कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सस्तो र आकर्षक गहना

प्रकाश बराल

बागलुङ — आठ वर्ष अघिसम्म रोजगारीको खोजीमा हिंडेकी ४६ वर्षीया कमला सुवेदीको यतिबेला मासिक ५० हजार रुपैयाँ कमाइ छ । महँगो खर्चेर सुनको गहना लगाउने महिलालाई सस्तो र आकर्षक गहना लगाउने बनाउन उनको अभियान सफल भएको छ ।

सस्तो र आकर्षक गहना

मोतीजस्तै देखिने क्रिस्टलका गहना बनाएर बिक्री गर्ने उनको मुख्य व्यवसाय हो । यो व्यवसायसँगै उनले धेरै महिलालाई तालिम दिएर व्यावसायिक बनाइसकेकी छन् ।

हेटौंडा पुख्र्यौली घर भएकी सुवेदी हाल बागलुङको हटिया, जैमिनी र सदरमुकामका महिला समूहमा पुगेर तालिम दिंने गरेकी छन् । उनले तालिम दिएपछि धेरै महिलाले काठमाडौंमा व्यवसाय गरिरहेका छन् । उनी पनि सामान उत्पादन गरेर बिक्री गर्छिन् । ‘अझै केही वर्ष तालिममा व्यस्त हुन्छु,’ उनले भनिन्, ‘त्यसपछि आफ्नै काममा फर्कनुपर्ला ।’ बजारमा क्रिस्टलका सामानको माग राम्रो रहेकाले सयौंले उत्पादन गरे पनि फाइदा कमाउन सकिने उनले बताइन् ।

अहिले यस्ता गहना भारत र बंगलादेशबाट आउने गरेको उनले बताइन् । बंंगलादेशमा घुम्न गएको समयमा उनले यसको महत्त्व बुझेर आएकी थिइन् । सुवेदीसँग तालिम लिएका धेरै महिला बागलुङमा तिजलाई लक्षित गरेर यतिबेला धमाधम क्रिस्टलका सामान बनाइरहेका छन् । ‘बिक्री हुने बेला नै हो धेरै बनाउनुपर्ने,’ बागलुङ नगरपालिका–२ की कमला शर्माले भनिन्, ‘हेर्दा मोतीजस्तै देखिने भएकाले क्रिस्टलका सामानको माग बढेको छ ।’ तीज, दसंै, तिहार र अन्य धेरै चाडपर्वमा यस्ता गहनाको माग अझै बढी हुने गरेको छ । कच्चा सामान ल्याएर उनी जस्तै यहाँका २५ महिलाले माला, औंठीलगायतका सामग्री बनाउन थालेका हुन् ।

क्रिस्टलका गहना हात, कान र गलामा लगाउने गरिन्छ । बिभिन्न रंगका हुने भएकाले किशोरीदेखि वृद्ध महिलाले पनि लगाउन रुचाउँछन् । आकर्षक पनि छन् । रातो रंग नलगाउनेले पनि यस्ता गहना लगाउन खोज्छन् । सदरमुकामका दुई दर्जन कस्मेटिक पसलले क्रिस्टलका सामानको अर्डर गरिसकेको शर्माले बताइन् । सुवेदीले क्रिस्टलको डिजाइन पुस्तिका पनि प्रकाशित गरेकी छन् ।

उक्त पुस्तकमा संगृहीत डिजाइनका आधारमा धेरै सामान बनाउन सकिने जैमिनी २ की गीता रेग्मीले बताइन् । क्रिस्टलको सामान बनाएपछि पसलमै राख्न नपर्नेसमेत उनको अनुभव छ । ‘झोलामा राखेर गाउँघरमा बिक्री गर्न पनि सकिन्छ । सजिलै बिक्री पनि हुन्छ,’ उनले भनिन्, ‘गाउँघरका महिलाले यस्ता सामान अझै बढी मन पराउने गरेका छन् ।’ यस्ता सामान बुन्नेले कच्चा सामानको तिरेर दैनिक ९ सय देखि १ हजार ५ सयसम्म कमाउन सक्ने बताए । दुई सयदेखि ५ सय सम्मका माला, डेढ सयदेखि ३ सयसम्मका औंठी र अन्य गहना पनि कम मूल्यमा बिक्री गर्न सकिने उनले सुनाइन् ।

नेपाली समाजमा धेरै महिलाले माला र गहना लगाउँछन् । ‘सुनका गहना महँगो हुनाले आर्थिक रूपमा कमजोर अवस्था भएकालाई गहना लगाउन समस्या छ,’ सुवेदीले भनिन्, ‘सस्तो र आकर्षक गहनामा सबैको ध्यान गएमा समानता ल्याउन पनि सकिन्छ ।’ उनले सुनका गहना लगाएर हैसियत फरक देखाउन खोज्नेलाई समेत परिवर्तन गराएर क्रिस्टलका गहनामा अकर्षित गर्न खोजेको समेत उनले बताइन् ।

प्रकाशित : श्रावण २१, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?