कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सानो कारागार, धेरै कैदीबन्दी

५० जना क्षमताको जिल्ला कारागारमा १२५ कैदीबन्दी
सुत्ने–बस्ने ठाउँमा डबल डेकर खाटलगायतका पूर्वाधार तयार गरिँदै

स्याङ्जा — जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या भएको छ । फरार घोषित अभियुक्तहरू धमाधम पक्राउ पर्न थालेर कैदीबन्दीको संख्या बढेको हो ।

सानो कारागार, धेरै कैदीबन्दी

३५ क्षमताको कारागारलाई दशकअघि ५० जना राख्ने बनाइएको थियो । हाल यहाँ कैदीबन्दीको संख्या १ सय २५ पुगेको छ । बाहिर जिम्मा लिइदिने कोही नभएपछि आमासँगै बसेकी एक नाबालिकासहित यहाँ ९ महिला र १ सय १६ पुरुष कैदीबन्दी छन् । जेलर बुद्धिप्रसाद शर्माका अनुसार कारागारको पुरुष ब्लक ३५ जना राख्ने क्षमताको हो । ‘भवन जीर्ण छ, कैदीबन्दीको संख्या बढेको बढ्यै भयो,’ उनले भने, ‘वैकल्पिक व्यवस्थापन हुन नसक्दा भित्र बिजोगसँग बसेका छन् ।’

कारागारमा हाल कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दाका कैदीबन्दीको संख्या बढी छ । कर्तव्यज्यान मुद्दाका ३२, जबर्जस्ती करणीका ३८, लागूऔषधका १६, डाँकाचोरी २, चोरी २, जबर्जस्ती करणी उद्योगका ७, सवारी ज्यानका ४, गौवधका ६, ज्यान मार्ने उद्योग १, केही सार्वजानिक अपराध २, जीउ मास्ने बेच्ने ३, हाडनाता करणी १, अपहरण, शरीर बन्धकमा ३ र १ जना बहुविवाहका छन् ।

०३६ मा स्थापना भएको कारागारमा कार्यालयसहित तीन भवन छन् । ०७२ को भूकम्पबाट केही भागमा क्षति पुगे पनि कारागार मर्मत गरिएको छैन । कामु प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले अन्य जिल्लाको तुलनामा यहाँ कैदीबन्दी राख्न समस्या नभएको दाबी गरे । ‘कैदीबन्दीको संख्या अति धेरै होइन,’ उनले भने, ‘क्षमताभन्दा केही बढी भने हो । हालसम्मलाई भइरहेको ठाउँलाई नै विभिन्न तरिकाले व्यवस्थापन गरिएको छ ।

धेरै बढे भने अरू जिल्लामा स्थानान्तरण पनि गर्दै आएका छौं ।’ १५ जनाका क्षमताको ब्लकमा नौजना हुँदा महिला कैदीबन्दीको हकमा समस्या नरहेको उनले बताए । ‘पुरुष कैदीबन्दीका लागि पनि तत्काललाई केही समस्या देखिए पनि सुत्ने–बस्ने ठाउँका लागि वैकल्पिक उपायस्वरूप डबल डेकर खाटहरूलगायत अन्य पूर्वधारहरू तयार गर्ने क्रममा छौं,’ उनले भने ।

हालसम्मलाई कैदी व्यवस्थापनको लागि कारागार विभागबाट कुनै योजना नबन्दा स्थानीय प्रशासनले मात्रै व्यवस्थापन गर्न गाह्रो पर्ने उनको भनाइ छ । ‘संख्या बढ्दै जाने हो भने दीर्घकालीन समाधानका लागि हामी विभागमा लेखेर पठाउँछौं,’ उनले भने ।

प्रकाशित : भाद्र १७, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?