१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

बाटोले रोक्यो घर निर्माण

गाेरखा — वर्षाले सडक अवरुद्घ हुँदा सिरानचोक गाउँपालिका ४ का भूकम्पपीडितको घर निर्माणको काम प्रभावित भएको छ । नयाँ चौतारो–माझगामबेंसी खण्डअन्तर्गत खहरे खोलामा ढिस्को भासिएपछि गत असार १३ यता सडक अवरुद्घ छ ।

बाटोले रोक्यो घर निर्माण

‘आधाआधी काम सकेका थियौं, पहिरोले बाटो बन्द भयो,’ माझगामबेंसीका पीताम्बर पोखरेलले भने, ‘गिटी, बालुवा, सिमेन्ट ल्याउन नसकेर घर अलपत्र छ ।’ बर्खाअघि यहाँ ट्रयाक्टरले निर्माण र दैनिक उपभोग्य सामग्री ढुवानी गर्दै आएको थियो ।

खहरेको दुई ठाउँमा ठूला ढिस्का भासिएर सडक छेकेको छ । ‘हामी आफैंले श्रमदान गरेर पनि यो फाल्न निकै दिन लाग्छ,’ पोखरेलले भने । पहिरोले बाटो छेकेपछि माझगामबेंसी र आरूबोटेका १२/१२, थामपाटोका ६ र फिरिफिरेका १७ घर निर्माण अलपत्र परेको उनले बताए ।

उक्त गाउँका निर्माणाधीन अधिकांश घर गारो लगाएर छाना छाउने तयारीमा छन् । केही घर गारो लगाउन र ढलान गर्न बाँकी छन् । वडा कार्यालय र गाउँपालिकालाई सडक खोलिदिन आग्रह गरे पनि अझै जनप्रतिनिधिले तदारुकता नदेखाएको गुनासो पोखरेलको छ । ‘इन्जिनियरहरू आएर घर बनाउन छिटो गर भन्छन् । सामान ल्याउन पाइएको छैन,’ उनले भने, ‘खेत रोपिसकेपछि अहिले मान्छे पनि पाइन्छ । दसैं नयाँ घरमा मनाउने भन्ने सोचेको सिमेन्ट–गिटी ल्याउन नसक्दा यसै हुने भयो ।’ घर निर्माण अलपत्र हुँदा भूकम्पपीडित परिवारको टहराको बसाइँ लम्बिएको छ । गर्भवती, सुत्केरी, वृद्धवृद्धा र बालबालिकालाई टहरामा बस्दा स्वास्थ्यका विभिन्न समस्या देखिएको छ ।

भरिया लगाएर ढुवानी गर्दा महँगो पर्ने भएकाले बाटो छेकिएपछि ट्रयाक्टर ल्याउन नपाएर गाउँले चिन्तित रहेको स्थानीय विष्णुप्रसाद पोखरेलले बताए । ‘दोस्रो किस्ता लिएर दुई कोठे घरको गारो लगाउने काम सकें । यति गर्दा ५० हजार ऋण लागिसक्यो,’ उनले भने, ‘अब एक लाख आउँछ, त्यतिले घर पूरै बन्दैन । दुई लाख ऋण खोज्नै छ । सामान पनि बोकाउने हो भने अझै ऋण बढ्छ ।’ जिल्लाका अधिकांश भूकम्पपीडितले ढुंगामाटो परम्परागतभन्दा सिमेन्ट, बालुवा र रड हालेर पक्की घर बनाउन थालेपछि सबै निर्माण सामग्री खरिद गर्नैैपर्ने बाध्यता छ ।

प्रकाशित : आश्विन ५, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?