कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

‘जस्ताको छानामुनि स्वर्ग पाएजस्तो’

प्रकाश बराल

बागलुङ — खरको छानो वर्षामा चुहिन्थ्यो । खोलामा माछा मार्ने र ज्यालादारी काम गरेर जीवन निर्वाह गर्दै आएका बडिगाड २ का हिराबहादुर राना कुमालका परिवार पानी परेका रात राम्ररी निदाउन पाउन्नथे ।

‘जस्ताको छानामुनि स्वर्ग पाएजस्तो’

झुप्रोभित्र एकै ठाउँमा पकाउने, खाने र सुत्ने भएकाले सास्ती खेप्दै आएका रानाको भूकम्प प्रतिरोधी घर बनेको छ । एक वर्षदेखि संचालनमा आएको जनता आवास कार्यक्रमले राना जस्तै यहाँका लोपोन्मुख कुमाल समुदायको १५ घर निर्माण थालिएको हो । केही घर निर्माण सम्पन्न भएका छन् भने केही निर्माणाधीन छन् । नयाँ घर पाएपछि कुमाल बस्तीमा खुसियाली छाएको छ ।

हरेक घरमा कुमालका कम्तीमा ६ देखि १० सदस्यको परिवार छन् । बालुवा बोक्ने र माछा मार्ने काम गरेका कुमाललाई आफ्नै पक्की घर बनेपछि वर्षामा धेरै राहत मिलेको छ । ‘खाना पकाउने अन्न र दाउरासमेत जोगाउन सकिएको थिएन,’ रानाले भने, ‘अहिले ठूलो घरमा बस्न पाइयो । जस्ताको छानोमुनि स्वर्ग पाएजस्तो भएको छ ।’ उनीहरूले घरकै छेउमा शौचालयसमेत बनाएर सरसफाइ अभियानसमेत चलाएका छन् ।

सहरी विकास तथा भवन डिभिजन विभागले जिल्लाका लोपोन्मुख, दलित र अल्पसंख्यकमध्ये १ सय १७ परिवारका लागि भूकम्पप्रतिरोधी घर निर्माणको काम गरिदिएको छ । केही घर निर्माण सम्पन्न हुने क्रममा छन् । जनता आवास कार्यक्रममार्फत डिभिजनले आफ्नै प्राविधिक खटाएर भवन निर्माण गरिदिएको हो । कार्यक्रमले दिने घरमा बस्नेले पनि श्रमदान गर्नुपर्छ । निर्माणका लागि डिभिजनले यसका प्रतिपरिवार २ लाख रुपैयाँ र प्राविधिक सहयोग गरेको हो भने उपभोक्ताले श्रमदान गरेका छन् । उनीहरूले ज्यालादारी गरेको केही रकम र नियमित श्रम खर्चेर घर पूरा गरेका हुन् ।

घर बनेपछि खरबाङकी रेवती कुमाल धेरै खुसी छन् । कमाइ गर्ने श्रीमान्को १० वर्षअघि निधन भएको थियो । त्यसयता छोराछोरी हुर्काउन संघर्ष गर्दै आएकी उनलाई बिहान–बेलुकीको छाक टार्न निकै गाह्रो छ । ‘पेटको आगो निभाउँदै ठिक्क थियो, चुहिएको छानो कहाँबाट छाउन सक्नु,’ उनले भनिन्, ‘अहिले पक्की घर, जस्ताको छानो सपनाजस्तो लागिरहेको छ ।’ मुन्टो लुकाउने थलो दरिलो भएपछि गरिखाने आत्मविश्वास नै बेग्लै भएको उनले बताइन् ।

जिल्लाभरका विपन्न र लोपोन्मुखमध्ये बडिगाडको २ नम्बर वडामा मात्र १५ घर कुमाल आवास कार्यक्रमको छनोटमा परेका थिए । ‘यहाँ अझै घर बनाउन नसक्नेहरू धेरै छन्,’ डिभिजन प्रमुख प्रकाश अर्यालले भने, ‘पहिलो चरणमा १५ जना छनोटमा परेका हुन्, अर्को वर्षको कार्यक्रममा बाँकी समावेश हुन्छन् ।’ आवास निर्माण भएका परिवारलाई घर हस्तान्तरण गरिएको छ । परम्परागत पेसा माछा मार्ने भए पनि आजकल पुरानो पेसाले पालिन छाडेपछि कुमालको आर्थिक अवस्था निकै कमजोर छ ।

कुमालका बालबालिका होटल, रेस्टुरेन्ट र अर्काको घरमा बसेर काम गर्न बाध्य छन् । उनीहरूका लागि विद्यालय जाने प्राथमिकतामा पर्दैन । उनीहरूका लागि स्थानीय तह र विद्यालयले छात्रवृत्तिको कार्यक्रम राखिदिएकाले पढ्न जाने क्रम सुरु भएको छ ।

प्रकाशित : श्रावण १३, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?