बाग्लुङ — सबै गाउँपालिका र नगरपालिकाले अनिवार्य लागू गर्नुपर्ने भवन निर्माण संहिता यहाँका अधिकांश स्थानीय तहले पालना गरेका छैनन् । २०५४ सालमा घोषित बागलुङ नगरपालिकामा समेत तोकिएको मापदण्ड पूरा गरेर घर बनाउने एकाध मात्रै छन् ।
बागलुङको भवन निर्माण संहिता लागू भएको गलकोट नगरपालिका । तस्बिर : प्रकाश बराल/कान्तिपुर
जिल्लाभित्र साढे तीन तलाको नक्सा पास गर्ने प्रावधान छ । तर साढे ५ तलासम्म बनाउने क्रम चलिरहेको छ । नगरपालिकाको मापदण्ड पालना नगर्नेमा अधिकांश ठूला व्यपारी तथा राजनीतिक पहुँच भएकाहरू छन् । घर बनाउँदा अगाडि–पछाडि डेढ मिटर सेटब्याक छाड्नुपर्ने प्रावधान पनि थोरैले मात्र पालना गरेका छन् ।
अनौपचारिक रूपमा अनुरोध गर्दा पनि मापदण्ड धेरै स्थानमा मिचिएको इन्जिनियर त्रिलोचन गिरीले बताए । ‘नगरपालिकाले दुई वर्षअघि पास गरेको मापदण्ड मिचेरै घर बनेका छन्,’ गिरीले भने, ‘जनप्रतिनिधिले अनुगमन गर्ने हो, निर्माण सम्पन्न लिन आए भने हामीले अनुमति दिएका छैनौं ।’ निर्माण सम्पन्न कागजात नलिएरै धेरैले घर बनाएर बसेको उनले टिप्पणी गरे ।
भूकम्पीय जोखिम भएकाले भवन निर्माण संहिता सरकारले जारी गरेको दुई वर्ष पुगे पनि नगरमा लागू नभएको हो । नगरपरिषद्ले पास गरेर लागू गर्ने भए पनि अहिलेसम्म जिल्लाका ३ नगरले पास गरेका छैनन् । गलकोट नगरपालिकाले भने उक्त संहिता परिषद्मा पास गरेको प्रमुख भरत शर्मा गैह्रेले बताए । संहिता पालना नभएकाले चोक र मोहडामा अग्ला घर बनिरहेका छन् । त्यस्ता घरले दुर्घटना बढाएको, ठूला सवारीलाई मोड्न अप्ठ्यारो भएको गुनासो पनि बढेको छ । १ हजार वर्गफिटभन्दा ठूला घर बनाउने भए माटो परीक्षण, प्रयोग हुने रडको प्राविधिक परीक्षण गर्नुपर्ने प्रावधानसमेत अटेर गरेर भवन बनेको भेटिएको गिरीले बताए ।
ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले ७ तले घर बनाएपछि अन्य व्यापारीले पनि अग्ला घर बनाउने होड चलाएका छन् । मध्यपहाडी लोकमार्गको दसवटा व्यवस्थित सहर बनाउनेमध्येको बुर्तिबाङ भए पनि संहिता लागू नभएको हो । ‘एक वर्षयता बुर्तिबाङ बजारको ४० प्रतिशत खाली जमिनमा घर बनेका छन्,’ साना सहरी विकास आयोजनाका प्रमुख प्रवीण अधिकारीले भने, ‘व्यवस्थित बनाउने भन्ने हो, क्षेत्राधिकारको विवादले रोक्न सकिएको छैन ।’ यसअघिको नीतिअनुसार साना सहरी विकास आयोजनाले २०८८ सम्म स्मार्ट सिटी बनाउने लक्ष राखेको थियो ।
गलकोट नगरपालिकाले भने संहिता पालना गरेपछि हरेक सडक कम्तीमा साढे १२ मिटरको हुने प्रावधान राखेको छ । ‘हाल बनेका घर उक्त मापदण्डमा भएमा क्षतिपूर्ति दिएर हटाउने निर्णय गरेका छौं,’ गैह्रेले भने, ‘नयाँ घर बनाउनेलाई तोकिएको स्थानमा बनाउन लगाउँछौं ।’ मध्यपहाडी लोकमार्गको खण्डमा भने नगरको सानो मापदण्ड नलाग्ने उनले बताए । राष्ट्रिय मापदण्ड आफ्नै ढंगले लागू हुने गरी नगरपालिकाले निर्णय गरेको छ ।
लेखनाथ — एक कक्षामा १, दुई कक्षामा २ र तीन कक्षामा ३ विद्यार्थी । कतै दुई विद्यार्थीलाई ३ शिक्षक । कतै एक शिक्षकलाई ४ विषय । ग्रामीण भेगका सामुदायिक विद्यालयमा यस्तै हुन्छ । सामुदायिक विद्यालयको यही अवस्था सुधार्न कास्कीको रूपा गाउँपालिकाले नमूना कार्यक्रम लागू गरेको छ ।
रूपा गाउँपालिकाको देउरालीमा रहेको विश्वशान्ति माविमा जोडिएको दुई किलोवाट क्षमताको सोलार पावर ।तस्बिर : दीपक परियार/कान्तिपुर
गाउँपालिकामा १० माध्यमिकसहित ३४ विद्यालय छन् । रूपा आधारभूत शिक्षा सुनिश्चित गाउँपालिका घोषणा भइसकेको छ । ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा भदौ २४ मा उक्त घोषणा गरिएको हो । ३४ वटै विद्यालयमा ५ कक्षासम्म अंग्रेजी माध्यममा पढाइ हुन्छ । गाउँपालिकाले प्रत्येक विद्यार्थीलाई अंग्रेजी माध्यमको एक/एक सेट किताब नि:शुल्क उपलब्ध गराएको छ ।
अंग्रेजी किताबका लेखकलाई गाउँपालिकामा बोलाएर शिक्षकलाई तालिम पनि प्रदान गरेको छ । वर्षमा तीनपल्ट दिइने त्यस्तो तालिम दुईपल्ट भइसकेको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाले विज्ञान, गणित, अंग्रेजी र सामाजिक विषयका किताब लेखकले तालिम दिएको बताए । उनका अनुसार तालिमले शिक्षकको क्षमता अभिवृद्धिमा मद्धत पुग्छ ।
गाउँपालिकाले १० वटै माविमा शिक्षक र कर्मचारीलाई विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । क्रमिक रूपमा सबै विद्यालयमा विद्युतीय हाजिरी पुर्याउने गाउँपालिकाको लक्ष्य छ । पाठय योजनासहितको शिक्षक डायरी गाउँपालिकाले तयार गरेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयमा एउटै पाठयक्रम र कार्यक्रमसहितको शैक्षिक क्यालेन्डर लागू भएको छ । गाउँपालिकाकै सहयोगमा प्रत्येक विद्यालयका छात्रालाई नि:शुल्क सेनिटरी प्याड वितरण हुँदै आएको छ । शिक्षिकालाई समेत सेनिटरी प्याड नि:शुल्क वितरण हुन्छ । ‘छात्रा महिनावारी हुँदा विद्यालय नआउने समस्या देखेपछि सेनिटरी प्याड बाँड्न थाल्यौं,’ गाउँपालिका अध्यक्ष भन्छन्, ‘यसले छात्राको हाजिरी बढाएको छ ।’
गाउँपालिकाका १० वटै माविमा दुई/दुई किलोवाट क्षमताको सोलार पावर जडान गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा प्रत्येकमा ४ लाख ७० हजार रुपैयाँ बराबरको सोलार जडान गाउँपालिकाले गरेको हो । उक्त सोलारबाट कम्प्युटर, प्रिन्टर चलाउन, बत्ती बाल्न पर्याप्त रहेको गाउँपालिका अध्यक्ष ओझाले बताए । गत आर्थिक वर्षमा शिक्षामा ५७ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ छुटयाएको छ ।
प्राथमिकतामा प्राविधिक शिक्षा एसईईपछि विद्यार्थीले गाउँ छाड्ने क्रम बढेपछि गाउँपालिकाले प्राविधिक शिक्षाको योजना ल्याएको छ । जसअन्तर्गत तीन विद्यालयले प्राविधिक शिक्षाको अनुमति लिएर कक्षा सञ्चालनको तयारीमा छन् । विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएर पढाइ सुरु गर्न लागेका हुन् ।
देउरालीको विश्वशान्ति माविमा सिभिल इन्जिनियरिङको तीन वर्षे डिप्लोमा कोर्स सुरु भएको छ । सीटीईभीटीको प्रवेश परीक्षामाफर्त छनोट भएका २० विद्यार्थीको भर्ना विद्यालयले लिइसकेको छ । यही असोज ७ देखि कक्षा सञ्चालन भएको विद्यालयका प्रधानाध्यापक वसन्त पहारीले बताए ।
‘इन्जिनियरिङलाई आवश्यक भवन, ल्याबलगायत भौतिक संरचना तयार गरिसकेका छौं,’ उनले भने । खाल्डेको गाउँफर्क माविमा पशुविज्ञान र रामकोट माविमा बालीविज्ञानको पढाइ हुन लागेको छ । दुवै कोर्स १८ महिने हुन् । पशुविज्ञान र बालीविज्ञानमा प्रवेश परीक्षामार्फत २०/२० विद्यार्थी छनोट भएका छन् । गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्यसहित बजेटमार्फत २४ लाख रुपैयाँ विनियोजन गरेको थियो ।