हिंसापीडित होटलमा

प्रकाश बराल

बागलुङ — सुस्त मनस्थितिकी १४ वर्षीया एक किशोरी बलात्कारपछि गर्भवती भइन् । ७ महिनाको गर्भ लिएर उनी न्याय खोज्दै सदरमुकाम आइन् । बलात्कारका आरोपी युवक भने प्रहरीको फरार सूचीमा छन् ।

हिंसापीडित होटलमा

किशोरीलाई महिला तथा बालबालिका कार्यालयले सञ्चालन गरेको अल्पकालीन महिला सेवा केन्द्रले आश्रय दिएर कानुनी उपचारको खोजी गर्दै थियो । तर, असार मसान्तदेखि कार्यालय र केन्द्र दुवै खारेजीमा परे । उनको स्वास्थ्य र कानुनी उपचार अन्योलमा छ ।

कार्यालय खारेजीमा परेपछि पीडित किशोरीलाई कहिले प्रहरी र कहिले बागलुङ नगरपालिकाको जिम्मामा लगाउन खोज्दा अहिले होटलमा पुगेकी छन् । उनका लागि खर्च र उपचारको व्यवस्थापन कसले गर्ने भन्ने यकिन भएको छैन । ‘कार्यालय खारेजीको पत्र आएपछि यौन हिंसामा परेका उनीजस्तै तीन जनालाई नगरपालिका र प्रहरीको जिम्मामा बुझायौं,’ केन्द्रकी कार्यक्रम अधिकृत शर्मिला थापाले भनिन्, ‘पीडित बालिका र अन्य महिलाले उपचार र न्याय पाउनुपर्‍यो ।’ विषयगत कार्यालय स्थानीय तहमा गाभिने भनिए पनि अल्पकालीन महिला सेवा केन्द्रबारे सबै मौन छन् । कार्यालयका कर्मचारीले साउन १ देखि जिल्ला समन्वय समितिमा गएर हाजिरी गरेका छन् । करारमा रहेका केन्द्रका कर्मचारी भने घर फर्केका छन् ।

बलात्कारमा परेकी अर्की बालिकालाई पनि होटलमै ल्याएर राखिएको छ । बलात्कार आरोपी अर्जुन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई गोप्य स्थानमा राखेर उपचार गराउनुपर्नेमा सार्वजनिक गरिँदा पीडितको गोपनीयता भंग भएको अधिकारकर्मीले आरोप लगाएका छन् । ‘संवेदनशील क्षेत्रलाई समयमै अपनत्व लिएर मात्र खारेज गर्नुपथ्र्यो । पीडितको बिचल्ली भयो,’ थापाले भनिन्, ‘हामी कर्मचारी मात्र थिएनौं, गोप्यता कायम गराएर उपचार र कानुनी लडाइँ पनि गराइरहेका थियौं ।’ अहिले हिंसापीडितलाई सार्वजनिक गर्न खोज्दा अधिकार हनन भएको उनले बताइन् । पीडितलाई संरक्षण गर्दै आएको केन्द्र बन्द हुँदा पीडितहरूमाझ पनि अन्योल छ । न्यायिक समितिलाई सक्रिय गराउँदै स्थानीय तहले जिम्मा लिने भनिए पनि व्यवस्थापन सुरु भएको छैन ।

प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले पीडितलाई होटलमा राखिनु अन्याय भएको बताए । ‘उनीहरूको गोपनीयता कायम राखिदिन र उपचार गर्न लगाउँछौं,’ उनले भने, ‘संरचना फेरिँदा समस्या भए पनि पीडितलाई समस्या देखाउनुभएन ।’ स्थानीय तहमा केन्द्र सञ्चालन गर्ने संरचना बन्ने क्रममा रहेको नगरप्रमुख जनकराज पौडेलले बताए । ‘केन्द्रको सबै स्वामित्व नगरपालिकाले लिन्छ,’ उनले भने, ‘संरचना र कर्मचारीलगायतको व्यवस्थापनले केही अप्ठ्यारो छ । व्यवस्थित हुन केही समय लाग्छ ।’

प्रकाशित : श्रावण १४, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?