कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर संकलन लक्ष्यभन्दा बढी

संकलनमा कडाइ र दायरा फराकिलो पार्दा लक्ष्यभन्दा २२ प्रतिशत बढी कर उठ्यो

बागलुङ — सबै स्थानीय तहसम्म कर शिक्षा सञ्चालन र दायरा फराकिलो बनाउँदा यहाँ लक्ष्यभन्दा २२ प्रतिशत बढी कर संकलन भएको छ । करदाता सेवा कार्यालय बागलुङले आर्थिक वर्ष ०७४/७५ का लागि राखेको लक्ष्य २२ करोड २८ लाख रुपैयाँ थियो ।

कर संकलन लक्ष्यभन्दा बढी

कर अधिकृत सूर्यप्रसाद चापागाईंका अनुसार २७ करोड ४३ लाख रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष ०७३/७४ मा १७ करोड ९१ लाख ५० हजार रुपैयाँ कर संकलन गरेकाले गत वर्ष अंक बढाएर लक्ष्य निर्धारण गरिएको थियो । संकलनमा कडाइ र दायरा फराकिलो पार्दै लगिएकाले यसयपटक सफलता मिलेको उनले दाबी गरे ।


प्रमुख चापागाइँका अनुसार लामो समय नतिरेका करदातालाई दायरामा ल्याउने काम निरन्तर भएकाले दर बढेको हो । दायरा बढाउनका लागि कर संकलनका क्षेत्रहरू खोजी भएको उनले बताए । ‘नतिरेका करदातालाई घरघरमा पत्र पठाउने र फोन गर्ने पनि गरियो,’ उनले भने, ‘गाउँसम्म पुगेर कर शिक्षा कार्यक्रम संचालन गर्दा धेरैले स्वस्फूर्त आएर कर तिरे ।’ कर तिर्ने ठाउँ नचिनेका र कर तिर्नैपर्छ भन्ने जानकारी पहिलोपटक पाएकाहरूको संख्या गत आवमा बढेको उनले बताए ।


कर शिक्षा अभियान थालिएपछि पछिल्लो तीन वर्ष लगातार कर संकलन वृद्धि हुँदै आएको छ । आर्थिक वर्ष ०७२/७३ को तुलनामा ०७३/७४ मा ३५ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष ०७२/७३ मा १३ करोड २५ लाख संकलन भएकोमा ०७३/७४ मा १७ करोड ९१ लाख संकलन भएको थियो । सोही दरले बढाएर २२ करोड पुर्‍याउने लक्ष्यमा २२ प्रतिशत नै बढेर २७ करोड रुपैयाँ पुगेको हो ।


‘पोखरा पुग्नेलाई जिल्लामा र जिल्ला आउनेलाई गाउँ तहसम्म सुविधा दिएपछि यो उपलब्धि बढेको हो,’ प्रमुख चापागाईंले भने, ‘रहरले तिर्ने र कर्मचारीले साथ दिने व्यवस्थापन गरिँदा सफल भइयो ।’ कर कार्यालयले सार्वजनिक बिदाको दिन पनि काम गरेर करदाताको मन जितेको सेवाग्राहीले बताए ।


जिल्लामा हाल करदाताको संख्या करिब १७ हजार पुगेको छ । साना तथा मझौला उद्योग, व्यवसायी, सहकारी संस्था र संस्थागत विद्यालयसमेतले कर तिर्न थालेका छन् । करको दायरा बढाउन वस्तुगत व्यवसायलाई छुट्टाछुट्टै शिक्षा दिने काम भएको कार्यालयले जनाएको छ । औषधि व्यवसायी, फेन्सी र श्रृंगारलगायतका व्यवसायीलाई करबारे प्रशिक्षण गराएको उनले बताए । केही वर्षअघिसम्म यहाँका व्यवसायीले पोखरा पुगेर कर तिर्दै आएका थिए ।


करदाता सेवा कार्यालय खुलेपछि सहजै कर तिर्न पाएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले बताए । ‘पोखरा पुगेर तिर्नुपर्ने, कर्मचारीले झन्झट लगाइदिने जस्ता कारणले धेरैले कारोबार लुकाउने अवस्था थियो,’ उनले भने, ‘अहिले त्यस्तो छैन, कार्यालयले सहज वातावरण बनाएको छ ।’ केही वर्षदेखि संघकै अगुवाइमा करदाता शिक्षा कार्यक्रम र कर तिर्न प्रेरित गर्ने अभियान पनि सञ्चालन भइरहेको छ । गत वर्ष कार्यालयले लेखा अद्यावधिक नगरेका व्यवसायीबाट १ लाख १६ हजार ५ सय रुपैयाँ जरिवाना उठाएको थियो ।


कार्यालय बढुवा
६ वर्षअघि स्थापना भएको बागलुङस्थित करदाता सेवा कार्यालय आन्तरिक राजस्व कार्यालयमा बढुवा भएको छ । सरकारले गण्डकी प्रदेशका बागलुङ र दमौली कार्यालय बढुवा गरेको हो । नवलपुरमा करदाता सेवा कार्यालय पनि थपेको छ । गण्डकी प्रदेशमा बागलुङ, पोखरा र दमौलीमा अब आन्तरिक राजस्व कार्यालय रहनेछन् । आन्तरिक राजस्व बनेपछि यसे कार्यालयले धौलागिरि क्षेत्रका पर्वत, म्याग्दी र मुस्ताङको कारोबार पनि हेर्ने अधिकार पाएको छ ।


प्रकाशित : भाद्र ६, २०७५ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?