कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यावसायिक भैंसीपालन

मलेसिया र जापानबाट फर्केका दुई युवाले कृषि फार्म सञ्चालन गर्दै
प्रतीक्षा काफ्ले

स्याङ्जा — वैदेशिक रोजगारीबाट फर्केका दुई युवाले परदेसमा सिकेको प्रविधि र आर्थिक उन्नतिको सिको गर्दै यहाँ भै‌ंसीपालन गरिरहेका छन् ।

व्यावसायिक भैंसीपालन

पुतलीबजार ३ ढडुवाका ३१ वर्षीय नवराज हमाल र वडा ५ टारीका २९ वर्षीय सुरेश रेग्मीले गत वर्षदेखि भैंसी फार्म सञ्चालनमा ल्याएका हुन् । हमाल ५ वर्ष मलेसिया र रेग्मी ६ वर्ष जापान बसेर फर्किएका हुन् । दुवैले २ करोडको लागतमा २२ रोपनी क्षेत्रफलमा फार्म सञ्चालन गरेका छन् ।

स्याङ्जा एग्रो रिसर्च सेन्टर कम्पनी दर्ता गरी सुरु गरेको फर्ममा ५१ भैंसी, ४ गाई र ३९ पाडापाडी छन् । ‘५ सय भैंसी पुर्‍याउने लक्ष्य छ,’ हमाल भन्छन्, ‘अहिले पहिलो चरणमा ५१ भैंसी पुर्‍यायौं । चार महिनापछि ५० वटा थप्छौं ।’ हाल ५ सय लिटर दैनिक दूध उत्पादन भइरहेको उनले बताए । घाँस उत्पादनका लागि फर्मले सय रोपनी खेत बहालमा लिएको छ ।

मलेसियामा कृषिसम्बन्धी काम गरेका हमालले स्वदेशमै व्यावसायिक कृषिमा परिश्रम गर्दा पनि आम्दानी हुने बाटो देखेको बताए । ‘सुरुवात गरिएको छ । काम जसरी अघि बढेको छ, त्यसमा सन्तुष्ट नै छौं,’ उनले भने, ‘आफ्नै ठाउँमा गरिएको लगानी पक्कै नाफामा जान्छ । विदेशमा जस्तो ज्यान जोखिममा त छैन ।’ विदेशकै तरिकाबाट कृषि फार्मको काम थालिएको बताए । फार्ममा उत्पादित दूध बाडखोला र घुम्तीका दुग्ध डेरीमा पठाउने गरिएको अर्का सञ्चालक रेग्मीले बताए ।

‘जापान बसेर दु:ख गरियो,’ उनले भने, ‘सानैदेखि देखेको कृषि पेसामा अब हामीले नयाँ प्रविधिसहित काम गर्दा फाइदा लिन सकिने सल्लाह मिलेको हो ।’

तीनवटा गोठ बनाएर एकैचोटी ५१ वटा दुहुना भंैसी किनेर ल्याएको उनले बताए । ‘तराईबाट भै‌ंसी ल्याउँदा स्याङ्जाको हावापानी उपयुक्त हुन्छ कि हुँदैन भन्ने चुनौती थिए,’ उनले भने, ‘पहिलो चरणमा गोठ, बासस्थान, भैंसीका साथसाथै अरू पूर्वाधारमा लगानी २ करोड पुगिसक्यो ।’ ठूलो लक्ष्यका साथ थालिएको योजना भएकाले अपेक्षित फाइदामा जान समय लाग्ने उनले बताए ।

‘४/४ महिनामा ५०/५० दुहुना भै‌ंसी थप्दै जाने योजना छ,’ उनले भने, ‘तीन वर्षमा ५ सय पुग्छन्, त्यसबाट जन्मेका पाडापाडी पनि बढ्छन् ।’ भैंसीको आहाराका लागि दाना, चोकर चितवनबाट खरिद गरेर ल्याउने गरिएको छ । दूधको बजार राम्रो रहेको बताउँदै रेग्मीले थप २ हजार लिटरको माग रहेको बताए । ‘दुई हजार लिटर फार्मबाटै बिक्री हुन्छ,’ उनले भने ।

तीन वर्षपछि बजारको मागभन्दा धेरै दूध उत्पादन हुन थालेपछि आफैंले डेरी पनि सञ्चालन गर्ने योजना रहेको उनले बताए । गोबरको पनि आम्दानी लिनेगरी फार्मले योजना तयार पारेको छ । उनले भने, ‘हामी सबै आफैंले उत्पादन गरेर चलाउने एग्रो होमस्टे पनि चलाउने योजनामा छौं ।’

बढदो बजारसँगै विस्तारित सडकले व्यावसायिक कृषिकर्म गर्नेलाई सघाउने अवस्था रहेको हमाल बताउँछन् । ‘त्यसैले हामी विदेशमा जसरी नै क्वालिटी प्रोडक्ट बजारमा लैजान्छौं । ५ वर्षमा हाम्रो लगानी १७ करोड हाराहारी पुग्छ,’ हमालले भने, ‘अहिलेसम्म हामीले आफ्नै लगानी हाल्यौं । अब थप्दै जाँदा बैंक लोनको प्रक्रियामा जान लागेका छौं ।’ फर्ममा हाल १४ जनाले रोजगारी पनि पाएका छन् ।

प्रकाशित : भाद्र ३०, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?