दुर्घटनामा १३ यात्रु घाइते, तीनको अवस्था गम्भीर

प्रतिक्षा काफ्ले

स्याङ्जा — पुतलीबजार नगरपालिका ११ स्थित बगालथोकमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा १३ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।



Yamaha

पोखराबाट सुनौलीतर्फ जाँदै गरेको लु१ख ४८७७ नम्बरको बस टाईरड (चक्का घुमाउने डण्डी) फुस्कीएपछि अचानक भित्तामा ठोक्किन पुगेको जिल्ला प्रहरीले जनायो। घाइतेलाई जिल्ला अस्पताल स्याङ्जामा उपचारार्थ ल्याइएको थियो। तीमध्ये पुतलीबजार ४ की २४ वर्षीया सदङ परियार, गल्याङ ३ बस्ने २१ वर्षीय यमबहादुर गाहा र कास्की जिल्ला पोखरा उपमहानगरपालिका १० की ५२ वर्षीया गोमा गुरुङको अवस्था गम्भीर भएकाले प्राथमिक उपचारपश्चात् थप उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकी रिफर गरिएको जिल्ला प्रहरी प्रवत्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए।

डिएसपी विष्टका अनुसार चापाकोट नगरपालिका १ का १८ वर्षीय भद्रबहादुर आले, भीरकोट नगरपालिका ४ की १७ वर्षीया सुजु राना, रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका ११ बस्ने १८ वर्षीया दिपा पराजुली, पाल्पा जिल्ला रामपुर नगरपालिका १० की १९ वर्षीया लक्ष्मी न्यौपाने र कास्की जिल्ला पोखरा उपमहानगरपालिका ३३ की २५ वर्षीया संगीता रानाभाटको जिल्ला अस्पताल स्याङ्जामा नै उपचार भइरहेको छ।

पुतलीबजार ११ की २८ वर्षीया माया शर्मा, ११ की ४७ वर्षीया सीता रेग्मी, भीरकोट ८ की ३५ वर्षीया कमला खनाल, पर्वत जिल्ला पैयु गाउँपालिका ७ का ४५ वर्षीय छमबहादुर सुनार र तनहुँ जिल्ला निवासी १५ वर्षीया मुना सुनार भनेर उपचारपश्चात् डिस्चार्ज भएको डीएसपी विष्टले बताए। ‘मुनाको ठेगना पत्ता लागेको छैन’ उनले भने।

बस घटनास्थलमा नै रहेको प्रहरीले बताएको छ। बस चालक रूपन्देही जिल्ला तिलोतमा नगरपालिका ११ का ५६ वर्षीय दलबहादुर गुरूङलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित : आश्विन २५, २०७५ १७:१४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जनजाति संस्थाले बजेट पाएनन्, नवीकरण र कार्यालय भाडा तिर्न समस्या

कान्तिपुर संवाददाता

काठमाडौँ — लोपोन्मुख कुसुन्डा जातिको संगठित संस्था नेपाल कुसुन्डा विकास समिति दुई वर्षदेखि नवीकरण भएको छैन । सरकारबाट सहयोग नपाएकाले सामुदायिक उत्थानका गतिविधि सञ्चालन गर्न नसकिएको अध्यक्ष धनबहादुर कुसुन्डाले बताए ।

‘संघीयता आएपछि लोपोन्मुख जनजातिको बेहाल भयो,’ उनले भने, ‘संस्था नवीकरण गर्न र कार्यालय राखेको घर भाडासम्म तिर्न सकिएन ।’ स्थानीय तहको ध्यानाकर्षण गराउँदा पनि वास्ता नगरिएको उनको भनाइ छ ।

अर्को लोपोन्मुख जाति राजीको संस्थाले पनि गत वर्षदेखि संस्थागत गतिविधि गर्न सकेको छैन । राजी साल्म समाज केन्द्रीय कार्यालय कैलालीको टीकापुरमा छ । ‘सरकारले बजेट उपलब्ध नगराउँदा समस्यामा छौं,’ अध्यक्ष चित्रबहादुर राजीले भने, ‘सदस्यहरू मिलेर संस्था नवीकरणसम्म गरेका छौं । कार्यालय भाडा तिर्न समस्या छ । हाम्रो आवाज सुन्ने निकायको खोजीमा छौं ।’

सरकारले सूचीकृत ५९ आदिवासी जनजातिका केन्द्रीय संस्थालाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमार्फत वार्षिक १ लाख ५० हजार रुपैयाँ सञ्चालन खर्च उपलब्ध गराउँथ्यो । यसैगरी सीपमूलक र व्यावसायिक दक्षता अभिवृद्धि तथा चेतनामूलक कार्यक्रम सञ्चालन गर्न दिन्थ्यो । संघीयता लागू भएसँगै प्रतिष्ठानमार्फत दिइने बजेट स्थानीय तहबाट उपलब्ध गराउने गरी कटौती गरिएको छ । तर, स्थानीय तहले पनि जनजातिका निम्ति बजेट छुट्याएका छैनन् ।
जनजातिका समस्या सुनुवाइ गर्ने निकाय प्रतिष्ठान हो । सरकारले चालु आवमा कर्मचारी तलब, घर भाडा, बिजुली, पानीका निम्ति ३ करोड ६५ लाख रुपैयाँ मात्र बजेट उपलब्ध गराएपछि प्रतिष्ठान आफैं अस्तित्वको संकटमा छ । प्रतिष्ठानका सदस्यसचिव गोविन्दलाल माझी स्थानीय तहमार्फत पनि बजेट उपलब्ध नगराइएपछि सरकारको ध्यानाकर्षण गराउँदै आएको बताउँछन् । ‘सरकारसँग पटक–पटक बजेट माग गर्दै आएका छौं,’ उनले भने, ‘प्रतिष्ठानले गर्दै आएका कामहरू अधुरा छन् । तिनलाई पूरा गर्न र आदिवासीका संस्था जीवित राख्नका लागि बजेट आवश्यक छ ।’ कार्यक्रमको शीर्षकअनुसार करिब आठ करोड रुपैयाँ थप बजेट माग गरिएको उनले जनाए ।

गत वर्ष प्रतिष्ठानको बजेट १३ करोड ४९ लाख रुपैयाँ थियो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उक्त बजेटमध्ये ५ करोड ९० लाख रुपैयाँ सोझै स्थानीय तहमा समायोजन गरेको थियो । जनजातिका निम्ति केन्द्रीय तहमा सञ्चालन गरिँदै आएका राष्ट्रिय कार्यक्रममध्ये ११ वटा स्थानीय तहमा गाभिएका छन् ।

२०३४ सालदेखिको ‘चेपाङ विकास कार्यक्रम’ तथा लोपोन्मुख र सीमान्तकृत समूहमा परेका जातिका निम्ति चलाइँदै आएका कार्यक्रम तथा बजेट कटौतीमा परेका छन् । लोपोन्मुख समूहमा कुसुन्डा, वनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुशबाडिया पर्छन् । त्यसैगरी अति सीमान्तकृत समूहमा माझी, सियार, ल्होमी (सिङ्सावा), थुदाम, धानुक, चेपाङ, सतार (सन्थाल), थामी, झाँगड (उराव), बोटे, दनुवार र बरामु पर्छन् ।

प्रकाशित : आश्विन २५, २०७५ १६:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT