कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भरोसा छैन बेपत्ताका परिवारलाई

सरकारी र गैरसरकारी कार्यालयले कार्यक्रम गरेर मुद्दालाई पुरानो बनाउने र जबर्जस्ती बिर्साउन खोजेको आरोप
‘पीडितलाई न्यायको अनुभव नदिलाए कुनै पनि बेला घाउ बल्झिन सक्छ’

लमजुङ — राइनास १ भलायखर्कका टंकनिधि घिमिरेले बाबु तीर्थराज घिमिरेलाई बेपत्ता बनाउनेविरुद्ध कारबाही हुनुपर्ने भन्दै २ वर्षअघि बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोगमा उजुरी दिए ।

भरोसा छैन बेपत्ताका परिवारलाई

२०५८ फागुन १७ मा गाउँकै ज्ञानोदय माविमा बोलाएर गोरखाको हर्मीस्थित तत्कालीन सेनाले लगेका तीर्थराजको अवस्था अझैसम्म अज्ञात छ । उजुरी दिँदा पनि सरकारले उनको अवस्थाबारे परिवारलाई जानकारी दिएको छैन ।

‘नेताका नाटक, सरकारका आश्वासन । भुलाउन दिएको राहत रकमले हाम्रो मन कसरी बुझ्छ ?’ टंकनिधिले भने, ‘खाली पीडा दिने मात्रै काम भयो । सधैं आँसु झार्ने मात्रै काम भयो । हाम्रा मान्छे कहाँ छन्, भन्नु पर्दैन ?’ उजुरी दिँदा आशा लागेर दिए पनि पछिल्लो समय न्याय पाउनेमा उनलाई भरोसा छैन ।

मध्यनेपाल १ जिताका रमेश पौडेललाई तत्कालीन सुरक्षा फौजले ०५८ चैत १२ मा पक्राउ गरेको थियो । त्यसपछि उनको कुनै खबर नपाएको पत्नी शकुन्तला बताउँछिन् । ‘कमसेकम कहाँ के भएको हो, यति मात्रै भनिदिए पनि चित्त बुझ्ने एउटा पाटो हुन्थ्यो,’ उनले भनिन् ‘सास रहुन्जेल आश हुन्छ नि । कि छैन भनिदिए हुन्थ्यो ।’ दूधे बालक छाडेर गएका उनी नफर्किएको उनले सुनाइन् ।

बेंसीसहर नगरपालिका ६ चण्डीस्थानकी मिठी अधिकारी छोरीबारेको जानकारी पाइन्छ कि भनेर द्वन्द्वकालीन मुद्दाका कुनै पनि कार्यक्रममा जान छाडदिनन् । जुनुसकै कार्यक्रममा पनि उनी गहभरि आँसु टिल्पिलाउँदै छोरीको अवस्थाबारे प्रश्न गर्छिन् । छोरी सीतालाई ०५८ चैत १४ मा नाल्माबाट सुरक्षाफौजले गिरफ्तार गरेर लगेको उनी बताउँछिन् । ‘तीन महिनासम्म मैले पुलिस कार्यालयमा देखेकी थिएँ । त्यसपछि कहिल्यै देख्न पाइनँ,’ उनले भनिन्, ‘बरु धनसम्पत्ति केही चाहिँदैन, छोरीको अवस्था बताइदिए हुन्छ ।’

बेपत्ताविरुद्धको अन्तर्राष्ट्रि दिवसको अवसरमा बिहीबार रेडक्रस सोसाटी लमजुङ शाखाले बेंसीसहरमा आयोजना गरेको कार्यक्रममा उनले छोरीको अवस्थाबारे जानकारी नभएपछि किरिया समेत नगरेको बताइन् ।

चण्डीस्थानकै सन्तबहादुर रिमालले सरकारी र गैरसरकारी कार्यालयले विभिन्न कार्यक्रम गरेर मुद्दालाई पुरानो बनाउने र जबर्जस्ती बिर्साउन लगाएको आरोप लगाए । ‘यतिका वर्ष बितिसक्यो । हाम्रा मान्छे कहाँ छन् समेत भन्न नसक्ने सरकारले राहत दिएको जस्तो गरी राजनीति गरेको छ,’ उनले भने । छोरा राजकुमारलाई तत्कालीन विद्रोही माओवादीले ०६१ भदौ ११ देखि बेपत्ता बनाएको उनले सुनाए ।

मध्यनेपाल ३ सूर्यपालकी मैया बस्नेत हिजोआज औपचारिक कार्यक्रममा सितिमिति जाँदिनन् । गए पनि बोल्दिनन् । बेपत्ता पतिबारे जानकारी लिन खोज्नेलाई उनी हत्तपत्त जानकारी दिन मान्दिनन् । ‘कार्यक्रममा गएर के हुन्छ ? बोलेर के हुन्छ ? त्यतिबेलै प्रहरी, त्यसपछि मानवअधिकार आयोग, एड्भोकेसी फोरम, आईसीआरसी सबैमा उजुरी दिएँ,’ उनी भन्छिन्, ‘२ वर्षअघि आयोगमा पनि उजुरी दिएँ केही भएन क्यारे ? कसैको भरोसा छैन ।’

उनका पति कृष्णबहादुरलाई ०५६ असार ३ मा सोतीपसलस्थित साथी रामचन्द्र गिरीको घरबाट प्रहरीले गिरफ्तार गरेको थियो । त्यसयता उनको अवस्था अझै अज्ञात नै छ । ‘देउवा (शेरबहादुर देउवा) कतिपटक प्रधानमन्त्री भए । प्रचण्ड (पुष्पकमल दाहाल) कतिपटक प्रधानमन्त्री भए । यी दुईजनाले जवाफ दिनु पर्दैन ?,’ उनले भनिन् ।

तत्कालीन स्थानीय शान्ति समितिमार्फत लमजुङका २७ जना बेपत्ताका परिवारले आफ्ना आफन्तलाई द्वन्द्वकालमा बेपत्ता पारिएको भन्दै आयोगमा उजुरी दिएका थिए । यीमध्ये १६ जना बेपत्ताका परिवारले राहत बुझदै आएका छन् । रेडक्रसका शाखा सभापति दीपक बरालका अनुसार जिल्लाबाट १६ जना बेपत्ता रहेको रेडक्रसको सूचीमा छ ।

जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले बेपत्ता पारिएका परिवारको घाउमा नुन छर्किने मात्रै नभएर सरकारले मलमपट्टी लगाउनुपर्ने बताए । ‘पीडितलाई न्यायको अनुभव नदिलाए कुनै पनि बेला घाउ बल्झिन सक्छ । ख्याल गर्नुपर्छ,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बेपत्ताका साथै द्वन्द्वपीडितलाई सरकारले राहत उपलब्ध गराउँदै आएको र पीडितले समयमै राहत लिन सुझाव दिए । ‘पीडितलाई जीविकोपार्जनमा समस्या भएको भनी सरकारले राहत उपलब्ध गराएको हो । थोरै हुनसक्छ । यसलाई सदुपयोग गरिए जीविकोपार्जनमा ठूलै परिवर्तन ल्याउन सक्छ,’ उनले भने ।

प्रकाशित : भाद्र १६, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?