कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बसिनसक्नु बनाए बाँदरले

फलफूल र बालीमा बिगार गर्दै आएका बाँदरको हूलले आक्रमण नै गर्न थालेपछि गाउँले हैरान छन् ।

गोरखा — गण्डकी गाउँपालिका ४ फुजेल ढकालगाउँकी ४८ वर्षीया बेलकुमारी पाण्डे यतिबेला काठमाडौंमा उपचारको क्रममा छिन् । पाखामा घाँस काट्न गएकी उनीमाथि भदौ १२ मा बाँदरको हूल जाइलागेको थियो ।

बसिनसक्नु बनाए बाँदरले

सिकिस्त फेला परेकी उनलाई श्रीमान् मोहन पाण्डेले उपचारार्थ काठमाडौं पुर्‍याएका हुन् । ‘यहाँ राति १२ बजे ल्याइयो । टेकुको अस्पतालले दुईवटा इन्जेक्सन लगाएर लाजिम्पाटको हस्पिटल रिफर गर्‍यो,’ पाण्डेले फोनमा भने, ‘त्यहाँ एउटै सुईलाई ३४ हजार लाग्यो । डक्टरले अझै दुई हप्ता सुई लगाउन यहीं बस्न पर्छ भनेका छन् ।’ बेलकुमारीलाई आक्रमण गरेकै दिनको साँझ गिरिराज पाण्डेलाई पनि बाँदरको हूलले झम्टिएको थियो । गोठमा घाँस हाल्न जाँदा बाँदरको हूल जाइलागेका उनी स्थानीय स्वास्थ्य संस्थामा उपचाररत छन् ।

एक साताअघि फुजेलकै ७४ वर्षीय धनबहादुर भट्ट घाँस काटेर फर्कंदै थिए । उनी बाँदरका हूलको घेराबन्दीमा परे । ‘बाँदरले चारैतिरबाट घेरेपछि बुबा बेहोस जस्तै हुनुभएछ,’ छोरा जितबहादुर भट्टले भने, ‘गाउँलेले लौरो देखाएर बाँदर धपाएर बचाएछन् ।’

अघिल्ला वर्ष फलफूल र अन्नबाली खाएर हैरान पार्ने बाँदरका हूलले दुई सातायता आक्रमण गर्न थालेपछि फुजेलको ढावे, पाण्डेगाउँ र ढकाल गाउँका ६ जना स्थानीय घाइते भइसकेका छन् । ‘पानी लिन जाँदा पनि घोचो बोकेर जाने गरेका छौं,’ मोहनले भने, ‘घर बाहिर निक्लनै डर भयो ।’

वडा र गाउँपालिकामा बाँदरले दिएको दु:खबारे जानकारी गराए पनि नियन्त्रण गर्न बेवास्ता भएको उनले गुनासो गरे । महिला वृद्घवृद्घा र बालबालिकालाई बाँदरले बढी हैरान पार्ने गरेको जितबहादुर बताउँछन् । ‘एउटाले जिस्काउने अनि मान्छेले लम्किझम्की गरे चारैतिरबाट घेरा हालेर चिथोर्न थाल्छन्,’ उनले भने, ‘पहिले–पहिले बाली मात्रै खान्थे, अब त ज्यान जोगाउनै गाह्रो भयो ।’ आजित भएका गाउँलेले बाँदर आतंक नियन्त्रण गरिदिन स्थानीय तहमा पटक–पटक माग गर्दै माग गर्दै आएका छन् ।

‘बाँदरलाई जिस्काउन थाले झनै आक्रमक हुन्छ । उसको गतिविधि थाहा नपाएजस्तो गर्नुपर्छ,’ डिभिजनल वन अधिकृत जीवनाथ पौडेलले भने, ‘भाले–पोथीबीच समागम हुनेबेला पनि बाँदरले आक्रमण गर्न सक्छ ।’ लामो समयसम्म खान नपाए मानिससँग भएका खानेकुरा खोस्न खोज्ने हुँदा पनि बाँदर आक्रामक हुनसक्ने उनले बताए । मान्छेलाई आक्रमण गरेर आतंक मच्चाए नियन्त्रणका लागि स्थानीय प्रशासनले उपयुक्त निर्णय लिनसक्ने उनको भनाइ छ ।

प्रकाशित : भाद्र २६, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?