कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुप्तेश्वरमा भीड साउनमा मात्रै

दिप्ती सिलवाल

पर्वत — गुप्तेश्वर गुफामा सोमबार बिहानैदेखि भक्तजनको घुइँचो रह्यो । कुश्मा ४ स्थित उक्त गुफामा व्रतालुको भीड लागेको हो । अन्तिम मात्रै नभएर साउनका सबै सोमबार यहाँ श्रद्धालुको भीड लागेको थियो ।

गुप्तेश्वरमा भीड साउनमा मात्रै

साउनका सोमबार भीड हुने गुफामा अरू दिन भने सुनसानजस्तै हुन्छ । गुप्तेश्वरलाई वर्षका सबै दिन साउने सोमबारजस्तै बनाउन सके महत्त्व बढ्ने स्थानीयको भनाइ छ । बेनीकी लक्ष्मीदेवी सुवेदीले कुश्माकै बासिन्दालाई गुप्तेश्वरको महत्त्व नभएको गुनासो गरिन् । ‘हामी गुप्तेश्वर भनेर टाढाबाट आउँछौं,’ उनले भनिन्, ‘नजिकका निकै कम आउने रहेछन् ।’

सुवेदीसहित १२ महिला म्याग्दीको बेनीबाट जिप रिजर्भ गरी गुप्तेश्वर आएका हुन् । पर्वतको पाङकी सीता पौडेलले स्थानीय सरोकारवालाले गुप्तेश्वरको पूर्वाधार विकासमा ध्यान नदिएको गुनासो गरिन् । सोमबार पूजा गर्न आउनेहरूका लागि व्यवस्थित प्रवेश, पूजा गर्न लाइनको व्यवस्था, आसपासमा पार्क तथा विश्रामस्थल, पाहुनाघरलगायतको व्यवस्थापन नभएको गुनासो तीर्थालुको छ ।

सदरमुकाममै भएर पनि कुश्मादेखि करिब ५ सय मिटरको दूरीमा पर्ने यो गुफाको धार्मिक मात्रै नभएर ऐतिहासिक महत्त्व पनि छ । साविक शिवालय ४ भण्डारीटोलका रत्नबहादुर कार्कीले विक्रम संवत् १९९१ मा बाख्रा चराउन जाँदा यो गुफा फेला पारेको स्थानीय बताउँछन् । एउटा बाख्रो गुफाभित्र पसेर ननिस्किएपछि कार्की साथीहरू लिएर गुफाभित्र पसेका थिए ।

गुफा भएको ठाउँमा उतिबेला सिस्नो र असुरोको झाडी थियो । कार्कीसहित स्थानीय दलबहादुर राना र सर्वजित जोशी लगायतको टोलीले फेला पारेको गुफाको ऐतिहासिक महत्त्व प्रचार भएपछि २००७ सालतिरबाट यहाँ शिवको मूर्ति र सामान्य मन्दिर बनाएर पूजाआजा हुँदैआएको स्थानीय अगुवा बालगोपाल श्रेष्ठ बताउँछन् ।

करिब १ किमि लामो गुफाको अन्तिम विन्दु अहिलेसम्म पनि कसैले पत्ता लगाउन सकेको छैन । प्रवेशद्वारबाट करिब सय मिटरभित्र पुगेपछि प्राकृतिक रूपमै निर्माण भएका शिवलिंग, विभिन्न देवीदेवताका मन्दिरलगायत कलात्मक आकृतिहरू देख्न सकिन्छ ।

२०१० को दशकमा यसको चर्चा राष्ट्रियस्तरसम्म पुगेको संरक्षणमा लागेकाहरू स्मरण गर्छन् । ‘महेन्द्र राजाले हजार मुरी माटो दान दिएका थिए,’ गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाकी अध्यक्ष मानकुमारी गिरीले भनिन्, ‘उतिबेला गुठी संस्थानले यहाँका पुजारीलाई मासिक भत्तासमेत पठाउँथ्यो, लोकतन्त्रपछि गुम्यो ।’

गुफा संरक्षण र यसको भौतिक पूर्वाधार विकास गर्न ०४४ मा गठित गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्था अझै सञ्चालनमा छ । पदाधिकारीको २/२ वर्षको कार्यकाल रहनेगरी गठन भएको समितिमा अहिलेसम्म धेरै फेरिए पनि गुफा र आसपासका क्षेत्रमा भौतिक पूर्वाधार निर्माण हुन सकेका छैनन् । शिव आराधना गरिने गुफामा साउनका सोमबार, बाला चतुर्दशी, शिवरात्रिमा भक्तजनको भीड लाग्छ । यो साउनमा मात्रै करिब १५ हजारले दर्शन गरेको समितिको दाबी छ ।

गुफामा ८ वर्षअघि भारतको गुजरातबाट आएका बोलबम गिरीले उतिबेलादेखि नै अखण्ड धुनी बाल्दै आइरहेका छन् । हरेक २वर्षमा आय–व्यय सार्वजनिक गर्ने संस्थाको विधानमा उल्लेख भए पनि सुरुका केही वर्ष आम्दानी सार्वजनिक हुन्थेन । २ वर्षयता भने समितिले आय–व्यय सार्वजनिक गर्दै आएको छ ।

स्थानीय डम्डारे खोलाले बर्सेनि कटान गर्दै गइरहेको गुफामा भौतिक पूर्वाधार विस्तारका लागि गुफा भएको क्षेत्रमा भएको जमिन फराकिलो पार्न मेसिनरी वाल लगाउने, ग्याबिन जाली लगाउने, पुजारी निवास, सत्तल, व्यवस्थित मन्दिरलगायतका पूर्वाधार अत्यावश्यक रहेको समिति सचिव अच्यूत तिवारीले बताए । ‘व्यवस्थापनका लागि गुरुयोजना बनाएका छौं,’ उनले भने, ‘त्यसका लागि तीन करोड रुपैयाँ चाहिन्छ ।’

प्रकाशित : श्रावण २९, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?