कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दरबारप्रति विद्यार्थीको चासो

गोरखा संग्रहालय

गोरखा — क्याम्पसहरूमा इतिहास विषय लिएर पढ्नेको संख्या निरन्तर ओह्रालो लागेको छ । तर, गोरखा राज्य स्थापनाको इतिहास बुझ्न गोरखा संग्रहालय आउने अवलोकनकर्ता भने वर्षैपिच्छे बढेका छन् । आर्थिक वर्ष ०६५/६६ देखि गोरखा संग्रहालय सर्वसाधारणका लागि खुला गरिएको थियो ।

दरबारप्रति विद्यार्थीको चासो

१० वर्षमा ५ लाख ६३ हजार ६ सय ३ जनाले अवलोकन गरिसकेका छन् । अवलोकन खुला गरिएको सुरुको वर्ष आउनेहरू ४२ हजार ६ सय ५८ जना थिए । आव ०७३/७४ मा ७२ हजार ४ सय ६८ र ०७४/७५ मा ७७ हजार ७ सय ५३ जनाले अवलोकन गरेका छन् ।

संग्रहालयका प्रमुख नवराज अधिकारी भन्छन्, ‘भूकम्प गएको वर्ष केही घटेको हो । नत्र वर्षैपिच्छे अवलोकनकर्ता बढेका छन् ।’ दुई वर्षको मात्रै तथ्यांक हेर्दा अघिल्ला वर्षभन्दा ५ हजारले पर्यटक बढेको उनले बताए । गत वर्ष अवलोकन गर्न आउनेमा ३३ हजार ३ सय ३३ विद्यार्थी, ३९ हजार ८ सय ९३ विभिन्न उमेर समूहका आन्तरिक पर्यटक, ७६ जना सार्क राष्ट्र र १ हजार ५ सय ५१ विदेशी पर्यटक छन् ।

अवलोकनकर्ताबाट संग्रहालयले गत वर्ष १६ लाख ३२ हजार ५ सय ४५ रुपैयाँ राजस्व संकलन गरेको छ । प्रवेश शुल्कमा प्रतिविद्यार्थी १०, नेपालीलाई २५, सार्क राष्ट्रका पर्यटकलाई ५० र सार्क राष्ट्रबाहेकका विदेशीलाई सय रुपैयाँ संग्राहालयले लिने गरेको छ । ‘गत आवभन्दा १२ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भयौं,’ उनले भने । संग्रहालय आउने धेरैजसो पर्यटक अध्ययन, अनुसन्धान, शिक्षा र मनोरञ्जनका लागि आइपुगेको पाइएको छ । ‘यहाँ हेरेपछि गोरखा राज्य स्थापनाको इतिहास राम्रैसँग जानकारी पाइन्छ,’ उनले भने, ‘कात्तिक र मंसिरमा शैक्षिक भ्रमणमा आउने विद्यार्थीको भीड लाग्छ ।’

संग्रहालयका १२ वटा कक्षमा ऐतिहासिक तथा जानकारीमूलक सामग्री राखिएका छन् । नेपाल एकीकरणताका प्रयोग भएका हातहतियार, भाँडावर्तन, जातजातिको वेशभूषा अनुसारका डमी, तैलचित्र, पुष्पिका वाक्य, धार्मिक कक्ष र बाजागाजा कक्ष छन् । द्रव्य शाहदेखि पृथ्वीनारायणसम्मका शाहवंशीय राजाहरूको जन्मकुण्डली कक्ष पनि यहाँ छ । संग्रहालय विसं १८९६ मा तत्कालीन राजा राजेन्द्रविक्रम शाहले छोरा सुरेन्द्र शाहलाई राख्न बनाउन लगाएको दरबार भएको इतिहासमा उल्लेख छ । सुरेन्द्र भने उक्त दरबारमा बसेनन् । संग्रहालय परम्परागत चौघेरा शैलीको छ । पार्कसहित ६८ रोपनीको परिसरमध्ये ४ रोपनी क्षेत्र संग्रहालयले ओगटेको छ ।

‘३/४ सय वर्षअघिको मल्लकालीन शैली पछयाएर बनाइएको वास्तुकलामा आधारित सबैभन्दा कान्छो नमुना यो संग्रहालय हो,’ उनले भने, ‘त्यसपछि राणाशासकले बनाएका दरबारहरू युरोपेली शैलीका छन् ।’ राजाकालमा बडाहाकिमहरूको अड्डाका रूपमा प्रयोग भएको संग्रहालयको भवनमा २०३६ सालसम्म जिल्लाका प्रशासनिक अड्डाहरू थिए । २०४२ सालमा गोरखा दरबार संरक्षण परियोजना सुरु भएपछि २०५८ मा पृथ्वी स्मृति संग्रहालयको स्थापना गर्ने योजना बनाइएको थियो । ०६२/६३ को जनआन्दोलनपछि केही राजनीतिक दलले पृथ्वीनारायण शाहको नाममा असन्तुष्टि जनाएपछि गोरखा संग्राहालय नामकरण गरिएको थियो ।

प्रकाशित : श्रावण ८, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?