कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीप भए रोजगारी जताततै

दिप्ती सिलवाल

पर्वत — मोहमद आलमले सुरुमा मसला बोक्ने मजदुर र केहीपछि मिस्त्रीको काम गरे । हिजोआज पक्की घर बनाउन उनी ठेक्का लिएर काम गर्छन् । विहारको मोतिहारीका आलम कुश्मा बस्न थालेको १४ वर्ष भयो । उनीसँग हाल घर निर्माणमा ढलानका काम गर्ने डकर्मी र सिकर्मी गरी १४ दक्ष कामदार छन् ।

सीप भए रोजगारी जताततै

आफूले ठेक्का लिएका ठाउँमा उनी टोलीसहित खटिएर आवश्यकताअनुसार अरू कामदार पनि लिन्छन् । आलमजस्ता पर्वतमा मात्रै करिब दुई दर्जन भारतीय छन्, जसले ठेकेदार घर र भवन निर्माणको ठेक्का लिएर काम गर्छन् । निजी आवास निर्माणका क्रममा ढलान, प्लास्टर, रङको ठेक्का लिएर काम गर्ने उनीहरूले मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छन् ।

‘भित्ताको अवस्था हेरेर ११ सय देखि १६ सयसम्म कमाइ हुन्छ,’ कामदार अब्बास मियाँ भन्छन्, ‘ठेकेदारको भन्दा आफैंले गर्न पाए धेरै आम्दानी हुन्छ ।’ यसरी काम गर्नेहरू दैनिक १२ घण्टासम्म खटिने गरेको उनले बताए । ‘जति खट्न सक्यो त्यति पैसा बढ्छ,’ उनले भने ।

पहाडी जिल्लामा यसरी मिस्त्रीका रूपमा काम गर्नेहरू कतिपय भारतमै काम सिकेर नेपालमा काम खोज्दै आएकाहरू छन् । काम नजानेकाहरू पनि केही दक्ष कामदारका साथ लागेर रोजगारी खोज्दै आएकाहरू छन् । मजदुरका रुपमा नेपाल छिरेकाहरू पनि दक्ष कामदारसँग काम सिक्दासिक्दै सिपालु हुने गरेका छन् । ‘आठ वर्षअघि नेपाल आएको हुँ । तीन वर्ष हेल्परको काम गरें,’ विहारको बेतियाका मिस्त्री अजय कुमारले भने, ‘अहिले आफैंले तीनजना हेल्पर राखेर काम गर्दैछु ।’ ठेक्कामै काम गर्दैआएका उनले दैनिक १६ सयसम्म आम्दानी हुने बताए । ‘काम राम्रो गर्न जान्नेले हात खाली बस्नुपर्दैन,’ उनले भने ।

स्थानीय निर्माण व्यवसायीका अनुसार घर निर्माणका क्रममा गारो लगाउने र ढलान गर्ने काममा बाहेक प्लास्टरको काम गर्ने दक्ष कामदार नेपाली पाउनै मुश्किल छ । एकाध भएका कामदारले समेत काम ढिला गर्ने र भनेअनुसारको काम गर्दैनन् । ‘लोकल मान्छेले कामै ढिला गर्छन्,’ निर्माण व्यवसायी ठाकुर श्रेष्ठले भने, ‘फिनिसिङ पनि राम्रो आउँदैन । इण्डियनहरू हात छिटो चलाउँछन्, फिनिसिङ चिटिक्क हुन्छ ।’

दुई दशकदेखि कुश्मामा ठेक्कामा घर बनाउँदै आएका श्रेष्ठले प्लास्टरको सबैजसो काम भारतीय कामदारलाई नै जिम्मा लगाउंदै आएको बताए । नेपालीहरू कामका लागि विदेश गएपछि तनमन दिएर खटेको जस्तो अवस्था यहाँ आएका भारतीय कामदारको रहेको उनको भनाइ छ । ‘घरधनीले आफूले चाहेको डिजाइमा पर्फेक्ट काम खोज्छन्,’ उनले भने, ‘राम्रो काम गर्ने ठेकेदार र मिस्त्रीलाई उसले अर्कोपटक पनि खोज्छन् ।’

स्थानीय स्तरमा सीप सिकेका युवाहरू भएपनि गाउँघर आसपासमा ज्यामी काम गर्न लजाउने बानीले भारतीयले अवसर पाएको अवस्था छ । ‘धेरैलाई काम सिकाएर दक्ष बनाउन खोजेँ,’ व्यवसायी सनम क्षेत्रीले भने, ‘यहाँका युवाहरूले काम गर्नै खोज्दैनन् । मिस्त्री काम गर्दा इज्जतको कुरा गर्छन् ।’ निर्माणव्यवसायी क्षेत्रीले विगत आठ वर्षको अवधीमा दुई सयभन्दा बढी युवालाई कामको अवसर दिएकोमा आधाभन्दा बढी केही समय काम गरेर विदेश गएको बताए ।

यहाँ दक्ष मिस्त्रीको काम गर्दै आएका केही युवाहरू कामको सम्मान नहुँदा धेरैजसोले विदेश जान चाहने बताउँछन् । ‘यहाँ मिस्त्री काम गर्ने भनेपछि लेबर हो भन्दै छिछि दुरदुर गर्छन्,’ मिस्त्री रमेश सेञ्चुरीले भने, ‘विदेशमा लेबरलाई सबैभन्दा धेरै सम्मान हुन्छ । काम सानो–ठूलो भन्ने हुँदैन ।’ काठको काम सिकेर पाँच वर्ष दुबई बसेका उनी गत वर्ष घर फर्केका हुन् ।

ज्यालादारीमा काम सुरु गरेका उनी आफूलाई हुने व्यवहारबाट असन्तुष्ट रहेको बताउँछन् । डकर्मी काम गर्दै आएका दिलीप नेपालीले श्रम अनुसारको पारिश्रमिक भएपनि सम्मान नभएको गुनासो गरे । ‘विदेशमा जस्तो दु:ख गर्न सके यहाँ पनि आम्दानी नहुने होइन,’ उनले भने, ‘तर, यहाँ कामको सम्मान छैन । कामलाई सम्मान भए को घर छाडेर परदेस जान्थ्यो होला ।’

स्थानीयस्तरमा दक्ष कामदारको अभाव हुन थालेपछि केही स्थानीय तहहरूले चालु वर्षदेखि युवालाई कामको प्रकृति छनोट गरेर गाउँमै प्रशिक्षण दिन थालेका छन् । फलेवास नगरपालिका र महाशिला गाउँपालिकाले कार्यविधि नै बनाएर विभिन्न शीर्षकमा युवा छनोट गरि प्रशिक्षित गर्न सुरु गरेका छन् । फलेवासले ११ वटा शीर्षकमा ११ वटै वडामा युवालाई तालिम दिएको छ । नगरप्रमुख पदमपाणी शर्माका अनुसार प्लम्बर, डकर्मी, सिकर्मी, हाउस वायरिङ, कपाल काट्ने, कपडा सिलाउने र जुत्ता बनाउने लगायतको तालिम अहिले चलिरहेको छ ।

महाशिलाका अध्यक्ष राजु पौडेलका अनुसार एक घर एक रोजगार कार्यक्रमअन्तर्गत गत वर्षबाटै घरैपिच्छेका युवा समेटेर छुट्टाछुट्टै शीर्षकमा तालिम दिइएको छ । ‘गाउँको विकासका लागि स्वयंसेवक परिचालन गरिएको छ,’ उनले भने, ‘दक्ष कामदार खोज्न अब समस्या हुँदैन । युवा काम खोज्दै बिदेसिनुपर्ने अवस्था पनि हट्छ ।’

प्रकाशित : आश्विन २१, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?