको रतिखोलाबाट पानी ल्याएर सिँचाइ गर्न थालेपछि यहाँ सय परिवारले कोदो रोप्ने बारीमा धान, गहुँ, मकै मात्रै नभएर बेमौसमी तरकारी फलाएर राम्रो आम्दानी गरिरहेका हुन् । ‘यो कुलामा करिब २ दशक संघर्ष गरियो,’ निर्माण समिति अध्यक्षसमेत रहेका केसीले भने, ‘अहिले सरासर पानी आउँदा गाउँ स्वर्गजस्तै भएको छ । यहाँको टारमा धान रोप्ने सपना पनि देखेका थिएनौं ।’ उपभोक्ता तेजबहादुर नेपालीले धेरै परिवारको जीवनस्तरमा परिवर्तन आएको बताए ।

सिँचाइ विकास सबडिभिजन कार्यालयबाट अघिल्लो र यो वर्ष निर्माण भएका तथा पुराना आयोजना मर्मत गरी सिँचाइ हुने खेतबारीमा ढुक्कले रोपाइँ गरेका किसान हिउँद–बर्खा तीन खेती गर्न थालेका हुन् । कतिपय किसानले सिँचाइको सुविधासँगै तरकारी तथा नगदेबालीबाट राम्रो आम्दानी गरिरहेका छन् । ‘पहिले घरमा खाने तरकारी बजारबाटै ल्याइन्थ्यो,’ मल्लाजका मोहन क्षत्रीले भने, ‘कुलो आएपछि घरघरै तरकारी फलेको छ । यहाँबाट तरकारी बेनी पुर्‍याएर राम्रो आम्दानी गरेका छन् ।’ मल्लाज सिँचाइ आयोजनाको पानी गाउँमा आएपछि वरपरको सुक्खा टार हराभरा भएको हो ।

सिँचाइ कार्यालयमार्फत निर्माणाधीन विभिन्न आयोजनाबाट करिब १३ सय हेक्टर सिञ्चित हुने चरणमा छ । चालु वर्ष सञ्चालित योजनाको करिब ९० प्रतिशत प्रगति भएको सबडिभिजन प्रमुख वंशिहरि कोइरालाले बताए । ‘सीमित जनशक्तिलाई भरपुर उपयोग गरेका छौं,’ उनले भने, ‘धेरैजसो आयोजनाको प्रगति सकिएको छ ।’
कार्यालयले चालु वर्ष सञ्चालित सबै आयोजना अन्तिम चरणमा पुगेको जनाएको छ । कार्यालयका सूचना अधिकारी विष्णुबहादुर लोले अघिल्लो र चालु वर्ष सञ्चालित आयोजनाहरूबाट करिब ५ हजार परिवारको १४ सय हेक्टरमा सिँचाइ हुन्छ । साना सिँचाइ आयोजनाबाट करिब १५ सय घरपरिवार लाभान्वित भएको उनले जानकारी दिए । जिल्लामा २८ हजार ५ सय ९३ हेक्टर खेतीयोज्य जमिन भएकामा परम्परागत सिँचाइ आयोजनाबाट सिञ्चित हुने जमिन ९ हजार ९ सय ४० हेक्टर छ । बाह्रैमहिना सिंचित हुने ७ हजार २ सय ९० हेक्टर भएको सिँचाइ कार्यालयको तथ्यांक छ । कार्यालयमार्फत सञ्चालित आयोजनाको काम सम्पन्न भएपछि बाह्रैमहिना सिँचाइ हुने जमिनको क्षेत्रफल करिब २ हजार बढेको छ ।

प्रकाशित : श्रावण १, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?