कामविहीन भयो प्रदेशसभा

लालप्रसाद शर्मा

पोखरा — लामो समयको ‘ग्याप’ राखेर प्रदेशसभा बैठक सोमबार बोलाइएको थियो । दिउँसो १ बजेको बैठकमा सहभागी हुन सांसदहरू प्रदेशसभा स्थलतर्फ आउने क्रम सुरु भइसकेको थियो ।

कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्यो । तर, एक्कासी सभामुख नेत्रनाथ अधिकारीले विशेष कारणबश बैठक स्थगित भएको र आगामी सोमबार दिनको १ बजे बस्ने भन्दै सूचना टाँस गर्न लगाए ।

प्रदेश सरकारले ऐन निर्माणलगायत अन्य ‘बिजनेस’ दिन नसक्दा एकताका खुबै व्यस्त प्रदेशसभा पछिल्लो समय ‘कामविहीन’ जस्तै हुन पुगेको छ । विजनेस कम भएकाले नै साउन ३१ पछि एकैचोटी सोमबारका लागि बैठक डाकिएको थियो ।

Yamaha

यसबीचमा सरकारले कुनैन कुनै विधेयक ल्याउने अपेक्षा प्रदेशसभाको थियो । तर ल्याईएन । अर्कोतर्फ प्रदेशसभामा पेश भएर दफावार छलफलका लागि विधायन समितिमा रहेका प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र केही प्रदेश कानुनलाई संसोधन गर्न बनेको विधेयक प्रतिवेदनसहित सभामा आउने निश्चित जस्तै थियो ।

त्यही भएर पनि सोमबार बैठक बोलाइएको थियो । सोमबार बिहान विधायन समितिको बैठक राखिएकोमा समिति सदस्यको कोरमै पुगेन । १३ सदस्यमध्ये ८ जना बैठकमा आएनन । त्यसपछि बैठकमा विधेयकमाथि छलफल र टुंगो लगाउने कुरै भएन । समितिका सभापति मोहनप्रसाद रेग्मीले अधिकांश सदस्य बाटोमा रहेकाले बैठकमा गणपुरक संख्या नपुग्ने भन्ने समस्या नरहेको दाबी गरे ।

‘कोरमको भन्दा पनि विषयको समस्या भएर विधेयक टुंग्याउन सकिएन,’ उनले भने, ‘समझदारीमा विधेयक टुंग्याउने भन्ने भएकाले बहुमत र अल्पमतमा गइएन ।’ सबै सदस्यको उपस्थितिमा मात्र टुंग्याउने भनेकाले कुनै निर्णय नगरिएको उनको भनाइ छ । रेग्मीले अब छिटै अर्को बैठक बसेर आगामी प्रदेशसभा बैठकमा विधेयक लैजाने बताए ।

प्रदेशसभा सचिवालयका सचिव शम्भुबहादुर खड्काले दुई विधेयक विधायन समितिबाट नआएको र सरकारले नयाँ विधेयक पनि दर्ता नगराएकाले सोमबारको बैठक स्थगित गर्नुपरेको बताए । ‘संसदलाई कि त बिजनेस दिनुपर्‍यो । नभए स्थगित गर्दा राम्रो हुन्थ्यो’ उनले भने, ‘यसरी मिति तोक्ने तर बिजनेस नपाएर सार्दा राम्रो हुँदैन ।’ प्रदेशसभाबाट अहिलेसम्म १८ विधेयक पारित भएर प्रदेश प्रमुखबाट प्रमाणीकरणसमेत भइसकेका छन् ।

पछिल्लो समय मन्त्रालयहरू पनि संसदलाई विजनेस दिन कमजोर हुँदै गएको संकेत मिल्छ । मुख्यमन्त्री र मन्त्रीहरू दिनहुँजसो औपचारिक कार्यक्रमहरूमा पुगेर उद्घाटन र भाषणमा व्यस्त हुन थालेका छन् । सांसदहरू पनि त्यति उत्साही देखिँदैनन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव धर्मराज कुइँकेलले मन्त्रालयहरूबाट विधेयक नआएकाले संसदमा बिजनेस नपुगेको बताउँछन् । विभिन्न मन्त्रालयहरूले थुप्रै विधेयकका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति लिएका तर त्यस अनुसार नआएको उनको भनाइ छ । ‘सम्भवत: विधेयकमाथि गृहकार्य नपुगेर हुनसक्छ,’ उनले भने, ‘एकल सूचीलगायत महत्त्वपूर्ण विधेयकहरू आइसकेर पनि होला । अरू विधेयक जसरी आउनुपथ्र्यो, आएका छैनन् ।’

प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले सोमबारको प्रदेशसभा बैठक स्थगित हुनुमा सांसदको निष्क्रियता रहेको बताउँछन । ‘सरकार विधेयकमा लागि परेको छ,’ उनले भने, ‘निष्क्रिय भएका छैनाैं ।’

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत आमोद दाहालका अनुसार सोमबार मात्रै प्रशासकीय कार्यविधि नियमित गर्ने विधेयक प्रदेशसभामा दर्ता गराइएको छ । केही दिनमै प्रदेश सहकारी ऐन र वरपीपल तथा चौतारो संरक्षणसम्बन्धी विधेयक लैजाने तयारी भइरहेको उनले बताए । अन्य विधेयकहरू पनि पाइपलाइनमा रहेको उनको भनाइ छ ।

प्रकाशित : भाद्र १२, २०७५ ०९:३७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पुस्ता हस्तान्तरण हुँदै लाखेनाच

कान्तिपुर संवाददाता

पर्वत — विष्णुप्रसाद नेवारलाई साउन कृष्ण औंसी अर्थात् भुते औंसीदेखि घरायसी कामका लागि फुर्सद छैन । कुश्मा ४ का उनी सबेरै तयार हुन्छन् । टोलका तन्नेरी उनको घर छेउमा भेला भइसक्छन् ।

सोमबार पोखरा महानगरपालिका बागबजारमा निकालिएको गाईजात्रा । तस्बिर : बिना थापा

साउन कृष्ण औंसीयता उनी मात्रै होइन, कुश्माका नेवार समुदायका अगुवाको दैनिकी उस्तै बनेको छ ।

पाका पुस्तामा सीमित लाखेनाच अब युवामा हस्तान्तरण हुँदैछ । त्यसका लागि यो वर्ष भुते औंसीदेखि नै हरेक दिन निरन्तर नाच प्रदर्शन गरिएको छ । लाखे नाचमा बजाइने ढोलक, झ्याली, बाँसुरी, मादल, खेलीलगायतका बाजा युवा पुस्ताले सिक्दैछन् ।

नयाँ पुस्तालाई सिकाउन यतिबेला हरेक दिनजसो नाच प्रदर्शन गरिएको हो । दिउँसो ४ बजेदेखि साँझसम्म निकालिने लाखेनाचको तयारी बिहानैदेखि हुन्छ । नाचमा हिँड्न सक्ने पाकादेखि ८/१० वर्षका केटाकेटीसमेतको सहभागिता छ । विष्णुप्रसादसहित नेवा सांस्कृतिक समूहका अध्यक्ष चेतप्रसाद श्रेष्ठ, इन्द्रप्रसाद श्रेष्ठ, राम श्रेष्ठ, साजन श्रेष्ठ र देवी श्रेष्ठलगायतका अगुवा नाच सिकाउन दिनैपिच्छे खटिन्छन् ।

नेवारी संस्कृति संरक्षणका लागि २०६१ सालमा नेवा सांस्कृतिक समूह दर्ता भएको हो । सुरुमा समूहले खासै काम गरेन । तर, अहिले युवाहरूकै अगुवाइमा संस्थालाई बलियो बनाउन भवन बन्दैछ । हरेक दिन नाचको अभ्यास निर्माणाधीन भवनमै हुने गरेको छ । अगुवाको समर्पणको सकारात्मक प्रभाव नयाँ पुस्तामा परेको छ । बाजाको ताल र लय मिलाउन युवालाई छुट्टै प्रशिक्षण दिइन्छ ।

युवा राम श्रेष्ठले लाखे नाचमा बाजा सिक्न थालेको ३ वर्ष भयो । सिक्न उनले समय छुट्याएका छन् । ‘पहिचान जोगाउनका लागि संस्कृति सबैले सिक्नैपर्छ,’ उनले भने, ‘संस्कार हराए अस्तित्व हराउँछ ।’ उनीसँगै बाजा बजाउन रमेश श्रेष्ठ, कृष्ण श्रेष्ठ र भरत श्रेष्ठलगायत पनि लागिपरेका छन् ।

लाखे नाच पाका पुस्तामा परम्परा जोगाउने कर्मकाण्डजस्तै थियो । तर, अगुवाहरूले त्यसलाई सर्वप्रिय बनाउने चासो राखेपछि पर्वतमा जागेको छ । ‘यो नाचमा लगातार धेरै समय खट्नुपर्छ,’ नेवा सांस्कृतिक समूहका सचिव कृष्ण श्रेष्ठ भन्छन्, ‘उमेर ढल्केपछि गाह्रो हुन्छ । युवाले जान्दैनन् । त्यही भएर अहिल्यैदेखि जाग्दैछौं ।’ यो वर्षदेखि नेवार समुदायको यो नाचलाई युवा पुस्तामा हस्तान्तरण गर्दै लैजानका लागि जानकार खटिरहेका हुन् ।

‘अघिल्ला पुस्ताले चेतेनन्,’ अध्यक्ष चेतप्रसादले भने, ‘हामीले पनि वास्ता नगरे कसले गर्छ ।’ यो समूहमा पछिल्लो समय केही बाहुन र कुमाल समुदायको समेत सहभागिता छ । लाखे नाचको समूहमा प्रत्यक्ष सहभागी नभए पनि सघाउने कुश्मावासी थुपै्र छन् । समूहमा आबद्ध भएरै कुश्माका ५६ वर्षीय बुद्धिबहादुर राना नाचमा बाँसुरीवादकको काम गर्छन् । उनले बाँसुरी बजाउन थालेको तीन दशक पुग्यो । ‘लाखेनाचमा बाँसुरी बजाउन सजिलो छैन,’ उनले भने, ‘लय मिलाएर बजाउने अरू छैनन् । अब युवालाई नसिकाई हुँदैन ।’

अगुवा ५५ वर्षीय विष्णु नेवारका अनुसार यो नाचको इतिहास पर्वतमा करिब अढाई सय वर्ष पुरानो छ । भक्तपुरबाट बसाईं आएका नेवार समुदाय विभिन्न जिल्ला र गाउँटोलसम्म पुग्दा आफ्नो संस्कार पनि सँगै ल्याए । लाखेनाचसँग जोडिएका अरू धेरै नाच भूते औंसीदेखि हरितालिका तीजसम्म प्रदर्शन हुँदै आएका छन् ।

नेवार समुदायले गर्ने नाचभित्र गर्ने भदौरे जात्रामा लाखेनाचसहित गाईजात्रा, नागानाच, रोपाइँजात्रा, बागजात्रा, कृष्णजात्रा, हनुमान नाच, बकुल्ला नाच र एक्लो हनुमान नाच पर्छन् । यिनमा बकुल्ला नाच र हनुमान नाच लोप हुने अवस्थामा छन् । ‘अरू त निरन्तर जालान्, हनुमान र बकुल्ला नाच सिकाउनै सकिएन,’ नेवारले भने ।

जात्रा संरक्षण चासो
बागलुङ (कास)– परिवारमा दिवंगतको सम्झनामा मनाइने गाईजात्रा बागलुङका नेवार समुदायले पनि मनाएका छन् । यहाँका परिवारमा मृत्यु भएका १६ जना र परम्परागत स्मरणस्वरूप २ गरी सोमबार १८ वटा ‘ताया मचा’ निकालिएको थियो । मृत्यु भएकाको फोटो टाँसेर उनीहरूले मन पराउने नेवारी संस्कारका कपडा लगाएर झकिझकाउ तायामचासहित बजार परिक्रमा गरिएको छ ।

गाईजात्रामा रामलीला पनि प्रदर्शन गरिएको थियो । ‘सामान्य परिवारले गाईजात्रामा मात्र समावेश गरे पनि सम्भ्रान्त परिवारले छुट्टाछुट्टै राम लीला गर्थे,’ संस्कृतिविद् प्रेम छोटाले भने, ‘एकल गर्न नसकेकाले १७ परिवारले सामूहिक रामलीला निकालेका छौं ।’ रामलीलाका लागि एक महिनाअघिदेखि कलाकारले मृतकका बारे बनाइएका श्लोक गाएर सिंगारिएका राम, सीता र हनुमान बनेर भजन गाउने गर्छन् ।

जनैपूर्णिमाको दिनदेखि बागलुङका नेवारले ८ दिनसम्म एक दर्जन जात्रा मनाउने गर्छन् । लाखेजात्रा, गाईजात्रा, रोपाइँजात्रा, बाघजात्रा, जोगी नाच र हनुमान नाचलगायतका जात्रा छन् ।

बागलुङका नेवारहरू २ सय ५० वर्षअघि भक्तपुरबाट बसाइँ आएको इतिहास छ । उनीहरूले ल्याएको हनुमान नाच अझै यहाँ अनौठो संस्कृतिमध्ये पर्छ । ‘धेरै ठाउँमा लोप भयो, यहाँ हामीले बचाएका छौं,’ छोटाले भने, ‘यो नेवार समुदायकै पहिचान हो ।’ धेरै खर्चिलो र युवाहरूको लगनशीलता चाहिने भएकाले हनुमान नाच जोगाउन सजिलो नभएको उनले बताए ।

पोखरामा गाईजात्रा भव्य
कास्की (कास)– एक महिना अघिदेखि नाचको तयारीमा रहेका नेवार सामुदायले सोमबार सांस्कृतिक झाँकीसहित गाईजात्रा भव्य रूपमा मनाएका छन् ।

वर्षभरि दिवंगत आफन्तको आत्म शान्ति हुने विश्वासमा मनाइने गाईजात्रामा रंगीचंगी झाँकीले नगर परिक्रम गरेको छ । ‘पाएसम्म गाई, नपाए गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराउने परम्परा छ,’ तायामचा कास्कीका पूर्वसचिव गोविन्दधोज श्रेष्ठले भने, ‘आफन्तको सम्झनामा गाईजात्रामा सहभागीलाई श्रद्धालले दूध, फलफूल र द्रव्य दानसमेत गर्छन् ।’

दिवंगत पुरुष भए मुकुट प्रतीक र सिङ बनाएर, कोट लगाएको गाईलाई होचो बनाउने, महिला वा बालबालिका भए अग्लो गाई बनाएर तीन/तीनवटा चोला झुन्ड्याएर चौंरी गाईको चमर र फोटो राखेर, रंगीविरंगी कपडाको मुकुण्डो, टोपी, लामो जामा र पटुका बाँधेर नाच्दै बजार परिक्रमा गर्ने गरिएको उनले बताए ।

‘देश रहन संस्कृति र कला जोगाउनुपर्छ,’ कलाकार क्षेत्रलाल कायस्थ भन्छन्, ‘नयाँ पुस्तामा पनि अझै संस्कृति र कला संरक्षणमा चासो देख्ता खुसी लाग्छ ।’ तायमचाका अध्यक्ष श्रीकृष्ण कतिलाका अनुसार पोखरामा नेवारी नाचमा महिलाको सहभागिता हुन थालेको ५ वर्ष पुगेको छ ।

हालसम्म जिल्लामा महिलाको नौ समूह पुगेका छन् । सोमबार मोहरियाटोल, बागबजार, तेर्सापट्टी, रानीपौवा, राजचौतारा लगायतका ३२ स्थानबाट गाईजात्राको र्‍याली निस्केको थियो ।

प्रकाशित : भाद्र १२, २०७५ ०९:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT