कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जोगाउँदै गंगापूर्ण ताल

गंगापूर्ण ताल संरक्षणका लागि करिब १ सय मिटर पर्खाल लगाइयो
पर्खालले हिमपहिरो र लेदोसहित बाहिरबाट बग्ने ढुंगामाटोलाई छेक्ने
आश गुरुङ

मनाङ — बर्सेनि खस्ने हिमपहिरोले पुरिँदै जान थालेपछि मनाङको गंगापूर्ण हिमताल संरक्षण गर्न पर्खाल लगाइएको छ । पर्खालले हिमपहिरो र लेदोसहित बाहिरबाट बग्ने ढुंगामाटोलाई छेक्नेछ ।

जोगाउँदै गंगापूर्ण ताल

पर्खालले मानिस तथा चौपायालाई तालमा पस्नबाट जोगाएको स्थानीयले बताएका छन् ।

चारैतिरका ढुंगामाटो थुप्रिएर ताल साँघुरो बनाएपछि यसको संरक्षणमा स्थानीय तह लागेको हो । यसअघि संरक्षण र सम्बद्र्धन हुन नसकेको गंगापूर्ण तालको संरक्षणका लागि पहल थालिएको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले बताए । ‘ताल दिनदिनै पुरिँदै गयो । माथिबाट हिमपहिरोले लेदो बगाएर तालमा झारेर पुर्दै आएको छ,’ उनले भने, ‘तलबाट मानवीय गतिविधिले पुरिँदै गएको छ । ताल त हराउनै लाग्यो । त्यसैले पर्खाल लगाएका हौं ।’

ताललाई फराकिलो बनाउन आगामी दिनमा भित्र थिग्रिएर रहेको ढुंगामाटोलाई पनि निकाल्ने योजना रहेको उनले बताए । ‘तालभित्रको ढुंगामाटो कसरी निकाल्न सकिन्छ । निकालेमा केही असर पर्छ कि पर्दैन भनेर हामीले छलफल थालेका छौं,’ उनले भने ।

समुद्री सतहको ३ हजार ५ सय ४० मिटर उचाइमा पर्ने गंगापूर्ण ताल मनाङ ङिस्याङ गाउँपालिका ६ मा पर्छ । गंगापूर्ण हिमाल (७,४५४ मि.), अन्नपूर्ण चौथो (७,५२५ मि.), खाङसार काङबाट ‘ग्लेसियर’ पग्लेर आएको हिमनदीले गंगापूर्ण ताल बनेको छ ।

गाउँपालिकाबाट विनियोजित १० लाख रुपैयाँ र पर्यटन बोर्डबाट प्राप्त १० लाख रुपैयाँ साथै स्थानीयको श्रमदानबाट गंगापूर्ण ताल संरक्षणको लागि करिब १ सय मिटर पर्खाल लगाएको गाउँपालिका अध्यक्ष घलेले बताए । वडा ६ का अध्यक्ष सोनाम गुरुङले ताल संरक्षणका कार्य धेरै बाँकी रहेकाले आगमी दिनमा कसरी तालको संरक्षण गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताए ।

‘पर्खाल लगाएर मात्रै काम पूरा भएको छैन वरिपरि वृक्षरोपण साथै पहिरोबाट जोगाउने तरिकाबाट छलफल गरिरहेका छौं,’ उनले भने । उनका अनुसार हिमपहिरोलाई रोक्न नसक्ने र ताललाई तालकै स्वरूप दिन नयाँ कदम चाल्नुपर्ने देखिएको छ ।

लमजुङबाट गंगापूर्ण ताल घुम्न पुगेका जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले वरपर अग्ला पर्खाल लगाउनुभन्दा ताल बीचमा जमेको ढुंगामाटो तथा बालुवालाई झिकेर फालेमा ताल तालकै स्वरूपमा बस्ने बताए । ‘पर्खाल लगाउनु नराम्रो होइन । तालभित्र जमेको वस्तुलाई हटाउन सकियो भने ताल ठूलो र गहिरो पनि हुन्छ,’ उनले भने ।

करिब २१ दशमलव ०८ हेक्टर क्षेत्रफलमा फैलिएको अनुमान गरिएको उक्त तालको आकार पछिल्लो समय घटेको स्थानीय बताउँछन् । ताल सफा भएको बेला नीलो, वर्षायाममा सेतो र हिउँदमा हिउँ जम्ने विशेषता यस तालमा रहेको मनाङका होटल एवं पर्यटन व्यवसायी कर्मा गुरुङ बताउँछन् । उनका अनुसार गंगापूर्ण पर्यटकीय गन्तव्य बने पनि पछिल्लो समय साँघुरिँदै गएकाले यसको रौनकता हराउँदै गएको छ ।

हिमालको फेदबाट बेलाबेलामा गइरहने हिमपहिरोको कारण हिलो र ढुंगामाटो तालमा थुप्रिन आएकाले ताललाई संकटमा पारेको उनले बताए । ‘१०/१५ वर्षअघि कहिलेकाहीं मात्रै हिमपहिरो खस्थ्यो, त्यसले खासै प्रभाव पार्ने थिएन । पछिल्लो समय कहिलेकाहीं ठूलो पहिरो खस्न थालेको छ । पूरै खाएर तालाम थुप्रिएको छ,’ उनले भने ।

गाउँपालिका अध्यक्ष घलेका अनुसार अनुसार चक्रीय अन्नपूर्ण पदमार्गमा आउने पर्यटकका लागि गंगापूर्ण ताल एउटा मुख्य गन्तव्य हो । ‘हाई अल्टिच्युट’ बाट बच्न पर्यटक मनाङमा एक दिन दुई रात बस्छन् । पर्यटक जसरी पनि गंगापूर्ण ताल पुग्छन् । ‘तालको आकार घटदै गएको हामीले महसुस गरेर यसको संरक्षणमा लागेका हौं,’ उनले भने । उच्च हिमाली क्षेत्रमा विस्तारै बढेको तापक्रमले हिमापहिरो खस्न गई तालको साँघुरिँदै गएको हुनसक्ने उनले बताए । ‘हिमालमा हिउँ पग्लिँदै गएको छ । पहिरो चलेर हिमनदीसँगै हिलो र ढुंगामाटो थुप्रिएको छ,’ उनले भने ।

सन् १९६० को दशकपछि गंगापूर्ण ताल बनेको अध्ययन अनुसन्धानबाट देखिएको २ वर्षअघि मनाङका स्थानीय विकास अधिकारी रहेका कृष्णप्रसाद धिताल बताउँछन् । ताल पुरिने क्रम जारी रहे २० वर्षमा ताल नहरने खतरा बढेको उनले बताए । कर्मचारीले २० वर्षसम्म स्थानीय निकाय सञ्चालन गर्दा उक्त तालको संरक्षणमा ध्यान नपुगेको स्थानीयको गुनासो छ ।

प्रकाशित : भाद्र १६, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?