कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घरमै सम्मान

पर्वत — कुश्मा ३ दुर्लुङकी ९३ वर्षीया बाटुली सर्किनीले पाँच पुस्ता देखिन् । बाल्यावस्थादेखि हालसम्मको परिवर्तन देखेकी उनले हर्षका आँसु खसालिन् । कारण बन्यो नगरप्रमुख रामचन्द्र जोशीले घरमै पुगेर गरेको सम्मान ।

घरमै सम्मान

कथित दलित परिचयकै कारण गाउँमा पानीपँधेरो बार्नुपर्ने र उपल्ला जातिको आँगनको बाटोसमेत हिँड्न नपाइने अवस्थाको साक्षी बनेकी उनी मंगलबार स्थानीय सरकारका प्रमुख कार्यकारी व्यक्ति घरमै पुगेर गरेको सम्मानले भावुक भइन् । ‘मैले छोइछिटो मात्रै होइन, दलितलाई देख्दा साइत बिग्रिन्छ भन्ने समाज पनि भोगें,’ उनले भनिन्, ‘आज मेरै घरमा मलाई सम्मान गर्न सरकारप्रमुख आउनुभएको छ । दलितलाई गर्ने व्यवहार बदलिएकोमा असाध्यै खुसी लागेको छ ।’

आफूभन्दा पनि सन्ततिको स्वतन्त्रताप्रति सन्तुष्ट भएको भाव उनले व्यक्त गरिन् । गाउँमै खेतीपाती र पशुपालनमा ९१ वर्ष बिताएका दुर्लुङकै टीकाराम पाध्या पनि नगरप्रमुख जोशीले घरमै आएर ब्लाङकेट ओढाएर सम्मानपत्र दिँदा औधी खुसी भए । गाउँका अगुवा र नेताहरूले विभिन्न कार्यक्रममा गलाभरि खादा र मालासहित सम्मान थापेको देख्दै आएका उनले आफूले कहिल्यै सम्मान पाएको अनुभव गरेका थिएनन् । शारीरिक अशक्तताले घरमा भित्र– बाहिर गर्न गाह्रो जीवन बिताइरहेका उनलाई सम्मानले भावुक बनाएको थियो ।

कुश्मा नगरपालिकाले नगरभित्रका ९१ जना जेष्ठ नागरिकलाई घरघरै पुगेर सम्मान गर्ने अभियान चलाएपछि नगर प्रमुखसहितका जनप्रतिनिधि पुगेका हुन् । नगरप्रमुख जोशीले जेष्ठ नागरिकका घरघरै पुगेर सम्मान मात्रै गरेनन्, उनीहरूसँग कुराकानी पनि गरे । उनीहरूका गुनासा सुने । ‘भोट हालेर जिताएका नेता गाउँमा देखिँदैनथे,’ ९२ वर्षीया धनपति पाध्याले भने, ‘तपाईं आउँदा हामीलाई भगवान् प्रकट भएजस्तो भएको छ । जति माथि पुगे पनि हामीजस्तालाई नबिर्सनुहोला, आशीर्वाद लाग्छ ।’ वृद्धवृद्धाहरूले बुढेसकालको सहाराका लागि आश्रयस्थल भए धेरै सहज हुने बताए । उमेर मिल्ने दौंतरीहरू एकै ठाउँमा भेला भएर भजनकिर्तन गरेर समय कटाउने सामूहिक भवनको माग गरे ।

नगरप्रमुख जोशीले दुर्लुङबाट सुरु गरेको जेष्ठ नागरिक सम्मान अब सबै वडामा पुग्ने बताए । ‘सम्मान लिनकै लागि बूढाबूढी नगरपालिकासम्म आउन सक्दैनन्,’ उनले भने, ‘घरमै पुग्दा उहाँहरूलाई आत्मसम्मान हुन्छ, हामीलाई सन्तुष्टी हुन्छ ।’ नगरप्रमुखको हैसियतमा पाउने मासिक तलवभत्ताबाट विद्यार्थी र जेष्ठ नागरिकको सम्मानमा खर्च गर्ने घोषणा गरेका जोशी प्रतिबद्धता कार्यान्वयनस्वरूप घरघरै पुगेका हुन् ।

आफ्नो पारिश्रमिकबाट उनले स्कुले बालबालिकालाई शैक्षिक सामग्री, विद्यालय पोसाक र नगदसमेत सहयोग गर्दैआएका छन् । ‘मेरो कार्यकालभरि पाउने तलवभत्ताबाट वृद्धवृद्धा र विद्यार्थीलाई सहयोग गर्छु,’ उनले भने, ‘मासिक तलवभत्ताको हिसाब गरेर सोहीअनुसार कार्यक्रम बनाउँछु ।’ आर्थिक अभावकै कारण विद्यालय जानबाट वञ्चित बालबालिका तथा पारिवारिक बहिस्करणमा परेका वृद्धवृद्धालाई विशेष सहयोग गर्ने उनले बताए । समस्यामा परेकाहरूलाई नगरपालिकाबाट पनि सहयोग गरिने उनले बताए ।

प्रकाशित : भाद्र २९, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?