कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्मार्ट कक्षाकोठा

घनश्याम खडका

म्याग्दी — जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा इन्टरनेट र कम्प्युटर प्रविधिमा आधारित कक्षाकोठा निर्माणको क्रमले तीव्रता पाएको छ । सदरमुकामको बेनी सामुदायिक विद्यालयका विद्यार्थीले कम्प्युटरको स्क्रिन पढ्ने र गुरुले स्मार्ट बोर्डमा स्क्रिन टच पेनले चलाउँदै पढाउने गरेको वर्ष दिन हुन लागेको छ ।

स्मार्ट कक्षाकोठा

यसको सिको जिल्लाका अरू विद्यालयमा पनि भइरहेको छ । सामुदायिकमा मात्र होइन अन्य १५ निजी विद्यालयले पनि चक, डस्टर र कालोपाटी हटाएर स्मार्ट कक्षा प्रयोगमा ल्याएका छन् । अध्ययन–अध्यापनको विधिलाई डिजिटल फर्ममा लैजाने प्रयास सुरु गर्दा विद्यार्थीमा सकारात्मक प्रभाव पाइएको बेनी सामुदायिक माविका प्रधानाध्यापक दीपक श्रेष्ठले बताए ।

‘कालोपाटीमा चकले धूलो उडाउँदै पढाउन छाडेको धेरै भयो । हामी स्क्रिन टच प्रविधिमा प्रवेश गरेका छौं,’ उनले भने, ‘अब कक्षाकोठा, शिक्षक र विद्यार्थी सबै स्मार्ट । कक्षा र विद्यालयको अनुगमन पनि सीसी टीभीबाटै गर्ने गरिएको छ ।’ प्रविधिले विद्यालय र विद्यार्थीको स्तरवृद्धि गराएको उनले बताए ।


सदरमुकाममा मात्र होइन जिल्लाको दुर्गम अन्नपूर्ण गाउँपालिकाले त मातहतका सबै माध्यमिक तहमा अनिवार्य स्मार्ट कक्षा सञ्चालन गर्ने बजेट नै विनियोजन गरेको छ । गाउँपालिकाले विद्यालय र कक्षा कोठालाई स्मार्ट बनाउन गत वर्ष सबै माविमा स्मार्ट बोर्ड, टिभी, कम्प्युटर र अन्य उपकरण उपलब्ध गराएको थियो । दुर्गम गाउँका विद्यालयमा समस्याका रूपमा रहेको गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षक नपाउने समस्या सुल्झाउन अन्नपूर्ण गापाभित्रका सबै ९ र १० कक्षामा अनिवार्य टेलिटिचिङ गरिने भएको छ ।

कक्षा स्मार्ट भएपछि टेलिटिचिङ अध्ययन–अध्यापनले थप सहज बनाउने अपेक्षा जनप्रतिनिधिको छ । विद्यालयका कक्षाकोठालाई डिजिटलाइज्ड गर्न समुदाय स्मार्ट टीभी तथा अन्य उपकरण जडान गर्ने, इन्टरनेट विस्तार गर्ने, प्रविधिमैत्री कक्षाकोठा व्यवस्थापन गर्ने र प्राविधिक जनशक्ति तयार पार्ने काम गरिरहेको गाउँपालिकाले जनाएको छ ।


‘यो समयको माग हो । विद्यार्थी टिकाउन पनि आधुनिक विधिमा स्थानीय तहले सघाउनुपर्छ भनेर हामी सबै लागेका छौं,’ गाउँपालिका अध्यक्ष डमबहादुर पुनले भने, ‘हाम्रो पहिलो प्राथमिकता शिक्षा हो । सबै विद्यालयमा अंग्रेजी भाषा अनिवार्य गर्ने, सबैमा डिजिटल प्रविधियुक्त बनाउने, शैक्षिक गुणस्तर बढाउन शिक्षकको मनोबल वृद्धि गर्ने र उपयुक्त पाठ्यक्रम पढाउने लक्ष्यसहितका योजना छन् ।’

विद्यालयमा स्मार्ट कक्षाकोठा बनाउन गाउँपालिकाले छुट्टै आईसीटी कक्षा टेलिटिचिङको पूर्वाधार सुधार गर्न २० लाख र वडाहरूले ५/५ लाख बजेट विनियोजन गरेको उनले बताए । आईसीटी कक्षा सञ्चालन हुने दोबा, तातोपानी, दाना, नारच्याङ, पाउद्धार, घार, हिस्तान, रिमा, नागीलगायतका १० माविमा इन्टरनेट पुर्‍याउन थप ५ लाख विनियोजन गरिएको छ ।


टेलिटिचिङबाहेक पनि विद्युतीय पुस्तकालय, कम्प्युटर कक्षा र सजिलो इन्टरनेट सेवा पुर्‍याउन गाउँपालिकाले छुट्टै विदेशमा रहेका अन्नपूर्णवासीबाट सहयोग जुटाउनन कोष पनि खडा गरेको छ । कोषमा हालसम्म ७ लाख रकम जुटेको छ । गाउँपालिकाको अभियानलाई शिक्षकहरूले पनि सघाएका छन् ।

प्रकाशित : आश्विन १०, २०७५ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?