बन्दीपुरमा पर्यटन महोत्सव
दमौली — तनहुँको पर्यटकीय गाउँ बन्दीपुरमा शुक्रबारदेखि तनहुँ पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उदेश्यले बन्दीपुर गाउँपालिका, बन्दीपुर युनिस्को क्लब र रोट्रयाक्ट क्लब दमौलीले महोत्सव आयोजना गरेका हुन् ।
दुईदिने महोत्सवमा लोपोन्मुख सांस्कृतिक नाचको प्रमुख आकर्षण छन् । लाखे, डोको कौराहा नाच, रत्यौली, तीज गीत, देवी, झ्याउरे, तामाङ सेलो, थारू नाच, गन्दर्भ गीत, सोरठी, ठाडो भाका, दरै, बोटे समुदायको संस्कृति र भजनलगायतका सांस्कृतिक प्रदर्शनी मुख्य आकर्षण रहेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।
‘महोत्सवले बन्दीपुरको पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्छ,’ उनले भने, ‘त्यसैले लोपन्मुख नाचलाई प्राथमिकता दिएका हौं ।’ महोत्सवको अवसर पारेर सांस्कृतिक नाचगानलाई मञ्च दिँदा नयाँ पुस्तामा पनि संस्कार बुझ्न सजिलो हुने उनले बताए ।
महोत्सवको अवसरमा गुफाभित्र टेबलटेनिस प्रतियोगितासमेत आयोजना गरिएको छ । विमलनगरस्थित एसियाकै ठूलो दाबी गरिएको सिद्ध गुफाको प्रचारप्रसार गर्ने उद्देश्यले टेबलटेनिस प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएका छन् ।
महोत्सवको पहिलो दिन ‘तनहुँ पर्यटन’ पुस्तक विमोचन गरिएको छ । उक्त पुस्तकमा जिल्लाका १० वटै स्थानीय तहका पर्यटकीय स्थलहरूबारे जानकारी समेटिएको छ । महोत्सवको प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।
बन्दीपुरबाट धौलागिरिदेखि अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु र बुद्ध हिमालदेखि पूर्वका गणेश र लाङटाङ हिमश्रृंखलाकाहरू दृश्यावलोकन गर्न सकिन्छ । समुन्द्र सतहबाट १ हजार ३० मिटर उचाइमा रहेको बन्दीपुरको प्रमुख आकर्षणमा नेवारी कलासंस्कृति, दोहोरो लाइनमा मिलाएर बनाइएका कलात्मक पुराना घरहरू, स्लेट ओछ्याइएका बाटा, अठारौं शताब्दीताका निर्मित खडकदेवी, विन्ध्यवासिनी, थानी देवी, महालक्ष्मी र नारायण मन्दिर, पारपानी महादेव, तीनधारा महादेव, मुकुन्देश्वरी, फराकिलो टुँडिखेल र रानीवन आदि छन् ।
सिद्ध गुफा अवलोकन तथा र्याप्लिङ र नजिकैको चुन पहरामा चट्टान आरोहण, छाङदीमा क्यानोनिङ, प्याराग्लाइडिङ र केशवटार हुँदै दमौलीसम्मको माउन्टेन बाइकिङ जस्ता साहसिक पर्यटकीय गतिविधिका लागि पनि बन्दीपुर प्रसिद्ध छ ।
प्रकाशित : भाद्र २३, २०७५ ०९:४७