कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल बुझ्दै विदेशी विद्यार्थी

१७ देशका ३० विद्यार्थी पोखरामा
विद्यार्थी विश्वविद्यालयमा विद्यावारिधि तहमा अध्ययनरत

पोखरा — नेपाली भाषा, रहनसहन, जीवनशैली, सभ्यता, संस्कृति, राजनीति, पर्यटन र प्राकृतिक स्रोतलगायतबारे जानकारी लिने उद्देश्यसहित १७ देशका ३० विद्यार्थी पोखरा आएका छन् ।

नेपाल बुझ्दै विदेशी विद्यार्थी

इन्टरनेसनल ग्य्राजुयट स्कुल नर्थ, साउथ र नेपाल सेन्टर फर कन्टेम्पोरेरी रिसर्च (एनसीसीआर) ले इन्टरनेसनल समर स्कुल २०१८ अन्तर्गत उनीहरूलाई ल्याएको हो ।

विद्यार्थीले नेपालको बजार र विशेषगरी ग्रामीण क्षेत्रको स्थलगत भ्रमण गरी आवश्यक जानकारी लिनेछन् । गाउँमा पुगेर उनीहरू होमस्टेमा बस्नेछन् । यसले होमस्टेको प्रचारमा सघाउ पुग्ने विश्वास लिइएको छ । ‘गाउँ पुगेर विद्यार्थीले स्थानीयसँग भेटघाट, छलफल, अन्तरक्रियामार्फत विभिन्न विषयमा जानकारी लिनेछन्’ एनसीसीआरका रिसर्च डाइरेक्टर विष्णुराज उप्रेतीले भने, ‘प्राप्त जानकारीको विश्लेषण विद्यार्थीले गर्छन् ।’

उनीहरू विश्वविद्यालयमा विद्यावारिधि तहमा अध्ययनरत विद्यार्थी हुन् । उनीहरूलाई शोध र अनुसन्धानका लागि सहयोगी र केही प्राध्यापक पनि टोलीमा सहभागी छन् । प्रत्येक दुई वर्षमा यसरी विद्यार्थी ल्याएर नेपाली सभ्यताबारे जानकारी दिइने उप्रेतीले बताए । यस क्रममा नेपाली र विदेशी विद्यार्थीबीच अन्तरक्रिया, नेपाल र विदेशको पढाइ प्रक्रिया र अनुसन्धानका विषयमा पनि छलफल हुन्छ ।

विद्यार्थी १५ दिन आफ्नो काममा हुनेछन् । चार दिन सैद्धान्तिक ज्ञान दिइनेछ भने चार दिन स्थलगत अध्ययनका लागि जानेछन् । सहरी क्षेत्रका लागि पोखरा र बेगनास ताल तथा ग्रामीण क्षेत्रका लागि ताङतिङ, घाचोक र मिश्रा गाउँ पुग्नेछन् ।

त्यसपछि फर्केर तीन दिनसम्म प्राप्त जानकारीको विश्लेषण हुनेछ । कार्यक्रमको बुधबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उद्घाटन गर्दै प्रदेश पर्यटनको राजधानी भएको बताए । पर्यटनबाटै प्रदेशको समृद्धि हुने देखेर प्रदेश सरकारले पर्यटनलाई प्राथमिकतामा राखेको भन्दै उनले जातजाति, भाषाभाषी, जैविक विविधता, संस्कृति र सभ्यता सिकेर आफ्नो देशमा प्रचार गरिदिन आग्रह गरे ।

कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले गण्डकी प्रदेश विविधतायुक्त रहेको बताए । प्रदेशको समृद्धिका लागि असल शासनमा जोड दिँदै उनले स्रोतसाधनको सही परिचालनले मात्र विकासले गति लिने बताए । सरकारका पूर्वसचिव द्वारिकानाथ ढुंगेलले नेपालको सहरी अवस्थाबारे विद्यार्थीलाई जानकारी गराएका थिए ।

साथै ज्युरिक विश्वविद्यालयकी अल्रिक मुलर बोइकर र इन्टरनेसनल ग्राजुएट स्कुल नर्थ–साउथका निर्देशक थोमस ब्रेउले पनि दिगो विकासका लागि अनुसन्धान, नीति र अभ्यास आवश्यक रहेको भन्दै विकासोन्मुख देशहरूले यसैलाई अनुसरण गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित : भाद्र १४, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?