कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

हावाको बिजुली बन्द

नवलपरासी — धौवादीको हुरहुरे डाँडामा सञ्चालित वायु ऊर्जा प्रविधि मर्मत सम्भारको अभावमा बन्द भएको छ । धेरै हावा चल्ने भएकाले त्यसलाई उपयोग गर्दै ०६८ मा यहाँ नमुना परियोजनका रूपमा वायु ऊर्जा प्रविधि सञ्चालनमा ल्याइएको थियो ।

हावाको बिजुली बन्द

इन्भर्टर र ब्याट्री बिग्रिएपछि उत्पादित बिजुली उत्पादन बन्द भएको हो । एउटा टर्बाइन २ वर्षअघि नै बिग्रिएको थियो । एउटा टर्बाइन मात्रै चलेको उक्त प्रविधि मर्मत अभावमा बन्द भएको स्थानीय शिक्षक गमबहादुर रानामगरले बताए ।


एसियाली विकास बैकंको आर्थिक तथा प्राविधिक सहयोगमा नमुना परियोजनाका रूपमा सुरु गरिएको वायु ऊर्जाले हावाबाट १० किलोवाट र सोलारबाट २ गरी १२ किलोवाट बिजुली निस्किएपछि धौबादी गाउँका ४६ घरधुरीमा वितरण गरिएको थियो । करिब २ करोडको लागतमा सञ्चालनमा आएको परियोजनालाई निरन्तरता दिन दातासमेत नभेटिएको र स्थानीय तहबाट पनि कुनै सहयोग हुन नसकेको शिक्षक मगरले बताए ।


‘एकपटक लगानी गरेपछि फेरि त्यसको मर्मत र सञ्चालन खर्च नछुट्याएकाले हेरिदिने कोही भएनन्,’ उनले भने, ‘परियोजना थालिएपछि त्यसको सञ्चालनका लागि गठित समिति पनि चनाखो नभएकाले काम नलाग्ने भयो ।’


धौवादी हुप्सेकोट गाउँपालिकामा राष्ट्रिय प्रसारणको विद्युत् पुगेको छैन । परियोजना नमुना भए पनि त्यसको मर्मत सम्भार खर्च स्थानीय तहले धान्ने प्रकारको नभएको गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले बताइन् । ‘मर्मतसम्भारका लागि हामी स्रोत खोज्दैछौं,’ उनले भनिन्, ‘उचित मर्मत र स्तरोन्नति गरे पहिलेभन्दा धेरै बिजुली निकाल्न सकिन्छ भन्ने सुन्छु । यसमा संघीय सरकारले पनि चासो दिनुपर्छ ।’ लागत खर्चको इस्टिमेट भएपछि एसियाली विकास बैंकलाई पनि जानकारी गराउने र सरकारलाई पनि पत्र पठाउने उनले बताइन् ।

प्रकाशित : भाद्र ६, २०७५ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?