१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

लेकमा पानी, बेंसीमा बाढी

लेक वर्षेपछि रघुगंगा र कालीगण्डकी जलाधारबाट आएको बाढीले बेंसीका बस्तीमा क्षति पुर्‍याएको छ
घनश्याम खडका

म्याग्दी — जब लेक वर्षिन्छ तब बेंसीमा बाढी आउन पानी परिरहनु पर्दैन । बुधबार यस्तै भयो । दिनभर टन्टलापुर घाम लागेको थियो । ‘भीरको जरो र खोलाको किनारमा सधैंको त्रास’ भन्ने उखान ठ्याक्क मिल्छ, सदरमुकाम बेनीलाई ।

लेकमा पानी, बेंसीमा बाढी

साँझसम्मै पानी पर्ने कुनै छाँटकाँट नै थिएन तर बुधबार साँझ ५ बजेपछि म्याग्दी, रघुगंगा खोला र कालीगण्डकी नदीबाट अचानक लेदो माटोको गन्ध आयो । नदी उर्लेर बस्ती छेउसम्म आएको थियो । बाढीको त्रासले तटीय क्षेत्रमा आतंक मच्चियो । यस्तो गन्ध नदीमा बाढी आउँदा मात्र आउँछ । माटोको गन्ध आयो भने बाढीपहिरोको संकेत मानिन्छ । मध्यरातपछि नदीमा बाढीको सतह घटेपछि बल्ल स्थानीय खाना खान र सुत्न गए ।


मंगलबार रातिदेखि लगातार धौलागिरि, अन्नपूर्ण र नीलगिरि हिमालय क्षेत्रमा भारी वर्षा भइरहेको थियो । धौलागिरिबाट बग्ने रघुगंगा खोलाको सिरानमा पर्ने रघुगंगा गाउँपालिका ८ कुइनेमंगलेको पात्लेखर्क क्षेत्रमा पहिरो गयो । पहिरोसहित बाढीले रितुङ खोला र छहरे खोलामा ठूल्ठूला रूखसहितको बाढी रघुगंगामा मिसिएर छेउ किनार कटान गर्दै गलेश्वर छेउको कालीगण्डकीमा मिसियो ।


‘बुधबार राति एक्कासी बाढी आउँदा मानवीय क्षति नभए पनि भौतिक क्षति धेरै भएको छ,’ प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भने, ‘क्षतिको लगत संकलन भइरहेको छ । रघुगंगा खोलाको मुहान क्षेत्रमा अझै पानी पर्न नरोकिएकाले बाढीको सम्भावना उस्तै छ ।’ रघुगंगा खोलामा आएको बाढीले रितुङ माध्यमिक विद्यालयका चारवटा कक्षाकोठा बगाएको छ ।


बाढीको बहाव विद्यालयतर्फ सोझिएकाले बाँकी संरचनालाई पनि क्षति पुग्नेगरी कटान जारी छ । बाढीले रितुङ युवा क्लबको भवन, खेलमैदान र नवनिर्मित स्वाथ्यचौकी भवन पनि बगाएको छ । छहरेखोलाको बाढीले झोलुंगे पुल बगाएपछि पात्लेखर्क, श्रीखर्क, ढाँड र द्वारी बस्तीको सडक सम्पर्क विच्छेद भएको छ । वडाध्यक्ष गमन छन्त्यालका अनुसार बाढीले १५ किलोवाट क्षमताको लघु जलविद्युत्का चारवटा पोल बगाएको छ । पोल बगाएपछि विद्युत्सहितको तारमा अल्झेर एक वृद्धाको मृत्यु भएको थियो ।


मुस्ताङमा पनि बाढीपहिरोले क्षति पुर्‍याएको छ । थासाङ गाउँपालिका २ का कोबाङ, सिर्कुम र ५ को ताउलुङका दर्जन ठाउँमा पहिरो गएको छ । पहिरोले एउटा स्वास्थ्यचौकी र सयौं हेक्टर स्याउ बारीमा क्षति पुर्‍याएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । ‘कम पानी पर्ने मुस्ताङको धौलागिरि र नीलगिरि बीचमा पर्ने थासाङ गाउँपालिका क्षेत्रमा ५ घण्टा पानी पर्दा पहिरो गएर धेरै भौतिक क्षति पुगेको छ,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले भने, ‘नपत्याउँदा खोल्साहरू कालीगण्डकी झैं बौलाएका थिए ।’


लेक वर्षेपछि रघुगंगा र कालीगण्डकी जलाधारबाट आएको बाढीले बेंसीका बस्तीमा पनि क्षति पुर्‍याएको छ । रघुगंगा र कालीगण्डकी नदी मिसिएर आएको बाढीले सदरमुकाम बचावटका लागि हिउँदभर करोडौं खर्चेर निर्माण गरिएको ५ सय मिटरमध्ये २ सय मिटर पक्की पर्खाल भत्काएको छ । रघुगंगा खोलामा आएको बाढीले पाइपमा क्षति पुर्‍याउँदा सदरमुकाम बेनीमा खानेपानी आपूर्ति बन्द भएको छ । बेनीदेखि ३ किमि उत्तर गलेश्वर छेउ रघुगंगा नदी किनारा हुँदै क्रस गरी तारेको पाइप बगाएपछि खानेपानी आपूर्ति रोकिएको हो ।


सदरमुकाम बचावटका लागि करोडौं खर्चेर निर्माण गरिएको आरसीसी पर्खाल बाढीले क्षति पुर्‍याएपछि बिहीबार जिल्ला दैवीप्रकोप व्यवस्थापन समितिको आकस्मिक बैठक बसेको छ । बैठकले पर्खाल कमजोर भएकै कारण बाढीले बगाएकाले छानबिन गर्ने निर्णय भएको प्रजिअ अधिकारीले बताए ।

बेनी–जोमसोम सडक अवरुद्ध
बाढीपहिरोले क्षति पुर्‍याउँदा बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । कालीगण्डकी नदीले अन्नपूर्ण गाउँपालिका ६ भीरकाटे र वडा २ तातोपानीको नागढुंगामा सडक बगाएको प्रहरीले जनाएको छ । यस्तै रुप्से खोला, कोप्रे, र मुस्ताङको लेतेखोला क्षेत्रमा पहिरोले सडक बगाएको छ । मुस्ताङका प्रजिअ शिशिर पौडेलका अनुसार लेतेखोला नजिक एउटा बस पहिरोमा फँसेको छ । यात्रुलाई सकुशल उद्धार गरिए पनि बस निकाल्न नसकिएको उनले बताए ।


रघुगंगा खोलाको बाढीले कटान गरेपछि बेनी–जोमसोम सडकको पहिलो तीन किमि उत्तर गलेश्वरस्थित बेलीब्रिज बगाउने जोखिम बढेको छ । १७ किमि माथि भीरकाटे र २३ किमिमाथि तातोपानीमा बाढीले सडक बगाएको छ । ३० किमि माथि रुप्सेखोलामा पहिरो पुलमाथि थुप्रिएको छ । त्यसैगरी ४० किमिमाथि लेतेखोलामा रहेको ट्रष्टब्रिज पहिरोले पुरेको छ ।

पर्यटकको हेलिकोप्टरबाट उद्धार
मुक्तिनाथ दर्शन गरेर फर्कंदै गरेका ७८ जना भारतीय पर्यटक कालीगण्डकी नदीमा आएको बाढी र अविरल वर्षासँगैको पहिरोमा फँसेका थिए । म्याग्दीको अन्नपूर्ण गापा ३ दानामा अलपत्र उनीहरूलाई बिहीबार हेलिकोप्टरबाट उद्धार गरी पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २९, २०७५ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?