पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

घनश्याम खड्का-

म्याग्दी — मंगलबारदेखि परेको अविरल वर्षापछि आएको पहिरोले बेनी–जोमसोम सडक खण्डमा यातायात अवरुद्ध भएको छ ।

सदरमुकाम बेनीदेखी २३ किलोमिटर उत्तर अन्नपूर्ण गाउँपालिका–३ दानाको गुईठेदेखि ३६ किमी मुस्ताङको घाँसा खण्डमा झरेका दर्जनबढी पहिरोले यातायात पूर्ण अवरुद्ध भएको हो ।

Yamaha


बेगखोलामा आएको बाढीले बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध छ । यातायात रोकिएपछि सयौं यात्रु अलपत्र छन् । बाढीले कटान गर्दा रुप्सेखोला माथीको मोटरपुल जोखिममा परेको छ । पहिरोले पुलको एकापट्टीको फाउण्डेसन भत्कन लागेको छ ।
‘म्याग्दी–मुस्ताङ सिमावर्ती १३ किमी खण्डमा बाढी पहिरोले सडक क्षतविच्छत भएको छ । म्याग्दीतर्फ गुईठे, द्वारीखोला, रुप्सेछहरा, काप्रे, बाँदरजुङ्ग र घाँसाखोलामा पहिरो गएकोले यातायात पूर्ण अवरुद्ध छ’ सडक विभागका सडक हेर्ने सुपरभाईजर इन्द्रसिं शेरचनले भने, ‘डोजर तयारी अवस्थामा छन्, पहिरो रोकिएपछि सफागरी सवारी सञ्चालन हुन्छ ।’

पहिरोले सडक अवरुद्ध भएपछि मुस्ताङ्गी स्याउलाई बजार ल्याउन समस्या भएको छ । सडक अवरुद्ध भएपछि यात्रुमात्र होईन, दैनिक उपभोग्य सामाग्री बोकेर मुस्ताङ लागेका र स्याउ बोकेर तल ओर्लेका मालबाहक गाडीको लोमो लाईन लागेको छ ।

तस्बिर सौजन्य : इन्द्रसिं शेरचन

Esewa Pasal

प्रकाशित : भाद्र २७, २०७५ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

स्याउ हेर्दै, बाटो सम्झँदै

स्याउ टिप्ने समय आएपछि मुस्ताङका किसान सडकको दुरावस्था सम्झँदै दिक्क
घनश्याम खड्का-

म्याग्दी — सिजनमा मुस्ताङी स्याउको चर्चा हुन्छ । स्याउ पाक्ने र टिप्ने समय नजिक आएपछि मुस्ताङका किसान यतिबेला सडकको दुरावस्ता सम्झँदै दिक्क छन् ।

मुस्ताङका डाँडापाखामा स्याउका बगैंचा लटरम्म छन् । तर, दैलोमै गुड्ने गाडीबाट बारीका स्याउ ढुवानी गराउन भने यतिबेला असहज छ । वर्षा थामिएको छैन । सडकमा ठाउँ–ठाउँ पहिरो खसिरहन्छ । बेनी–जोमसोम सडक विस्तारको क्रममा छ ।


कतिबेला कहाँ सवारी आवागमन कतिञ्जेललाई रोकिने हो भनेर कसैले भन्न सक्दैनन् । त्यसैले स्याउ कृषकलाई चिन्ता परेको हो ।


‘तातोपानी–घाँसाको १५ किमि सडक खण्डमा पहिरोले दैनिक सास्ती दिएको छ । सडकमा खसेका ठूला ढुंगा विस्फोटन गरेर हटाउँदा पनि आफ्ना घरमा क्षति पुग्ने भनेर स्थानीयले गुनासो गरेका छन्,’ म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भने, ‘बेनी–जोमसोम खण्डमा हरेक दिन पहिरोले यातायात अवरोध गरेकै छ ।’ मनसुन नथामिएसम्म सडकको अवस्था सुधार हुन गाह्रो रहेको उनले बताए ।


सडक विस्तार गर्दा डोजर चलाएर भित्ता काटिएकाले उक्त खण्डका धेरै ठाउँमा पहिरोको समस्या आएको हो । दर्जनभन्दा बढी डोजर परिचालन गरिएका छन् । दिनभरि पहिरो पन्छाउने काम हुन्छ, रातमा पहिरो खसेर फेरि बाटो बिग्रन्छ । अन्नपूर्ण गाउँपालिका ३ काप्रेमा आइतबार झरेको पहिरोले बेनी–जोमसोम सडकमा सोझो यातायात अवरुद्ध पार्‍यो । सडक अवरुद्ध भएपछि बेनीबाट गएका र मुस्ताङबाट झरेका सवारीसाधनले यात्रुलाई झारेर वारिपारिका गाडीमा साटफेर गरे । यात्रुवाहक सवारी आउजाउमै सास्ती रहेकाले किसानलाई दसैंसम्म सडकको अवस्था सुधार हुनेमा शंका छ ।


त्यसो त मुस्ताङमा स्याउका बगैंचामै व्यापारी पुग्छन् । उनीहरूले पूरै बगान किनेर आफैं टिप्न लगाई स्याउ पोखरा र अन्य सहर पुर्‍याउने व्यवस्था गर्छन् । सडकको समस्याले व्यापारी पनि यसपटक डराएका छन् । केही व्यापारीले स्वादमा परिपक्व नहुँदै स्याउ बेनीको बजारसम्म फाट्टफुट्ट पठाउन थालेका छन् । तर, ठूलो परिमाणमा ल्याउन भने ढुवानी समस्या छ ।


मुस्ताङको घरपझोङ गाउँपालिकाका कृषि प्राविधिक विमल खड्का किसानहरू बेनी–जोमसोम सडकमा सवारी आवागमन निर्बाध हुने दिन पर्खिरहेको बताए । ‘स्याउ यो पटक पनि राम्रैगरी फलेको छ तर टिप्ने बेलासम्म बाटो सुधार हुन्छ/हुँदैन भन्नेमा दुविधा छ,’ उनले भने, ‘यात्रुहरू गाडीबाट उत्रेर अलिकति पैदल हिँड्दै पहिरो पार गरेर पनि आउजाउ गर्न सक्छन् । स्याउ त्यसरी वारिपारि गराउन सजिलो हुँदैन ।’ मार्फा, सौरू, चोखोपानी, चिमाङ, कोबाङ, टुक्चे, जोमसोम, कागवेनी, पाक्लिङ, लुप्रा र ताम्बे, आदि गाउँहरू मुस्ताङमा स्याउ उत्पादनमा कहलिएका छन् ।


गोल्डेन डेलिसियस, रिचारेड, रेड डेलिसियस र फुजी जातका स्याउ यहाँ खेती गरिन्छ । स्थानीय तहहरूले पनि स्याउ खेती विस्तारका लागि अनुदानमा बिरुवा वितरण, बगैंचा सुदृढीकरण कार्यक्रम र ढुवानीका लागि अनुदानमा कार्टुन छपाएर कृषकलाई उपलब्ध गराउँदै आएका छन् ।

प्रकाशित : भाद्र २५, २०७५ ०९:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT