कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरी र चौतारा संरक्षण गरिने

कान्तिपुर संवाददाता

पर्वत — महाशिला गाउँपालिकाले पुराना पोखरी र वरपीपलका चौताराहरूको संरक्षणको योजनालाई यो वर्ष पनि निरन्तरता दिने भएको छ । महाशिला ५ लुंखुले अघिल्लो आवदेखि थालेको चौतारी–पोखरी संरक्षण तथा पुनर्निर्माणलाई गाउँपालिकाभर अभियानकै रूपमा लैजाने तयारी गरेको छ ।

पोखरी र चौतारा संरक्षण गरिने

वडाध्यक्ष जीवनविक्रम उचैठकुरीका अनुसार गत वर्ष लुंखुका ६ पोखरी र चौतारीको मर्मत गरिएको थियो । भकिम्ले ठूलीपोखरी, डाँडाखर्क पोखरी, सिठ्यानी पोखरी, कोटको पोखरी, सम्धिनी पोखरी र भोर्लेडाँडा पोखरीको मर्मत गरिएको हो । पोखरी मर्मतमा स्थानीय सामुदायिक वन, आमा समूह र युवा क्लबलगायतको सक्रियता छ ।

‘गाउँपालिकाको १ लाख २० हजार बजेट थियो । एक/दुई पोखरी मर्मत गर्ने सोचेका थियौं,’ अध्यक्ष ठकुरीले भने, ‘गाउँले आफैंले श्रमदान गरेपछि ६ वटा मर्मत गरियो ।’ सामुदायिक वन उपभोक्ता समूह, आमा समूह र स्थानीय युवा क्लबका सदस्यहरू स्वतस्फुर्त कुटो–कोदालो बोकेर चौतारी–पोखरी संरक्षणमा जुटेका थिए ।

लेकाली जंगल र चरन खर्कहरूमा पुस्तौंअघिका पुराना पोखरी हराउँदै गएपछि संरक्षणका लागि अघिल्लो वर्ष वडा कार्यालयमा कुरा उठाएपछि काम अघि बढेको भकिम्ले ठूलीपोखरी सामुदायिक वन समूहका अध्यक्ष लोकबहादुर नेपालीले बताए । ‘चिसापानी क्षेत्रमा सयौं गाई–भैंसी र हजारौं भेडाबाख्राको चरन थियो । पछि यहाँका धेरै परिवार बसाइँ सरेपछि पोखरी पनि पुरिन थाले,’ उनले भने, ‘पोखरी सुकेपछि पानीका मूल सुक्दारहेछन् । पहिला बाह्रैमास पानी निस्कने मूल अहिले वर्षामा पनि सुकेका छन् ।’

पोखरीको प्राचीन क्षेत्रफललाई साबिककै अवस्थामा पुर्‍याउन महिनादिनसम्म श्रमदान गरेको उनले बताए । उनका अनुसार सामुदायिक वनका सदस्यहरूले पोखरीको माटो निकाल्ने, भत्किएका पर्खाल लगाउने र डिलमा वरपीपलका बिरुवा रोपेका छन् ।

वरपीपल रोप्ने र पोखरी संरक्षण गर्दा प्राकृतिक स्रोतको उचित संरक्षण हुने ठहर गर्दै वडाले आगामी वर्ष १७ लाख बजेट माग गरेको छ । ‘हाम्रो वडामा १९ पोखरी छन् । सबैको तारबारसहित संरक्षण गर्ने योजना छ,’ उनले भने, ‘गाउँपालिका हुँदै प्रदेश सरकारलाई प्रस्ताव पठाएका छौं । बजेट निकासा भए सबै काम हुन्छ ।’

पोखरी र वरपीपलका रूखका कारण पानीका स्रोत बढदै जाने उनले बताए । पोखरी सुक्दै जानथालेपछि प्राकृतिक प्रणालीमा समेत असर परेको छ । ‘पोखरीको हिलो माटोले घरघरमा गुँड बनाउने गौंथली अहिले भेटिँदैनन्,’ उनले भने, ‘पोखरी सुक्दाको असर अरू धेरै छन् ।’

गाउँ–गाउँमा सडक खन्दा पोखरी पुरिँदै गएका छन् । त्यस्तै भल, पहिरो र मानवीय कारणले पनि पुराना पोखरी पुरिँदै गएका छन् । ऐतिहासिक पोखरी पुरेर घर बनाउने होड पनि छ । भएका पोखरी जोगाउने र पुरिएका पोखरी पुननिर्माण गर्न गाउँपालिकालाई सबै वडावासीले संयुक्त माग राखेको भोर्ले भिरालीचौर सामुदायिक वनका सचिव लक्ष्मण मल्लले बताए । आगामी वर्ष पोखरी संरक्षण, चौतारी पुनर्निर्माण र स्थानीय जनसहभागितामा चौतारी, पोखरी निर्माणका लागि महाअभियानको कार्यक्रम सुरु गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष राजु पौडेलले बताए ।

‘पुराना पोखरीसँग धार्मिक सम्बन्ध पनि जोडिएको छ,’ उनले भने, ‘पोखरी पुरिँदा पानीका मुहान सुक्दै गएका छन् । लुङ्खुले प्रस्ताव ल्याएको छ । त्यसलाई प्राथमिकतामा राखेर काम गर्छौं ।’ जलवायुलाई सन्तुलनमा राख्न र पानीका स्रोत कायम राख्न पोखरी संरक्षण महाअभियान सुरु गरिने उनले बताए । पुराना पोखरी र पानीका मूल संरक्षण गर्दा धार्मिक कर्म, गाईवस्तुलाई खुवाउन तथा सिँचाइ गर्न पनि सहज हुने अपेक्षा स्थानीयको छ ।

प्रकाशित : श्रावण १५, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?