कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

होटलमा लगानी थपिँदै

प्रकाश बराल

बागलुङ — आन्तरिक पर्यटकको आगमन बढेसँगै यहाँका व्यवसायीहरूले होटलमा लगानी थपिरहेका छन् । आधुनिक शैलीका रेस्टुरेन्ट र सुविधासम्पन्न कोठा थपेर उनीहरूले लगानी बढाएका हुन् ।

होटलमा लगानी थपिँदै

पाहुना रिझाउन आफ्नै सवारीसाधनको सुविधा पनि दिन थालेका छन् । ‘सय जनासम्म मैले राख्न सक्छु । धेरै पाहुना आए भने अरू होटलमा पनि कुरा गरी बासको व्यवस्था मिलाउँछौं,’ होटल संघका अध्यक्ष निलेश राजभण्डारीले भने, ‘आएका पाहुनालाई दोहोर्‍याएर फर्कने अवसर सिर्जना गर्न खोज्दैछौं ।’

लगानीसँगै पाहुना स्वागतको संस्कारलाई होटलहरूले ध्यान दिइरहेको उनको भनाइ छ । राजभण्डारीले सञ्चालन गरेको होटल पिस प्यालेसमा अहिलेसम्म ५ करोड लगानी भइसकेको छ ।

सदरमुकाममा उनको जस्तै रेड एप्पल, दी राजन, समिट, शीतल र हिल भ्यूजस्ता ठूला लगानीका होटलहरू थपिएका छन् । होटल थपिएसँगै पाहुनाको आगमन पनि बढेका छन् । सहकारी, विद्यालय, क्याम्पस, आमा समूह र अन्य विभिन्न क्षेत्रका मानिसले बागलुङलाई घुमघामको गन्तव्य बनाउन थालेपछि परम्परागत तरिकाभन्दा लगानी थपेर व्यवसाय सञ्चालनका लागि व्यवसायीको चासो बढेको हो ।

‘साना–ठूला गरी करिब सयत होटल सदरमुकाममै चलिरहेका छन्,’ राजभण्डारीले भने, ‘परम्परागत तरिकाबाट चलेका केही होटलबाहेक पर्यटक भित्र्याउन सुविधा थप्दै लगेका होटलले झन्डै ३० करोड लगानी गरिसकेका छन् ।’ ४ वर्षअघि एकैपटक ५ करोड लगानीमा रेडएप्पल सञ्चालनमा आएको थियो । ५० जनालाई एट्याच बाथरुमको सुविधासहितका कोठा दिनेगरी होटल सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक वसन्तकुमार श्रेष्ठले बताए । होटल म्यानेजमेन्ट अध्ययन गरेका युवा यो व्यवसायतर्फ आकर्षित छन् ।

दशकअघि करोड लगानी भएको होटल समिटले आधा करोड लगानी थपेर बागलुङकालिका मन्दिर नजिकै रेस्टुरेन्टसमेत खोलेको छ । धार्मिक पाहुनालाई खाने, बस्ने व्यवस्थापन गर्न खुलेको यो होटलले पाहुनालाई बजारमा भित्र्याउन सहयोग गरेको छ । होटलले पर्यटक तान्न कार्यक्रम हल पनि बनाउन थालेका छन् । ‘ठूलो समूहमा आएका पाहुनाले खाने, बस्नेसँगै छलफल र बैठक हल सोध्छन्,’ होटल संघका पूर्वअध्यक्ष अर्जुन चोखालले भने, ‘अब बाससँगै पाहुनाको चाहना बुझ्नुपर्ने भयो ।’ संसारकै अग्लो कलश निर्माणस्थल पञ्चकोट भ्रमण, शालिग्राम संग्रहालय, बागलुङकालिका र स्थानीय होमस्टे गाउँ बन्न थालेपछि पर्यटक बढेका हुन् ।

अधिकांश होटलमा आकर्षक सज्जासहितका रेस्टुरेन्ट, वाइफाइ, इन्टरनेट र सवारीको पार्किङ सेवा विस्तार गरिएका छन् । ‘राष्ट्रिय गौरवका २ राजमार्गले जोड्ने भएकाले पर्यटक भित्र्याउन धेरैले लगानी थपेका छौं,’ चोखालले भने, ‘गुणस्तर र प्याकेजका कार्यक्रम दिन सकियो भने होटल व्यवसायको भविष्य राम्रो हुन्छ ।’ कालिका मन्दिरमा भारतीय धार्मिक पर्यटक बढेको उनले बताए ।

व्यवसायीले ढोरपाटन र मुक्तिनाथ जाने प्रस्थानविन्दु बनाउने पहल पनि थालेका छन् । ‘गेट वे अफ मुक्तिनाथ’ नाम दिएर व्यवसायीले बागलुङबाटै मुक्तिनाथका लागि नियमित जिप र बस छुट्ने व्यवस्था गरेका थिए । वर्षाका कारण त्यो सेवा यतिबेला नियमित हुन सकेको छैन ।

ढोरपाटन र मुक्तिनाथतर्फका सडक कालोपत्रे बनाउन उनीहरूले सांसदहरूको ध्यानाकर्षण पनि गराएका छन् । संघका अनुसार दैनिक १० हजार पर्यटकलाई सदरमुकाममा खान, बस्न स्तरीय सेवा दिन सकिन्छ । बुर्तिबाङ र गलकोटतर्फका होटल जोडदा यो संख्या बढ्ने राजभण्डारीले बताए ।

प्रकाशित : भाद्र ५, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?