कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्दै भूमिगत शालिग्राम संग्रहालय

सुरुङमा पसेर नदी, शालिग्राम र धार्मिक महत्त्वको पढाइ हुने
भूगर्भविद्को सुरुङ खनेर पूर्वाधार निर्माण गर्न सकिने सल्लाह
प्रकाश बराल

बागलुङ — जमिनभित्र झन्डै सय मिटर लामो सुरुङ मार्ग खनेर भूमिगत शालिग्राम संग्रहालय बनाइने भएको छ ।
सुरुङमा पसेर नदी, शालिग्राम र धार्मिक महत्त्वको पढाइ हुनेगरी शालिग्राम संग्रहालय निर्माण थालिएको हो ।

बन्दै भूमिगत शालिग्राम संग्रहालय

बागलुङ नगरपालिका ४ को मुक्तिनाथ वेद विद्याश्रमको परिसरमा निर्माण गरिने सुरुङ मार्गको शुक्रबार शिलान्यास गरिएको छ ।

यो संग्राहलय संसारकै पहिलो र नयाँ प्रयोग हुने दाबीसमेत गरिएको छ । प्रदेशसभाका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले शिलान्यास गरे । २०४२ सालमा निर्माण भएको विद्याश्रममा हाल खुला रूपमा सयौं शालिग्राम संग्रहित छन् । यहाँ ५ हजार केजीदेखि सानो आकारसम्मका शालिग्रामलाई सुरक्षित राखिएको छ । धार्मिक पर्यटक भित्र्याउन नौलो प्रकारको संरचनायुक्त संग्रहालय महत्त्वपूर्ण गन्तव्य हुने विश्वास लिइएको छ ।

झन्डै चार करोड रुपैयाँ लाग्ने यो अभियानमा सुरुङ खन्नका लागि नेपाली सेनाले सहयोग गरेको छ । भूगर्भविद्हरूले यो स्थानमा सुरुङ खनेर पूर्वाधार निर्माण गर्न सकिने सल्लाह दिएपछि काम थालिएको विद्याश्रम एवं रंगवेंकटेश्वर मुक्तिनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ऋषि प्रपन्नाचार्यले बताए ।

मुक्तिनाथ जाने नेपाली र भारतीय पर्यटकलाई भित्र्याउने लक्ष्यले बनाउने भनिएको संग्रहालयमा निर्माण दान र चन्दाकै भरमा गर्ने योजना छ । ‘जोगीको कमाण्डलु लिएर हिँडेपछि जति आउला, त्यसैले बनाउनेछौं,’ प्रपन्नाचार्यले भने, ‘अहिलेसम्म करोडौंका संरचना पनि हामीले चन्दाबाटै बनाएकाले फेरि केही गर्न सकिन्छ भनेर आँटेका हौं ।’

एकदेखि डेढ वर्षमा निर्माण पुरा हुनेगरी थालिएको सुरुङमा भित्रै धार्मिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्वका वृत्तचित्र देखाउँदा प्रकृतिलाई माया गर्ने भावना विकास हुने उनले बताए । ‘हाम्रा प्राकृतिक सम्पदाहरू लोप भएका छन् । वर–पीपल मासिएका छन्, शालिग्रामहरू गिटी, बालुवा भएका छन्,’ उनले भने, ‘अब जोगाउनुपर्छ भनेर यो काम थालिएको हो ।’

यो संग्रहालयबाट सिढीं लगाएर संसारकै अग्लो कलश बनाउने गरी संरचना तयार भएको पञ्चकोट जाने पदमार्ग निर्माणको योजनामा बनाइएको छ । ‘यो योजना पूरा भएपछि बर्सेनि १० लाखसम्म धार्मिक पर्यटक भित्र्याउन सकिन्छ,’ वडाध्यक्ष धु्रवबहादुर केसीले भने, ‘यो अभियानलाई नगरपालिकाले केही सहयोग गर्नेछ ।’ आवश्यकताका आधारमा केन्द्र र प्रदेश सरकारले पनि सहयोग बढाउनुपर्ने उनले बताए । मन्त्री लम्सालले यो अभियानमा प्रदेश सरकारको ध्यानाकर्षण भएको बताए । साथै केन्द्र सरकारमा पनि योजनालाई सघाउन पहल गर्ने आश्वासन उनले दिए ।

संग्रहालयकै नजिक मुक्तिनारायणको भब्य मन्दिर बनाइएको छ । मल्लकालीन शैली र कलात्मक भएको मन्दिर निर्माणमा झन्डै ६ करोड रुपैयाँ खर्च भएको अनुमान छ । यो मन्दिरका लागि पनि स्थानीय बासिन्दा र दाताहरूकै सहयोग जुटेको हो । २४ हजारवटा ढुंगामा श्रीराम लेखेर भवनको संरचना तयार गरिएको छ ।

भवनसँगै भजनकिर्तनका लागि सत्तल निर्माण गरिएको छ । बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सहदेव राजभण्डारीले यहाँ झन्डै एक करोड रुपैयाँ खर्चेर सभाहल तथा गरुड शिलासमेत बनाउन लगाइरहेका छन् । उक्त सभाभवनमा झन्डै पाँच सय मानिस बसेर कार्यक्रम गर्न सकिन्छ । उनले आफ्ना अभिभावकको स्मृतिमा सहयोग गरेको बताए । स्थानीयले समेत दान दिएकै भरमा यहाँ झन्डै सयजना बटुक पढ्ने विद्याश्रम पनि सञ्चालनमा आएको छ । यस विद्याश्रममा माध्यमिक तहको संस्कृत र कर्मकाण्ड पढाइन्छ ।

प्रकाशित : भाद्र २, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?