कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोजर निषेधित गाउँ

दिप्ती सिलवाल

पर्वत — पछिल्लो दशक मुलुकभरका गाउँ डोजरले छियाछिया परेका छन् । डाँडा–डाँडाका गाउँबस्तीमा छरिएका घरघरै सडक पुर्‍याउन डोजरले खन्दा थर्किएका जमिन पहिरोको चपेटमा परेका छन् । यहाँको एउटा गाउँमा भने डोजरलाई निषेध गरिएको छ ।

डोजर निषेधित गाउँ

पैयुँ गाउँपालिका १ टकलाकमा स्थानीय तहको निर्वाचनपछि कुनै पनि सडक र विकासका काममा डोजर प्रयोग गरिएको छैन । ०७४ साउनयता गाउँमा डोजर निषेध गरिएको हो । वडाध्यक्षसहितका जनप्रतिनिधिले गाउँकै युवालाई काममा लगाउन सहमतिमै डोजर ल्याउन नदिएका हुन् ।

गत वर्षदेखि टकलाकमा सडक मर्मत, नाली निर्माण, सिँचाइ कुलो, खानेपानी, सरकारी र सामुदायिक भवन निर्माण आदि सबै काममा स्थानीय युवा खट्ने गरेका छन् । गाउँका बेरोजगार युवाको सीप निर्धारण गरेर सोहीअनुसारको काममा लगाउने गरिएको वडाध्यक्ष पीताम्बर भुषालले बताए । ‘गाउँमा आएको एक पैसा पनि बाहिर गएको छैन,’ उनले भने, ‘हामीसँग कलकारखाना छैनन् । ठूलो रोजगारी दिन सकिन्न ।

गाउँमा आउने पैसा किन बाहिर पठाउने ?’ अघिल्लो वर्ष यो वडामा विकासतर्फ ५० लाख रुपैयाँ बराबरको रकम विनियोजन भएको थियो । त्योबाहेक वडाध्यक्षको पहलमा गाउँपालिकाले ११ लाख २० हजार रुपैयाँ दिएको थियो । वडाको योजनाका ४७ लाख ५० हजार रुपैयाँको काम सबै गाउँकै युवाले गरे । केही योजनामा भने काम नभएर २ लाख ५० हजार रुपैयाँ फिर्ता गर्नुपर्‍यो । गाउँपालिकाले छुट्टै दिएको ११ लाख २० हजार रुपैयाँको सबै काम भयो ।

२ सय ८२ घरधुरी भएको यो वडाबाट करिब ५५ युवा वैदेशिक रोजगारीमा गएका छन् । ६० जना हाराहारी युवा गाउँमै खेतीपाती गरेर बसेका छन् । यिनमा २० दक्ष मिस्त्री छन् ।


बाँकी अर्धदक्ष र अदक्ष छन् । विकासका काममा युवाको दक्षता छुट्याएर काममा लगाइन्छ । सीपअनुसारको पारिश्रमिक पाउँछन् । दुई वर्षअघि जिल्ला दररेट निर्धारण समितिले दक्ष मिस्त्रीको ज्याला दैनिक ९ सय तोकेको थियो । तर, उक्त रकम कम भएको गुनासोपछि स्थानीयको समझदारीमा मिस्त्रीको ज्याला दर बढाइएको छ । त्यो व्यवस्थापन जनप्रतिनिधि र सम्बन्धि आयोजनाको उपभोक्ता समितिले गर्छ ।

घरमै बसेर वर्षभरि निरन्तर आम्दानी गर्न पाएपछि स्थानीय युवा पनि सन्तुष्ट छन् । ‘विदेशमा गर्ने काम योभन्दा कठिन हुन्छ,’ स्थानीय खड्गबहादुर रानाले भने, ‘यहाँ काम सजिलो छ । घरमै बसेर कमाएको धनले अत्तो टरेको छ ।’ खड्गबहादुरसहित कमल गुरुङ, देउबहादुर गुरुङ, नरजित राना, चोकबहादुर राना, प्रेमबहादुर नेपाली र रजिस नेपालीलगायत दर्जनभन्दा बढी युवा विदेशबाट फर्किएका हुन् । खाडी मुलुक जाँदा मासिक १० हजार रुपैयाँ जोगाउन नसक्नेले परिवारसँगै बसेर घरकै मानो खाएर मासिक २० देखि ३० हजार आम्दानी गरेको केशव न्यौपानेले बताए ।

वडाले गाउँमा हुने सडक, खानेपानी, सिँचाइ, सामुदायिक भवनलगायत निर्माणका काम गर्न छुट्टै उपभोक्ता समिति गठन गर्छ । सर्वपक्षीय भेलाद्वारा गठित समितिले नै कामदारको व्यवस्थापन गर्छ । विभिन्न पाटीमा आबद्धहरू हुने भएकाले भेलाले बनाएको समिति सर्वमान्य हुन्छ । ‘विकासका कुनै काममा राजनीतिक रंग देखिँदैन,’ स्थानीय चोकबहादुर रानाले भने, ‘राजनीतिक हस्तक्षेप नभएपछि काम राम्रो हुँदोरैछ ।’

यो वर्ष गाउँसभाले टकलाकका लागि ४० लाख रुपैयाँ बजेट छुट्याएको छ । वडा कार्यालय पुग्ने सडक स्तरवृद्धिका लागि छुट्टै १८ लाख रकम छ । वडाले चालु वर्ष विकासे काम गर्न दक्ष, अर्धदक्ष र अदक्ष कामदार निर्धारण गर्दैछ । त्यसका लागि युवाहरूको क्षमताअनुसारको तालिम सञ्चालन गर्न गाउँसभामा माग गरिएको छ । खानेपानी, घर निर्माण, सिँचाइ, ग्याबिन जाली लगाउने, सडक खन्ने छुट्टाछुट्टै कामको वर्गीकरण गरेर काम गर्ने योजना बनाइएको छ ।

टकलाकमा करिब ७५ किलोमिटर सडक छ । त्यो सबै स्थानीय तहको निर्वाचनअघि ट्रयाक खुलेको हो । अब नयाँ ट्रयाक नखोल्ने निर्णय भएको छ । ‘हामी आएपछि एक दिन पनि डोजर चलाइएको छैन,’ अध्यक्ष भुषालले भने, ‘डोजरलाई जाने पैसा गाउँमै रहँदा ऐंचोपैंचो, सरसापटमा सजिलो छ । बेरोजगारले रोजगारी पाएका छन् ।’ गाउँ कार्यपालिकाको निर्णयअनुसार नयाँ ट्रयाक खोल्न निषेध गरिएको छ ।

पुराना सडक मर्मत र स्तरवृद्धि गरेर आगामी ४ वर्षमा सबै सडक ग्राभेल गर्ने योजना छ । त्यसका लागि आवश्यक तयारी सुरु भइसकेको गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले बताए ।

प्रकाशित : आश्विन ३, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?