कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जलविद्युत् आयोजनामा स्थानीयलाई रोजगारी

प्रताप रानामगर

दमौली — वैदेशिक रोजगारीका लागि कतार पुगेका रिसिङ गाउँपालिका १ झापुटारका सागर थापा आफ्नो जागिर छाडेर गाउँ फर्किएका छन् । उनले अहिले निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पूर्वतयारी संरचनाको काममा व्यस्त छन् ।

जलविद्युत् आयोजनामा स्थानीयलाई रोजगारी

जलाशययुक्त रहने १ सय ४० मेगावाटको उक्त आयोजनाले थापासँगै ३० स्थानीयलाई रोजगारीको अवसर दिएको छ । आयोजनाको मुख्य संरचनाको काम सुरु हुन अझै केही वर्ष लाग्नेछ । यो अवधिमा पहुँचमार्ग र आवासगृहको काम भइरहेको छ । ‘पहुँचमार्ग निर्माणदेखि काम थालेका हौं,’ थापाले भने, ‘सडकको काम सकियो, अब आवासगृह निर्माणमा व्यस्त भएका छौं ।’ विदेशी भूमिमा काम गर्नुभन्दा घरआँगनमा काम गर्न पाउँदा खुसी लागेको उनले बताए । आयोजनाले स्थानीयलाई रोजगारी दिँदा धेरैले विदेश जाने मनस्थिति फेरेको उनको भनाइ छ ।

आयोजनाको मुख्य काम सुरु भएपछि पनि काम गर्न पाउने आसमा स्थानीय छन् । अहिले स्थानीय मात्रै होइन आयोजनामा रामेछाप, हेटौंडा र सप्तरीबाट आएका युवा कामदार पनि छन् ।

आयोजनाका सहयोगी संरचना निर्माणका काम सुरु भएको २ वर्ष भएको छ । प्रतिव्यक्ति कम्तीमा वार्षिक १ लाख ५० हजार रुपैयाँ कमाउने गरेको मिस्त्री लीलाप्रसाद गौतमले बताए । ‘लेबर काम गर्ने सय र मिस्त्री हामी ८० जनाजति छौं,’ उनले भने, ‘कोही पनि खाली बस्नुपरेको छैन ।’ केही युवा विदेशबाट फर्केर आएपछि यतै काममा लागेको उनले बताए । क्षमता र शैक्षिक योग्यताका आधारमा कर्मचारीका रूपमा पनि रोजगारी पाउनेहरू छन् । कर्मचारीका रूपमा कार्यरत स्थानीय युवाको संख्या २५ छ ।

मुख्य काम सुरु हुनासाथ करिब १५ सय जनशक्ति आवश्यक पर्ने आयोजनाका साइट इन्चार्ज विदुर अधिकारीले बताए । ‘यसले धेरैलाई रोजगारी दिनेछ,’ उनले भने, ‘योग्यता, क्षमता र सीपका आधारमा रोजगारी पाउने स्थानीय युवाले नै हो ।’ जलविद्युत् आयोजनाले मुख्य संरचना निर्माणका लागि ठेकेदार छनोट गरिसकेको छ । आयोजनाको पहिलो र दोस्रो प्याकेज निर्माण गर्न ठेकेदार छनोट गरिएको हो । बाँधस्थललाई प्याकेज १ र पावर हाउसलाई प्याकेज २ को नाम दिइएको छ ।


पहिलो प्याकेजमा इटलीको सीएमसी दी राभेना सोसाइट को–अपरेटिभ र दोस्रोमा चीनको सिनो हाइड्रो कर्पोरेसनलाई ठेक्का परेको छ । दुवै ठेकेदारले ५ वर्ष २ महिना भित्र दुवै काम पूरा गर्नुपर्छ । प्याकेज १ का लागि २० अर्ब ६४ करोड ५२ लाख र प्याकेज २ निर्माणका लागि ३ अर्ब ८३ करोड १४ लाख रुपैयाँ लागत रहनेछ ।

प्रकाशित : श्रावण १५, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?