कालोपत्रे सडकमै खाल्टैखाल्टा

सडक निर्माणको ठेक्का पाएका ठेकेदारले कमसल निर्माण सामग्री प्रयोग तथा छिटो काम सक्ने बहानामा लापरबाही गर्दा कालोपत्रे टिकेन
हरिराम उप्रेती

गोरखा — कच्ची सडकमा बर्खा लागेसँगै पानी जम्ने र पहिरो जाने कारणले सवारी आवागमनमा ठप्प हुन्छ । यहाँका पक्की सडकमा पनि खाल्टैखाल्टाका कारण सवारीसाधन सहज चल्न सक्दैनन् ।

गोरखाको बाह्रकिलो–बारपाक सडकखण्डको कालोपत्रे सकडमा परेका खाल्डा । तस्बिर : हरिराम

२०७५ असारमै बाह्रकिलो–बारपाक सडक कालोपत्रे गरिसक्ने लक्ष्यका साथ पाँच प्याकेजमा ठेक्का लागेको थियो । बाह्रकिलो–भालुस्वाँरा–बारपाक सडक आयोजनाले चार वर्षअघि नै उक्त सडकअन्तर्गतको बाह्रकिलो–जरेवरको १२ किलोमिटर खण्ड भने कालोपत्रे गरिसकेको थियो ।


Yamaha

कालोपत्रे भएको उक्त खण्डमा हाल साना सवारी पनि मुस्किलले आउजाउ गर्छन् । कालोपत्रे सुरु भएको स्थान बाह्रकिलोको प्रवेशद्वारदेखि नै सावधानी अपनाएर गाडी चलाउनुपर्ने चालक बताउँछन् । बाह्रकिलोको घुम्ती, सिर्दी पुल, छेवेटार पुल, मसानेपाटी र चोरकाटेको घुम्तीलगायतका तीन दर्जन ठाउँमा कालोपत्रे उप्किएका छन् भने खाल्टैखाल्टा परेर पानी जमेका छन् । ‘ठूला दुर्घटना नै चाहिँ भएको छैन । यस्तो सडकले दुर्घटनाको सम्भावना जोखिमचाहिँ बढायो,’ उक्त खण्डमा सवारी चलाउँदै आएका रामबहादुर सुनारले भने ।


सडककै कारण गाडीहरू बिग्रने समस्या पनि बढेको उनले सुनाए । ‘बेलैमा स्पिड घटाइएन, खाल्टो पर्‍यो भने गाडीको पट्टा भाँचिन्छ । गाडी कन्ट्रोल गर्नै गाह्रो हुन्छ,’ उनले भने । पक्की सडककै कालोपत्रे उप्किएपछि पैदलयात्रीलाई आउजाउमा पनि समस्या परेको लक्ष्मीबजारका विष्णु नेपालीले बताए । ‘खाल्टाखुल्टी छ, गाडी पनि यही सडक हिँड्छ,’ उनले भने, ‘कतिखेर हिलोपानी छ्यापिन्छ भन्नै सकिँदैन ।’


टिपरले बालुवा बोकेर पानी चुहाउँदै हिँड्दा कालोपत्रे सडक नै हिलाम्मे हुने स्थानीय बताउँछन् । सडक निर्माणको ठेक्का पाएका ठेकेदारले कमसल निर्माण सामग्री प्रयोग तथा छिटो काम सक्ने बहानामा लापरबाही गर्दा पनि कालोपत्रे धेरै वर्ष नटिकेको आरोप एकथरी स्थानीयको छ ।


बाह्रकिलो–बारपाक सडक आयोजनाका प्रमुख अमृतमणि रिमाल उक्त सडक मर्मतका लागि नयाँ ठेक्का निकाल्ने तयारी भइरहेको बताउँछन् । ‘सडकको आयु नै यति नै हो कि, के कति ठाउँमा क्षति पुगेको छ भनेर स्टिमेट निकाल्दैछौं,’ उनले भने, ‘केही ठाउँमा स्थानीयले पानी सडकमा लगाइदिन्छन्, यसो हुँदा सडक चाँडो भत्कियो ।’ नाला व्यवस्थापन गर्न नसक्दा यहाँका अधिकांश पक्की सडकहरूको अवस्था दयनीय बन्दै गएको उनले बताए ।


गोरखा सदरमुकामको मुख्य बजार हरमटारी चोककै कालोपत्रे सडकमा खाल्टाखुल्टी परेका छन् । हरमटारी–वराह हँुदै ढुंगागाडेको साढे तीन किमि खण्ड, नयाँ बसपार्कबाट नयाँबजार जाने सडक र बसपार्क सतीपीपलको कालोपत्रे सडकमा खाल्टा परेका हुन् ।


सडक मर्मतका लागी गोरखा नगरपालिकामा डेलिगेसन गए पनि हालसम्म सडक मर्मतको काम हुन नसकेको आदर्शनगर टोल विकास संस्था वराहका अध्यक्ष वीरबहादुर गुरुङले बताए । हस्पिटलचोकदेखि वराहसम्मको खण्ड ०६८ सालमा कालोपत्रे भएको थियो । ‘हामी यहाँका बासिन्दाले सडक पिच गर्न पैसा दिएका थियौं । सानो खाल्डो पर्‍यो, पुर्न ढुंगा राख्यौं,’ गुरुङले भने, ‘छ चक्के, आठ चक्के गाडीले त्यो ढुंगा धूलो बनायो अनि खाल्डो बढ्दै गयो ।’ घडेरी खार्दा सडकको छेउभाग उप्किएपछि बढ्दै भत्केर अहिलेको अवस्था आएको स्थानीय बताउँछन् ।


‘रोलर पाइराखेको छैन, छिटै खाल्डो पुर्न सुरु हुन्छ,’ गोरखा नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले भने, ‘कुन–कुन ठाउँमा के कति क्षति भएको छ भनेर स्टिमेट गर्न भनेर कर्मचारी पठाएका छौं । स्टिमेट सकेपछि कति पैसा विनियोजन गर्नुपर्छ नगरपालिकाले गर्छ ।’ नालीको व्यवस्थापन हुन नसक्दा सडकमा खाल्डा परेको उनले बताए ।

Esewa Pasal

प्रकाशित : भाद्र २५, २०७५ ०९:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सरकार असफल र अस्थिर बनाउन नकारात्मक शक्ति सक्रिय : गृहमन्त्री थापा

हरिराम उप्रेती

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले सरकारलाई असफल र अस्थिर बनाउन नकरात्मक शक्ति लागिपरेको बताएका छन् ।  जिल्ला प्रशासन कार्यालय गोरखाको भवन उद्घाटनपछि पत्रकारसँग कुराकानी गर्दै मन्त्री थापाले अराजकता फैलाउने शक्तिलाई सरकारले नियन्त्रण गरेको बताए ।

‘सफलतापूर्वक विकास, समृद्घि र स्थायित्वको दिशातर्फ अघि बढेको बेला नकारात्मक शक्ति अस्थिर बनाउने, देशलाई पुरानै अवस्थामा फैलाउने काममा एकजुट भएका छन्,’ थापाले भने,‘ घटनाक्रमले के देखाउँछ भने भित्र र बाहिरका शक्तिहरुले अराजकता फैलाउने प्रयास गर्दैछन्, यो उनीहरुको असफल प्रयास हो।’ लोकतन्त्रमा प्रतिस्पर्धा गरि पराजित भएकाहरुले पनि सरकारलाई असफल बनाउन खोजेको थापाको आरोप छ।

तत्काल मन्त्रीहरु फेरबदलको कुनै सम्भावना नरहेको थापाले बताए। ‘मन्त्री फेरबदलको ठोस चर्चा छैन, पत्रपत्रिकाहरुले सम्भावना ब्यक्त गरिरहेका छन्,’ थापाले भने,‘ फेरबदल हुन सक्छ, सिद्घान्त: हुँदै हुँदैन भन्ने पनि होइन, मन्त्री फेरबदल हुनु, थपिन, घट्नु सामान्य प्रक्रिया हो।’

सरकारले आफ्नो कामको निरन्तर समिक्षा गरेको भन्दै उनले कामलाई गति दिनुपर्ने ब्यविस्थत गर्नुुपर्ने भए पनि मन्त्री फेरबदल गर्ने आवश्यकता नभएको बताए।

जनताले विकास, समृद्घि, सुशासन र स्थायित्वको जनादेश दिएकाले त्यसलाई स्थापित गर्न सरकार सफलतापूर्वक अघि बढेको थापाले दाबी गरे। ‘दिन दिनै बिष्फोट हुने स्थितीको अन्त्य भएको छ, अपराध नियन्त्रणमा आएको छ, तस्करीको सञ्जाललाई भत्कायौँ, यातायात क्षेत्रमा देखिएको सिण्डिकेट अन्त्य भएको छ,’ उनले भने,‘ भ्रष्टचार नियन्त्रण गर्नेतर्फ अघि बढिरहेका छौँ।’

तस्करीको सञ्जाल तोड्न राज्य सफल भएको उनको दाबी छ। ‘सुन तस्करको जालोलाई ध्वस्त बनाइएको छ, सम्बन्धित ब्यक्ति कानुनको कठघरामा छन्, केही बाहिर छन् उनीहरुलाई पनि कानुनी दायरमा ल्याउछौ,’ उनले भने।

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्याकाण्ड बारे सरकारले उच्च स्तरीय छानबिन टोली बनाएको र हत्यामा संलग्न छिट्टै कानुनी कठघरामा आउने थापाले उनले बताए।

देशमा अराजकता फैलाउन विप्लव समूहमात्र नभइ अन्य समूह पनि लागिपरेको थापाको भनाइ छ। ‘देशव्यापी विष्फोटन गर्ने, जनप्रतिनिधिलाई राजीनामा देउ भन्ने, जनअदालत ब्यूताउने, हिन्दु राष्ट्र घोषणा गर्ने शक्तिहरु पनि छन्, उनीहरु देशलाई अस्थिर बनाउन लागिपरेका छन्,’ उनले भने।

विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर बिश्वाकर्मालगायतका नेता कार्यकर्तालाई छाड्ने, समात्ने विषय सरकार र अदालतको भएको उनले बताए। ‘अदालतले आफ्नो नियम कानुनअनुसार गर्छ, सरकारले आफ्नै नियमअनुसार गरिरहेको छ, लुकामारी भन्दा पनि अदालत र सरकारले आ–आफ्नो दायित्व पुरा गरेका छन्,’ उनले भने।

जिल्ला प्रशासन कार्यालय भवनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै मन्त्री थापाले भूकम्प पछिको पूननिर्माणलाई विशेष महत्व दिन कर्मचारीहरुलाई निर्देशन दिए। ०७२ असोज २८ मा सुरु भएको भएको भवन निर्माण गत असारमा सम्पन्न भएको थियो। तीन करोड १९ लाखमा तीन तले १८ कोठे भवन निर्माण गरिएको हो।

प्रकाशित : भाद्र २३, २०७५ १४:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT