कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँलेको सम्झनामा हर्क गुरुङ

‘संघीयता र योजनाबारे उनको दूरदर्शितालाई व्यवहारमा लागू गरिए हर्कलाई श्रद्धाञ्जली भनिरहनु पर्दैन ।’
आश गुरुङ

लमजुङ — चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने मस्र्याङ्दी किनारको ङादीबजार छेवैको ताङ्लीचोक । गाउँको एउटा लाहुरे परिवारका ‘ठूल्कान्छा’ छोरा हर्क गुरुङलाई आइतबार स्थानीयले सम्झिए । दीयो र धूप बालेर उनको समाधिस्थलमा खादा बेरियो । दिनभर उनका विषयमा कुरा भए ।

गाउँलेको सम्झनामा हर्क गुरुङ

नेता, खेलाडी र फोटोग्राफर हुँदै योजनाविद् र भूगोलविद् भएका उनलाई ‘सहरले गाउँ जाउ भनेर पठाउने र गाउँले सहर जाउ भनेर पठाउने’ गरेको टिप्पणी स्मृतिसभामा सुनाइयो । कतिपयले राज्यले उनलाई चिन्न नसकेको गुनासो गरे ।

बाल्यकालका साथी ८४ वर्षीय चुरे परियार हर्कलाई सधैं ‘उपद्रो’ काम गर्नेको रूपमा सम्झन्छन् । ‘हामी रातको निद्रा र बिहान–बेलुकीबाहेक सँगै हुन्थ्यौं । उपद्रो कामबाहेक केही गर्दैनथे । तर, काम भने भोलिपर्सीलाई सम्झने खालको हुन्थ्यो,’ उनले भने । उनका अनुसार हर्कले आकाशमा उडेको हेलिकप्टरको चित्र तत्काल बनाइदिन्थे । मस्र्याङ्दी कसरी बगेको होला भनेर हेर्न जान्थे र माछा मारेर ल्याउँथे । ‘खिर्रोको रूखबाट हँसिया खसाइदिएर मेरो टाउकोमा बजारियो,’ परियारले टाउकाको खत देखाउँदै भने, ‘मैले कसैलाई भनिनँ । हामी मिल्ने साथी थियौं ।’

हर्कले गाउँलाई भन्दा देशलाई बढी माया गरेको उनको बुझाइ छ । ‘राज्यले भने उनलाई केही गरेजस्तो लाग्दैन,’ उनले भने । मनास्लु तमु (गुरुङ) आमा समूहकी अध्यक्ष बालमाया गुरुङले देशका लागि जति काम र विकास गरे पनि गाउँलेको मनमा सधैं ‘ठूला’ भएरै रहिरहने बताइन् ।२०६३ असोज ७ (२००६ सेप्टेम्बर २३) गते ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना हुँदा उनीसँगै देशी–विदेशी हस्तीको निधन भयो । हरेक वर्ष स्थानीयले हर्कको सम्झनामा दीयो बाल्दै आएका छन् । सरकारी तवरबाट उनलाई सम्झाउने कुनै कार्यक्रम नभएको स्थानीयले बताए ।

‘हर्क गुरुङ को हुन् ? भन्नलाई उनकै किताब पढे पुग्छ,’ उस्ता गाउँका संविधानसभा सदस्य जमीन्द्रमान घलेले भने, ‘संघीयता र योजनाबारे उनको दूरदर्शीतालाई व्यवहारमा लागू गरिए हर्कलाई श्रद्धाञ्जली भनिरहनु पर्दैन ।’ हर्कको योगदानको कदर गरेर राष्ट्रिय विभूति घोषणा गर्न स्थानीय जितबहादुर गुरुङले माग गरे ।

गण्डकी प्रदेश सांसद धनञ्जय दवाडीले हर्कको नाममा अनुसन्धनात्मक विश्वविद्यालय खोल्नुपर्ने धारणा राखे । ‘विकास, पर्यटन र शिक्षालाई जोडेर विश्वविद्यालय खोलिनुपर्छ,’ उनले भने, ‘यसमा हर्कको जीवनीलाई पाठ्यक्रम बनाइनुपर्छ ।’ उनका अनुसार चक्रीय अन्नपूर्ण पदमार्ग हर्कको योगदान छ । उनले हिँडेको बाटोलाई मात्रै प्रचारप्रसार गर्न सके पर्यटन प्रवद्र्धन हुने उनले बताए । पूर्व जलस्रोत राज्यमन्त्री रामबहादुर गुरुङका अनुसार उनको योग्यता र क्षमतालाई राज्यले चिन्न सकेन ।

गण्डकी प्रदेशका अर्थ तथा योजनामन्त्री किरण गुरुङले हर्कको स्मृतिमा एउटा अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय स्थापनाका लागि पहल गरिने बताए । ‘उहाँको योगदानलाई हामी सक्दो कदर गर्छौं, उहाँलाई सम्मान गर्छौं,’ श्रद्धाञ्जली दिन आएका उनले भने, ‘उहाँको नामबाट पर्यटन, पर्वत, भूगोलसम्बन्धी के हुन्छ छलफल गरेर स्मृतिमा अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय खोल्न पहल गर्छौं ।’ समाधिस्थलमै पुस्तकालय तथा संग्रहालय निर्माण गर्न सकिने र यसतर्फ प्रदेश सरकारको ध्यान जाने उनले बताए ।

हर्कका भतिज तिलबहादुर गुरुङ ‘तेजु’ का अनुसार स्मृति केन्द्र स्थापना गरिएको छ । केन्द्रको आयोजनामा १२ औं स्मृति दिवस मनाएको कार्यक्रममा उनले हर्कका प्रकाशित अप्रकाशित कृतिको संकलन गरी प्रचारप्रसार, प्रकाशन, अनुवाद गर्ने, उनको जीवन र योगदानबारे खोज अनुसन्धान गरी बाहिर ल्याउने, संग्रहालय र उद्यान निर्माण गरी पर्यटन प्रवद्र्धन गर्नेलगायत योजना सुनाए ।

‘उहाँलाई फादर अफ रिजनल डेभलपमेन्ट प्लानर भन्ने गरिन्छ । टोनी हेगन अफ नेपाल पनि भनिन्छ,’ उनले भने, ‘उहाँबारे राज्यले उचित सम्मान गर्न हामी घच्घच्याउने प्रयास गर्छौं ।’ स्मृति केन्द्रलाई सक्दो सहयोग गर्ने हर्कका कान्छा छोरा विकास गुरुङले बताए । मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, दूधपोखरी गाउँपालिका अध्यक्ष छुपीमाया गुरुङलगायतले हर्कको पहिचानलाई देशविदेश फैलाउन सबै एकजुट हुनुपर्ने बताए ।

प्रकाशित : आश्विन ८, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?