कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुगममै केन्द्रित भए कार्यालय

प्रकाश बराल

बागलुङ — विषयगत कार्यालय खारेज भएर स्थानीय तहमा इकाइका रूपमा रहने भनिए पनि अधिकांश कार्यालयका जिम्मेवार कर्मचारी सदरमुकाममै छन् ।

सुगममै केन्द्रित भए कार्यालय

प्रदेश सरकार मातहतका कार्यालय खोल्ने क्रम सुरु भए पनि पर्याप्त कर्मचारी छैनन् । सदरमुकाम बाहिर नजान कर्मचारीको जोडबल चलिरहँदा संघीयताको मर्मअनुसार दुर्गममा सेवा पुर्‍याउन कठिन देखिएको छ ।

बागलुङ नगर क्षेत्रमा आइतबार प्रदेश सरकार मातहतको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना भएको छ । यो केन्द्र स्थापनासँगै बागलुङमा तत्कालीन अञ्चलस्तरीय पशु स्वास्थ्यको कार्यालय खुलेको छ । अञ्चल तहकै सेवा हेर्नेगरी गत साता जिल्ला वनलाई डिभिजन वनमा स्तरोन्नति गरिएको छ । करदाता सेवा कार्यालय पनि आन्तरिक राजस्व कार्यालयमा रूपान्तरण भएर तत्कालीन अञ्चल हेर्ने भएको छ ।

संघीयता कार्यान्वयनका लागि तयार गरिएको खाकाअनुसार यस्ता कार्यालय खुल्ने क्रम सुरु भएको हो । स्थानीय तहको निर्वाचनपछि अधिकांश सेवामूलक कार्यालय गाउँ र नगरपालिका तहमा जाने भनिएकोमा जिल्लाकै कार्यालयहरू डिभिजन भएपछि गाउँपालिकामा सजिलै सेवा पुग्नेमा जनप्रतिनिधि समेत सशंकित छन् । ‘सबै सेवा गाउँ जाने भनियो तर अहिले घुमाईफिराई सबै कार्यालय सदरमुकाममै छन्,’ निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले भने, ‘गाउँपालिकामा पर्याप्त संख्यामा कर्मचारी ल्याउन सकिएको छैन ।’ प्राविधिकसहित निजामतीका कर्मचारी पनि नपुगेको उनले बताए । कर्मचारी अभावमा योजना सक्न समस्या भएको उनले बताए ।

‘जिल्ला तहका कार्यालयका कुनै न कुनै युनिट रहेका छन्, ती प्राय: समन्वयकारी छन्,’ जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र ढुंगानाले भने, ‘केही स्थानीय तहको मनोमानीले संघीयतामाथि प्रश्न उठेका छन् ।’

प्रकाशित : भाद्र १२, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?