कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोर्खा भर्ती ‘निष्पक्ष’

लेखनाथ — ब्रिटिस गोर्खा पोखरा कार्यालयले घूस खुवाएर बेलायती सेनामा भर्ती हुन सकिने हल्लाको पछि नलाग्न आग्रह गरेको छ । कार्यालयले पत्रकार सम्मेलन गरी गोर्खा भर्ती नि:शुल्क, निष्पक्ष र पारदर्शी भएको जनाएको हो ।

गोर्खा भर्ती ‘निष्पक्ष’

भर्ती देखिनुअघि तालिम दिने केन्द्र र अन्य दलाल मिलेर अफवाह फैलाएको कार्यालयको आरोप छ । कार्यालय प्रमुख एवं डेपुटी रिक्रुट अफिसर मेजर स्यान्डी नाइटिङ्गेलले छनोट प्रक्रियामा पूर्णतया पारदर्शी भएको दाबी गरे ।

उनले बेलायती भर्ती प्रक्रिया संसारकै सबैभन्दा विश्वासिलो भएकाले कुनै शंका नगर्न आग्रह गरे । ‘हाम्रा विभिन्न तहका छनोट प्रक्रिया हुन्छन्,’ उनले भने, ‘छनोट प्रक्रियामा सामेल भएका कर्मचारीलाई पनि अन्तिम अधिकार हुँदैन ।’ बेलायती सेनाका कर्णेलकै प्रत्यक्ष अनुगमनमा छनोट प्रक्रिया हुने भएकाले घूसखोरीको कुनै मौका नभएको उनी बताउँछन् । ‘भर्ती हुन कत्ति पनि पैसा लाग्दैन,’ उनले भने, ‘कुनै पनि प्रकारको घूसखोरी र भ्रष्टाचारको कोसिस कसैबाट भएमा प्रहरीमा खबर गरिन्छ ।’

कार्यालयका उपप्रमुख महेन्द्र फगामी पुनले ब्रिटिस क्याम्पसँग सम्बन्ध नभएका व्यक्तिले परीक्षार्थीका अभिवाकलाई गुमराहमा पारेर रकम असुल्ने गरेको स्वीकार्छन् । ‘क्याम्पकै बदनाम हुने गरी हल्ला चलेपछि हामी प्रहरीकोमा पनि पुग्यौं,’ उनले भने, ‘अफवाहकै आधारमा अनुसन्धान गर्न नमिल्ने रहेछ ।’ पीडितले नै रकम असुल्नेविरुद्ध जाहेरी नदिँदा त्यस्ता व्यक्ति उम्कने गरेको उनले जनाए । क्याम्पका एक कर्मचारीका अनुसार ट्रेनिङ सेन्टर सञ्चालकलाई को भर्ती हुन योग्य छ भन्ने पहिले नै थाहा हुन्छ । पढाइमा तेज र शारीरिक रूपमा तगडा प्रशिक्षार्थीमा उनीहरूको नजर हुन्छ ।

यस्तो छ भर्ती प्रक्रिया
ब्रिटिस क्याम्प पोखरामा हाल छनोट प्रक्रिया चलिरहेको छ । बेलायती सेनाको छनोट पोखरा र धरानबाट हुन्छ । क्याम्पले पत्रकारलाई छनोटस्थलमै लगेर प्रक्रियाबारे जानकारी दिएको छ ।

१ सय ५८ सेन्टिमिटर उचाइ, ५० केजी तौल, ७९ सेन्टिमिटर छाती भएका १८ देखि २१ वर्षका युवाले भर्तीमा भाग लिन पाउँछन् । जेठतिर गल्ला सेलेक्सन हुन्छ । आठपल्ट हेभिङ गर्ने र कागजात सही भएकाहरू पहिलो चरणका लागि छनोटमा पर्छन् । गल्ला सेलेक्सनबाट छानिएकाबीच साउनमा क्षेत्रीय (एआरओ) सेलेक्सन हुन्छ । जुन हाल पोखरा र धरानमा चलिरहेको छ ।

यो चरणमा सहभागीले गणित र अंग्रेजीको परीक्षा दिनुपर्छ । दाँत, आँखा, कान, रक्तचापको मेडिकल परीक्षण हुन्छ । छाती नापिन्छ । २ मिनेट ४५ सेकेन्डमा आठ सय मिटर दौडिनुपर्छ । एक मिनेटमा न्यूनतम १२ पल्ट हेभिङ तान्नुपर्छ । दुई मिनेटमा ७० पल्ट सिटअप गर्नुपर्छ । सहभागीको अन्तर्वाता लिइन्छ । यति गरेपछि केन्द्रीय (डीआरओ) सेलेक्सनको चरणमा पुगिन्छ । यो अन्तिम चरण मंसिरमा पोखरामा हुन्छ ।

यो वर्ष पोखरा र धरान गरी ८ हजार ८ सय ९१ क्षेत्रीय छनोट प्रक्रियामा सामेल भएका छन् । तिमध्येबाट छनोट भएर ५ सय ८० परीक्षार्थी केन्द्रीय छनोट चरणमा पुग्नेछन् । जसबाट ३ सय २० युवा भर्तीमा छनोट हुन्छन् । महिला भर्तीको बारेमा सञ्चारमाध्यमबाट सुने पनि आधिकारिक जानकारी आइनसकेको उनले बताए । बेलायतमा पुरुष र महिलाबीच समान प्रतिस्पर्धा हुने भएकाले यहाँ पनि त्यहीअनुसार नै हुने उनले जनाए । उनले भने, ‘पुरुष र महिलासँगै प्रतिस्पर्धा गर्ने हो, छुट्टै कोटा भन्ने हुँदैन ।’

‘लाहुरे’ रहर
म्याग्दीकी रूपा पाइजा पुनलाई लाहुरे बन्ने रहर जागेको छ । बेलायती सेनामा नेपाली महिला पनि भर्ती हुन पाउने समाचारले उनी उत्साहित भएकी हुन् । उमेरले उनी भर्खर १८ टेक्दैछिन् । सन् २०२० मा खुल्ने बेलायती सेनाको भर्तीको तयारीमा उनी अहिलेदेखि जुटेकी छन् ।

म्याग्दी अन्नपूर्ण गाउँपालिका हिस्तानकी रूपा पोखरा झरेको वर्ष दिन पुग्न आँट्यो । गाउँमै १२ कक्षा पास गरेर उनी पोखरा झरिन् । रामबजारको कालिका पब्लिक क्याम्पसमा उनी व्यवस्थापनतर्फ स्नातक तह पहिलो वर्षमा पढ्दै छिन् । गाउँको माहोल नै भलिबलमय थियो । उनी भलिबल प्रतियोगितामा म्याग्दीका धेरै गाउँ पुगेकी छन् । पोखरा झर्दा उनलाई भलिबलबाटै नेपाली सेनामा प्रवेश गर्ने इच्छा थियो । उनकै बाजे भारतीय सेनाबाट पेन्सन निस्किएका हुन् ।

साउनको सुरुवातमा गोर्खा भर्तीको समाचारले समाजमा हुने प्रतिष्ठा र आकर्षक सेवासुविधाले उनको मन बेलायती सेनातिर तान्यो । पोखरा रंगशाला गेट नजिकैको जुनियर गोर्खा एजुकेसन फिजिकल एकेडेमीमा उनी भर्ना भइन् । उनी बिहान–बेलुका नै रंगशाला धाउन थालेकी छन् । ‘गाउँमा पढेको भएर अंग्रेजीमा अलि कमजोर छु,’ उनले भनिन्, ‘फिजिकलमा गाह्रो हुँदैन जस्तो लाग्छ ।’

नेपालस्थित बेलायती दूतावासका अनुसार सन् २०२० का लागि लिइने भर्तीको सूचना सन् २०१९ को अप्रिलमा प्रकाशित हुनेछ । जुनबाट आवेदन खुला गरिनेछ । छनोट प्रक्रियामा पुरुष र महिलालाई समान योग्यता निर्धारण गरिने दूतावासले जनाएको छ । ‘ब्रिगेड अफ गुर्खाज’ मा लिइने भर्तीको छनोट पोखरामा हुनेछ ।

प्रकाशित : भाद्र ९, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?