कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भरिया र गाइडलाई कुपन

विदेशी पर्यटकलाई भन्दा भरिया र गाइडलाई कम मूल्य लिएर खान र बस्न दिनेगरी कुपनको व्यवस्था

गोरखा — पर्यटकसँग आउने भरिया र गाइडहरूले नि:शुल्क खाने, बस्ने गर्दा घाटा परेको व्यवसायीको गुनासोपछि मनास्लु पदमार्गमा कडाइ सुरु गरिएको छ ।

भरिया र गाइडलाई कुपन

पर्यटन क्षेत्रका विकासमा सघाउने भन्दै मनास्लु पर्यटन व्यवस्थापन संयुक्त उपसमिति गठन गरेर कडाइ थालिएको हो । उक्त उपसमितिको बिहीबारको निर्णयअनुसार आगामी अक्टोबरबाट लागू हुनेगरी पैदल यात्राको अवधिभर अब भरिया र गाइडले खानाको रकम एकमुष्ट तिर्नु पर्नेछ ।

प्रतिछाक दुई सय रुपैयाँका दरले भ्रमण अवधिभरको एकमुष्ट रकम तिरेपछि प्रवेशद्वारको जगत पोस्टबाट भरिया र गाइडले कुपन पाउँछन् । मनास्लु संरक्षण क्षेत्र (एम–क्याप) अन्तर्गतको पर्यटक जाँच चौकी जगतले पदयात्रा मार्ग भएर जाने पर्यटकको विवरण संकलन गर्दै आएको छ ।

मनास्लु क्षेत्र भ्रमणका लागि वार्षिक करिव सात हजार पर्यटक आउने एम–क्यापको तथ्यांकले देखाउँछ । पदमार्ग क्षेत्रमा वार्षिक कम्तीमा १० हजार भरिया र गाइडहरू पुग्ने गरेका छन् । पर्यटक लगिदिने उनीहरूलाई नि:शुल्क खान–बस्न दिँदा घाटा पर्दै आएको व्यवसायीको गुनसो हुन्थ्यो । ‘नर्मल रूपमा हेर्दा पनि एक भरिया सात दिन उक्त क्षेत्रमा बस्छन् ।

वार्षिक न्यूनतम १० हजार भरिया र गाइड आउने हाम्रो अनुमान हो,’ एम–क्याप प्रमुख नरेन्द्र लामाले भने, ‘एक जनाको एक सातामा १४ छाक खानाको हिसाब गर्दा पनि वार्षिक २ करोड ८० लाख रुपैयाँ घाटा पर्ने रहेछ ।’ उक्त रकम यसअघि चुहावट भएको गुनासो स्थानीयस्तरबाट आएको उनले बताए । भ्रमणको अवधि हेरेर विदेशी पर्यटकलाई भन्दा भरिया र गाइडलाई कम मूल्य लिएर खान र बस्न दिनेगरी कुपन दिने व्यवस्था संयुक्त उपसमितिले मिलाउन लागेको हो ।

‘गाइड र पोर्टरहरूले खरिद गरेको कुपन देखाएर मात्र खाना खान दिने व्यवस्था मिलाउँछौं,’ उपसमितिकी कोषाध्यक्ष सुनिता गुरुङले भनिन्, ‘कुपनलाई गलत तरिकाबाट दुरुपयोग गरे होटलहरूलाई कस्तो कारबाही गर्ने नियम पनि बसल्ने तयारीमा छौं ।’

भरिया र गाइडलाई कुपन दिन र एकमुष्ठ रकम उठाउन जगत काउन्टरमा दुईजना कर्मचारी १५ हजार तलव दिएर राख्ने तयारी गरिएको छ । ‘पर्यटकको चाप हुने सिजन ६ महिना हो,’ उनले भनिन्, ‘पर्यटक धेरै आएका बेला कर्मचारीलाई थप पाँच बढाएर दिन्छौं ।’ गाइड र भरियालाई नि:शुल्क खाने–बस्ने व्यवस्था मिलाएर पाहुना तान्ने प्रवृत्ति बढेपछि यसलाई न्यूनीकरण गर्न स्थानीयले सक्रियता देखाएका हुन् । ‘एरिया–एरियामा खानेकुराको मेन्यूको रेट एकै बनाउने विषयमा पनि छलफल भइरहेको छ,’ उनले भनिन् ।

मनास्लु पदमार्ग क्षेत्रको समग्र पर्यटन व्यवस्थापन एक साताअघि भएको भेलाले सिर्दिवासका गणेश कार्कीको अध्यक्षतामा उपसमिति गठन गरेको थियो । उपाध्यक्ष बिहीका चन्द्र गुरुङ, सचिव चुम्चेतका सरोज लामा, कोषाध्यक्षमा ल्होकी सुनिता गुरुङ चयन भएका छन् ।

‘आगामी बैठकमा सामागाउँ र छेकमका पर्यटन व्यवस्थापन उपसमितिका प्रतिनिधि समेतलाई समावेश गरि कार्यसमिति १५ सदस्यीय बनाउँछौं,’ अध्यक्ष कार्कीले भने, ‘पदमार्गको व्यापार व्यवस्थापन अहिलेका लागि चुनौती छ ।’ मनास्लु क्षेत्रमा हाल १० लाखदेखि एक करोडसम्म लगानी भएका ९० हाराहारी होटल छन् । मार्च, अप्रिल, मे, अक्टोबर र नोभेम्बरलाई मनास्लु संरक्षण क्षेत्र भ्रमणको उपयुक्त समय मानिन्छ ।

प्रकाशित : भाद्र १६, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?