कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जागिर जाँदा सडकको बास

विद्यालय गाभिँदा सहयोगी खिमबहादुर थापाको जागिर खोसियो

लमजुङ — जागिरे जीवन उनको बेग्लै थियो । दिनभर विद्यालयमा फुर्तीसाथ काम गरिरहेका देखिने बेंसीसहरका ६५ वर्षीय खिमबहादुर थापा हिजोआज सडकमा भेटिन्छन् ।

जागिर जाँदा सडकको बास

थोरै विद्यार्थी भएकाले बेंसीसहर २ जोगीकुलाको शान्ति प्रावि ०७२ साउन १७ मा भकुन्डेको बालकल्याण माविमा गाभियो । सरकारी दरबन्दीका शिक्षक अर्को विद्यालयमै मिसिए । अस्थायीमा कार्यरतले पनि सोर्सफोर्स लगाएर आ–आफ्नो बाटो खोजे । विद्यार्थी कोही बालकल्याणमै गए, कोही बोर्डिङतर्फ लागे ।

विद्यालय सहयोगी थापा भने अप्ठ्यारोमा परे । उनलाई बालकल्याणले लिएन । जागिर गयो । तीन दशकदेखि शान्ति प्राविमा विद्यालय, शिक्षक र विद्यार्थीको सेवा गरेका उनको सहारा खोसियो । उनलाई फेरि काम दिलाउन कसैले सहयोग गरेनन् ।

२०१२ मा स्थापना भएको शान्ति प्रावि तीनजना शिक्षक र १०/१२ जना मात्र विद्यार्थी बाँकी रहेपछि बालकल्याणमा गाभिएको थियो । ‘विद्यालय नै अर्को विद्यालयमा गाभियो । मैले खानेलाउने बाटो पाइनँ,’ थापाले भने, ‘२०४१ फागुन १ बाट मासिक १ सय ५० रुपैयाँ पाउनेगरी उनी विद्यालय सहयोगी नियुक्त भएका थिए । उनलाई तत्कालीन प्रधानाध्यापक देवीप्रसाद बरालले नियुक्ति दिएका थिए ।

विद्यालय मर्ज हुने बेलासम्म हुँदा उनको तलब २ हजार रुपैयाँ पुगेको थियो । कक्षा ५ सम्मको पुरानो पाठ्यक्रम पढेका थापाको तलब र पद सहयोगी भए पनि उनले दैनिक पढाउने गरेका थिए । शिक्षक नभएका बेला र अघिपछि पनि अंग्रेजी, गणितलगायत विषय पढाउने गरेका थिए । शान्ति प्राविका तत्कालीन प्रधानाध्यापक विष्णुबहादुर धितालले थापाको योगदान विद्यालयमा ठूलो रहेको बताए । राज्यको गलत नीतिको सिकार थापाले बन्नुपरेको उनको भनाइ छ ।

‘आमाबाबु सानैमा बितेपछि दिदीबहिनीको भर थियो । उनीहरूको बिहे भयो, घर गए,’ स्थानीय सूर्यबहादुर थापाले भने, ‘अहिले परिवारविहीन खिमबहादुरको घर न बास भएको छ । सडकमै पुग्नुभयो ।’ विद्यालयको सहयोगी भएर काम गरेबापत आउने पारिश्रमिकबाट जीवन धान्दै आएका खिमबहादुरले उमेरमा बिहे गरेनन् । परिवार नभए पनि उनको मन विद्यालयमा रत्तिएको थियो ।

अहिले ज्यानमा तागत छैन । बास बस्ने कटेरो पनि भत्केको एक दशक भइसकेको छ । बाटो खन्ने क्रममा गएको पहिरोले उनको कटेरो भत्केको थियो । ‘बाटो खन्दा कटेरो भत्केपछि उपभोक्ता समितिले पैसा दिन्छु भनेको थियो । एक रुपैयाँ पनि दिएन,’ खिमबहादुरले भने, ‘अहिले पाए खान्छु, नपाए भोकै हुन्छु ।’

प्रकाशित : भाद्र ९, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?