कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तिब्बत सीमा क्षेत्रमा हेलिकप्टर उडानमा कडाइ, प्रशासन प्रतिनिधि अनिवार्य

हरिराम उप्रेती

गोरखा — उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाअन्तरगत पर्ने मनास्लु संरक्षित क्षेत्रमा हेलिकप्टर उडानमा कडाइ गरिएको छ । संरक्षित क्षेत्र र तिब्बतको सीमा क्षेत्र भएकाले उक्त क्षेत्रमा हेलिकप्टर उडानमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी नारायण भट्टराइले बताए ।

तिब्बत सीमा क्षेत्रमा हेलिकप्टर उडानमा कडाइ, प्रशासन प्रतिनिधि अनिवार्य

अब उत्तरी गोरखा जाँदा र फर्कदा हेलिकप्टर दुई पटक अनिवार्य गोरखा सदरमुकाममा ल्याण्ड गरेर सरकारी प्रतिनिधिसँगै लैजाने र छाड्ने गर्नुपर्ने हुन्छ ।


‘गोरखा बजारबाट प्रशासनकाे एक जना प्रतिनिधिसँगै जान्छन्, हेलिकप्टरमा के ल्याए, के लादैँछन् सबै सुक्ष्मढंगले अध्ययन हुन्छ,’ प्रजिअ भट्टराइले भने । तत्काल रेस्क्यू गर्ने अवस्था आए भने अवस्था हेरेर सदरमुकाम ल्याण्ड गर्नुपर्ने उनले बताए । ‘कुनै अवस्थामा बिरामी परेका मान्छे ल्याउनुपर्‍यो भने सम्बन्धित ठाउँको प्रहरीले चेकजाँज गर्न सक्नेछ,’ उनले भने ।


सडक सञ्जालले नछोएको उक्त गाउँपालिका पुग्न पैदल मार्गको बाहेक हेलिकप्टर नै प्रयोग गर्नुपर्ने हुन्छ । यसअघि जिल्ला प्रशासन कार्यालयको सिफारिस बिना गृहमन्त्रालयले हेलिकप्टर उडानको अनुमति दिदै आएको थियो । ‘यसअघि पनि गृह प्रशासनको सिफारिस अनिवार्य चाहिन्थ्यो, जहाँ ल्याण्ड भएको छ त्यँहीका प्रहरीले अनिवार्य चेकजाँज गर्थे,’ प्रजिअ भट्टराइले भने, ‘अहिले हामी यहीँबाट निगरानीकालागि प्रतिनिधि पठाउन थालेका हौँ ।’ सीमा क्षेत्र भएकाले अवैध काम नहोस् भन्ने उद्देश्यले कडाइ गरिएको जनाइएको छ ।


गोरखा सदरमुकामको हरमटारी रंगशालामा ल्याण्ड गरेर हेलिकप्टरले सरकारी प्रतिनिधि लैजाने र छाड्ने गर्न थालेको छ । गृह मन्त्रालयको निर्देशन अनुसार नै कडाइ गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

हेलिकप्टर उडान गर्ने कम्पनीले भने दुई पटक सदरमुकाममा ल्याण्ड गर्दा समय र पैसा अतिरिक्त खर्च हुने गुनासो गरेका छन् । कैलाश हेलिकप्टर सर्भिसेजका अप्रेसन इन्चार्ज हरी कुँइकेलका अनुसार सदरमुकाममा हेलिकप्टर ल्याण्ड गर्दा २० देखि ३० मिनेट अतिरिक्त खर्च लाग्छ । ‘यसले थप ६०–७० हजार बढी खर्च बढ्छ,’ उनले भने । सदरमुकाम ल्याण्ड हुनुभन्दा सम्वन्धित ठाउँमै चेकजाँचमा कडाइ गरे आफुहरुलाई सहज हुने उनीहरु बताउँछन् । उत्तरी गोरखाको सामागाउँ, छेकम्पार, ल्हो, प्रोक, विही, सिर्दिवास, चुम्चेत संरक्षित क्षेत्रमा पर्छन् ।


शुक्रबार उत्तरी गोरखाको चुम्लिङ जान उडेको हेलिकप्टर सरकारी प्रतिनिधि लैजान गोरखा सदरमुकामा ल्याण्ड गर्दै । तस्बिर : हरिराम उप्रेती/कान्तिपुर

प्रकाशित : श्रावण २५, २०७५ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?