कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एउटा पनि योजना सम्झौता भएन

लमजुङ — सरकारी कार्यालयमा कुनै अधिकृत वा कर्मचारी नहुँदा तल्लो तहको कर्मचारीले कार्यवाहक, निमित्त वा अन्य सहायकको रूपमा रहेर काम कारबाहीलाई नियमितता दिनुपर्ने हुन्छ । तर, बागलुङ नगरपालिका दुई महिनासम्म लेखा शाखा पूरै बन्द भयो ।

एउटा पनि योजना सम्झौता भएन

यहाँ कुनै निमित्त वा कार्यवाहक कोही भएनन् । साउन र भदौ दुई महिना शाखामा ताला लाग्दा पनि जनप्रतिनिधिले चासो राखेनन् । उनीहरूले चासो नराख्दा नगरपालिकाका कामहरू अलपत्र परेका छन् ।

विशेषगरी उपभोक्ता समिति गठन, सम्झौता र उनीहरूलाई पेस्की वितरण भइसक्नु पर्नेमा शून्य भएको हो । असोज लाग्दा काम थालिनुपर्नेमा प्रक्रिया पनि सुरु नभएको ४ नम्बरका वडाध्यक्ष धु्रवबहादुर केसीले बताए । नगरपालिकामा चालु वर्ष ५ सय हाराहारी योजना छन् । तीमध्ये दुइ–चारवटा ठूला ठेक्काका आयोजना छन् भने केही साना ठेक्का छन् । अरू सबै उपभोक्ता समितिमार्फत काम गर्नुपर्ने बाध्यताका योजनाहरू छन् ।

लेखाअधिकृत विष्णुनाथ शर्मा साउनदेखि भदौ १५ सम्मका लागि बिदा लिएर विदेश भ्रमणमा गएका थिए । बिदा लिएको म्यादबाहेक थप १५ दिन भुलेर मसान्तमा मात्र फर्केका छन् । उनी यति लामो समय किन गए, किन ढिला गरे भन्नेमा कसैले प्रश्न उठाएनन् ।

केहीले जिज्ञाशा राख्दा नगरप्रमुख जनकराज पौडेलले शर्मा फर्केर सबै काम गर्ने भन्दै अन्य कर्मचारी भित्र्याउनसमेत आनाकानी गरे । ‘ढिलै भए पनि आउनुभएको छ, अब काम होला,’ नगरपालिकाका कर्मचारी ऋषिराम गोतामेले भने, ‘लेखाशाखा बन्द भएकाले धेरै काम रोकिएका थिए ।’ शर्माको अभावमा कर्मचारीले दुई महिनाको तलब पनि खान पाएका छैनन् । ‘यतिबेला नगरपालिकाका ५ सय योजनामध्ये ४ सय ८० वटाको सम्झौता भइसक्नु पथ्र्यो,’ इन्जिनियर त्रिलोचन गिरीले भने, ‘लेखा बन्द भएकै कारण एउटा पनि सम्झौता भएन ।’ अब चाडपर्वअघि सम्झौता गर्ने सम्भावना कम भएको उनले बताए ।

हाल बागलुङ नगरपालिकामा सयजनाभन्दा बढी कर्मचारी कार्यरत छन् । उनीहरूको तलब रोकियो । असोजसम्म तोकिएका काम गरिसक्नुपर्ने प्रावधानका केही आयोजनासमेत प्रभावित हुने अवस्था रहेको एक जनप्रतिनिधिले बताए । ‘नगरपालिकामा सहलेखापालको दरबन्दी पनि छ तर उक्त दरबन्दीसमेत कार्यपालिकाले माग र परिपूर्ति गरेको छैन,’ उनले भने, ‘मेयर सापको मनोमानी छ । उहाँले चाहना नराखेपछि कार्यपालिका बैठकमा एजेन्डा पनि बनेन ।’

नगरपालिकामा सरुवा भएका लेखापाल सुरेन्द्र राजभण्डारीलाई हाजिर गराउने विषयमा समेत कार्यपालिका बैठकले कुनै निर्णय गरेको छैन । जिल्ला भूसंरक्षण कार्यालयबाट सरुवा भएका राजभण्डारी तीन दिनअघि हाजिरी भएका छन् । उनले नगरपालिकको कामबारे बुझ्नै नसकेको बताए । ‘म त बल्ल आएँ । के–के भएको थियो, केही थाहा छैन ।

कसरी अगाडि बढ्ने भन्नेसमेत अन्योलमा छु,’ उनले भने, ‘फरक विषयको कार्यालयमा बसेकाले अब केही समय सिक्न लाग्छ ।’ असोजभर तीन महिनाको तलब खुवाउने काममै व्यस्त हुनुपर्ने उनले बताए । नगरपालिकाका कर्मचारीमा धेरै विवादहरू छन् । दुई–तीन समूहमा बाँडिएका कर्मचारीको चाहनाअनुसार काम नहोस् भनेर प्रमुख पौडेलले भने शर्माबाहेक अरू लेखापाल ल्याउन नै नचाहेका हुन् । ‘काम गरिरहेका व्यक्ति नै आउने भएपछि अर्को ल्याउने कुरा भएन,’ पौडेलले भने, ‘केही ढिला भए पनि अरू काम गर्न रोकेका छैनौं ।’

नगरपालिकाका लेखाअधिकृतले गर्ने काममा सेवाग्राही र जनप्रतिनिधि पनि असन्तुष्ट छन् । भ्याट बिल काट्ने विषयदेखि भुक्तानीका बेला अप्ठ्यारो पार्ने काम गरेको शर्मामाथि आरोप समेत लाग्ने गरेको छ । शर्माले भने एक्लै काम गर्नुपरेकाले समस्या भएको बताए । आवश्यक जनशक्ति पाएमा सहजै काम गर्न सकिने दाबी उनले गरे ।

प्रकाशित : आश्विन २, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?