कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फरार अभियुक्तको खोजी

जिल्ला अदालतबाट जेल सजाय तोकिएर फरारलाई पक्राउ गर्न प्रहरीको चासो
प्रतीक्षा काफ्ले

स्याङ्जा — विभिन्न अपराधको कसुरमा दोषी ठहर भएर जिल्ला अदालतबाट जेल सजाय तोकिए पनि फरारको सूचीमा रहेकालाई पक्राउ गर्न प्रहरीले चासो दिएको छ ।

फरार अभियुक्तको खोजी

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भए पनि फरार गुल्मीको फोक्सिङ घर भई स्याङ्जाको कालीगण्डकी गाउँपालिका ५ बस्ने ३५ वर्षीय गोविन्द थापालाई प्रहरीले आठ वर्षपछि पक्राउ गरेको छ । नेपाली सेनामा उनलाई कास्कीबाट पक्राउ गरी ल्याइएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । थापा र अर्का एकजनाले ०६६ चैतमा ट्याक्सीचालक सुजन गुरुङको हत्या गरेको अभियोग छ ।


यस्तै हत्याको आरोपमा अदालतले कैद सजाय तोकेका वालिङ ८ का ४३ वर्षीय श्यामधीरज मल्ललाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ । काठमाडौंको नागार्जुन १० स्युचाटारबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला अदालतले उनलाई ०५४ जेठ १३ मा १० वर्ष कैद सजाय तोकेको थियो ।


७२ वर्षीया अशक्त वृद्धालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतबाट अभियुक्त ठहर भए पनि फरार फेदीखोला १ का ४० वर्षीय राज गुरुङलाई पनि प्रहरीले गत महिना पक्राउ गरेको थियो । ०७१ भदौमा उनले कसुर गरेको जिल्ला प्रहरीको अभिलेखमा छ । उनीविरुद्ध अदालतले २ वर्ष १ महिना कैद सजाय फैसला गरेको थियो ।


यस्तै सार्वजानिक अपराध तथा सजाय ऐन बमोजिमका मुद्दामा दोषी ठहर भएका दुई अभियुक्तलाई वडा प्रहरी कार्यालयले पक्राउ गरेको छ । ०७२ मा सार्वजनिक मुद्दा दर्ता भई दोषी ठहर भएका वालिङ १४ का सुनील, दर्गाबहादुर र भूपराज परियारलाई पक्राउ गरिएको हो ।


बहुविवाह मुद्दामा १ वर्ष ६ महिना कैद सजाय तोकिएर फरार रहेका आँधीखोला ६ का चन्द्रप्रकाश ढकाल पनि पक्राउ परेका छन् । जिल्ला अदालतले २०६४ असार ३२ मा उनलाई कैद सजाय तोकेको थियो । २२ वर्षअघि नवलपरासीमा बस चलाउने क्रममा पैदलयात्रीलाई ठक्कर दिई मारेको आरोपमा सवारीज्यान मुद्दामा तीन वर्ष कैद तोकिएका गल्याङ ११ बस्ने डोलराज अधिकारीलाई पक्राउ गरी प्रहरीले कारागार चलान गरेको छ । ०६२ साल माघ ०३ मा जिल्ला अदालत नवलपरासीले उनलाई कैद सजाय तोकेको थियो ।


५ वर्षमा १ सय ९० पक्राउ
जिल्ला प्रहरीका अनुसार आर्थिक वर्ष ०७४/७५ मा १७ जना अभियुक्त पक्राउ परेका छन् । यिनमा १५ पुरुष छन् । फौजदारी मुद्दामा १४ र देवानी मुद्दाका तीनजना पक्राउ परेका हुन् । ०७३/७४ मा ३१ पुरुष र तीन महिला गरी फरारको सूचीका ३४ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये फौजदारी मुद्दाका १६ र देवानी मुद्दाका १८ जना छन् ।


आव ०७२/७३ मा पक्राउ परेका यस्ता ४८ जनामध्ये १२ महिला थिए । देवानी मुद्दाका ३० र फौजदारी मुद्दाका १८ जना थिए । आव ०७१/७२ मा ८१ जना फरार अभियुक्त पक्राउ पर्दा १९ महिला थिए । यिनमा देवानी मुद्दाका ५१ र फौजदारी मुद्दाका ३० जना अभियुक्त थिए ।


०७० देखि ०७४ सम्म फरारको सूचीमा रहेका १ सय ९० जनालाई पक्राउ गरेर सजाय भुक्तानका लागि पठाइएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । यसरी पक्राउ पर्नेहरूमा १ सय ५२ पुरुष र ३८ महिला छन् । फौजदारी मुद्दामा ६ महिलासहित ७४ र देवानी मुद्दामा ३० महिलासहित १ सय ३ जना अभियुक्त पक्राउ परेका छन् ।


कैद भुक्तान र राजस्व संकलन
५ वर्षको अन्तरालमा पक्राउ परेका १ सय ९० जना अभियुक्तबाट जरिबानाको राजस्व संकलन हुनुका साथै कैद पनि भुक्तान भएको प्रहरीले जनाएको छ । १ सय २१ वर्ष ९ महिना २८ दिन कैद भुक्तानी भएको छ भने ६ लाख ९२ हजार १ सय ६६ रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रकाशित : भाद्र ६, २०७५ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?