कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शैक्षिक गुणस्तरका लागि अक्षय कोष

कोषबाट बालबालिकालाई पोशाक, छात्रबृत्ति र शैक्षिक सामाग्री दिने
कान्तिपुर संवाददाता

बागलुङ — बालबालिकाको पढाइमा गुणस्तर बढाउने अभियानका लागि स्थापित अक्षयकोषमा ६० लाख रुपैयाँ पुगेको छ । काठेखोला ८ को लेखानी माविका प्रधानाध्यपक खिमानन्द कंडेलका अनुसार कोषबाट बालबालिकालाई पोशाक, छात्रबृत्ति र शैक्षिक सामाग्री दिने गरिएको छ ।

शैक्षिक गुणस्तरका लागि अक्षय कोष

कोषमा विद्यालयका पूर्व शिक्षक लालप्रसाद प्रधानले सबैभन्दा धेरै ७ लाख रुपैयाँ सहयोग गरेपछि उक्त रकमलाई कोषमा जम्मा गरिएको थियो । उनको सहयोग देखेर अन्य अभिभावकले पनि धमाधम सहयोग गरेपछि कोष बढेको अध्यक्ष सूर्यप्रसाद कंडेलले बताए । ‘कोषबाट हामीले गुणस्तरीय शिक्षाका लागि पहल गर्न सकेका छौं,’ उनले भने, ‘पूर्वाधारबाहेक शैक्षिक विकासका लागि मात्र हामीले कोषको व्याज खर्चने गरेका छौं ।’ प्रधानका दम्पतीले बाबु दलबहादुर र आमा धनकुमारीको स्मृतिमा कोष बनाइदिएका थिए । विद्यालयको विद्युतीय पुस्तकालय निर्माणमा पनि उनले सहयोग गरेका हुन् । कोषमा ५ लाख २८ हजार रुपैयाँ र बाँकी रकम पुस्तकालयमा सहयोग गरेका थिए ।

यो अभियानकै क्रममा विद्यालयका पूर्व अध्यक्ष मणीभद्र शर्मा कंडेल र श्रीमती इन्द्रकलीले २ लाख ६२ हजार रुपैयाँ सहयोग गरेका हुन् । उनले १ लाख ५० हजार रुपैयाँको लागतमा बराहथान देखि विद्यालयसम्मको मोटरबाटो पनि बनाईदिएका छन्् । शर्मा प्रदेशसभाका सांसद पनि हुन् । विद्यालयले दाताको सहयोग संकलन अभियान थालेपछि करलिम युवा समाज जापानमार्फत ११ लाख रुपैयाँ पठाईदिएका छन् । अक्षय कोषमार्फत दलीत र बिपन्न बालबालिकालाई छात्रबृत्ति दिन कोष स्थापना गरिएको थियो । कोषमा गाउँले र देशै छाडेर गएकाले समेत रकम सहयोग गरेका हुन् ।

विद्यालयले ३० वटा कम्प्युटर तथा ईपार्टीमार्फत विद्यार्थीलाई नविनतम प्रविधिको ज्ञान दिने गरिन्छ । कम्प्युटर शिक्षक छुट्टै नियुक्त गरेर सिकाउँदा बालबालिकाले माथिल्लो तहमा पुगेर प्राविधिक क्षेत्रमा जाने चाहना बनाएको भेटिएको हो ।

विद्यालयले बालबालिकाको क्षमता बिकासका लागि भित्ते पत्रिका प्रकाशन, हरेक साता अतिरिक्त क्रियाकलाप समेत संचालन गर्दै आएको छ । ‘शैक्षिक क्षेत्रमा गुणस्तर दिन नसके बसाइँसराइले गाउँ रित्तो हुन्छ भन्ने हेक्का राखेर अक्षयकोष र शैक्षिक विकासका अभियान चलाएका हौं,’ कंडेलले भने, ‘विद्यार्थी टिकाउन यो अभियान सफल भएको छ ।’ पछिल्लो समय ग्रामीण विद्यालयमा विद्यार्थी घटेर सदरमुकाम तथा बजार केन्द्रीत भएका छन् । यो अभियानमा पूर्वप्रधानाध्यापक विष्णुप्रसाद सुवेदी र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद निउरेले अगुवाई गरेका छन् ।

प्रकाशित : श्रावण २१, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?