कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहयोगीको भरमा चेपाङ

कान्तिपुर संवाददाता

लमजुङ — जग्गाजमिन र आम्दानीको स्रोत छैन  । वर्षमा एकपल्ट आउने दसैं हाँसीखुसी, मिठोमसिनो खाएर, राम्रो लगाएर मनाउनै पर्‍यो  ।

सहयोगीको भरमा चेपाङ

लमजुङका चेपाङ समुदायलाई दसैंको बेला आर्थिक समस्याले पिरोल्छ । अरूको खेतमा गएर काम गर्ने र काम गरेपछिको आम्दानीले दैनिकी गुजार्दै आएका उनीहरूमा दसैं आएपछि झन् पीडा थपिन्छ । दसैंका बेला उनीहरू सहयोगी हात कुर्छन् ।

केही वर्षदेखि सरकारी तथा गैसरकारी कार्यालय तथा निकायको सहयोगले दसैं मनाउन केही सहज भएको उनीहरू बताउँछन् । बेंसीसहर नगरपालिका ११, चिती बरबोटका १० घर चेपाङ परिवारलाई बेंसीसहर नगरपालिकाले केही दिनअघि दसैंखर्च प्रत्येक घरलाई ६/६ हजार रुपैयाँ दिएको नगरप्रमुख गुमानसिंह अर्यालले बताए ।


नजिकै दोर्दी गाउँपालिका ९, भीरकुना घर भएका ४ चेपाङ परिवार भने उक्त सहयोग पाउनबाट छुटे । लमजुङमा चेपाङका १४ घरपरिवार छन् । ‘दसैं हो । घरबारविहीन छन् । आम्दानीको स्रोत केही छैन । तत्कालका लागि दसैं मनाउन सहयोग गर्‍यौं,’ उनले भने, ‘यसरी सधैं दिएर साध्य त हुँदैन । अब जीविकोपार्जनतर्फ चेपाङ समुदायलाई अघि बढाउनुपर्छ ।’


रोटरी क्लब अफ लमजुङको अगुवाइमा १४ घरपरिवारलाई दसैंका लागि खाद्यान्न तथा बालबालिकाका लागि स्टेसनरी सामग्री सहयोग गरेको छ । रोटरी क्लब आफ न्युरोड पोखरा, रोटरी क्लब अफ लमजुङ, रोट्रयाक्ट क्लब अफ लमजुङ र बालबालिका र वातावरणको क्षेत्रमा काम गर्ने बाबा फाउन्डेसन पोखराले १४ घरपरिवारलाई प्रति परिवार ७ हजार २ सय रुपैयाँका दरले १ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको थियो । रोटरी क्लव अफ लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार चेपाङका प्रतिपरिवार १ बोरा चामल, २ लिटर खाद्य तेल, २ पोका नुन, २ केजी रातो दाल, १ किलो चिनी, १ किलो मसला र ३ किलो बराबरको एउटा ब्रोइलर कुखुरा सहयोग गरिएको छ । यस्तै, चेपाङका २४ जना बालबालिकालाई ३५ हजार रुपैयाँ बराबरको स्कुल जाँदा बोक्ने झोला, कापी र कलम वितरण गरिएको छ ।


स्थानीय ६० वर्षीय हिमबहादुर चेपाङले सहयोगको भरमा दसैं मनाउँदै आएको बताए । ‘दसैं मनाउन पनि सहयोग कहाँबाट आउँछ भनेर कुर्नुपर्छ । जग्गाजमिन छैन । आम्दानीको स्रोत छैन । अरूको नेम्याग गरेर परिवार पाल्दैमा धौधौ छ,’ उनले भने, ‘सहयोगकै भरमा दसैं मनाउनुपरेको छ । स्थानीय सुनीता चेपाङले सहयोगीको सहयोगले दसैं मनाउन चेपाङ समुदायलाई सजिलो भएको बताइन् ।


‘मिठोमसिनो खान, राम्रो लाउन पनि १०/१५ हजार त चाहिन्छ । त्यति धेरै पैसाको मुख कहिले देख्ने हामीले ?’ उनले भनिन्, ‘बेलाबेला आउने सहयोगले खुसी हुन्छौं । खुसीले हाम्रो आँखाबाट आँसु बग्छ ।’ नेपाल चेपाङ संघकी जिल्ला सचिव अमृता चेपाङका अनुसार कमाएर खाने जग्गाजमिन नहुँदा चेपाङ परिवारलाई सधैंको दु:ख छ । एक मुठी उब्जाउ गर्नलाई जग्गा छैन ।


घर समेत अरूको जग्गामा बनाएर बसेका छन् । ‘चाडबाड आउँछ, जहिल्यै सहयोगीको भरमा मनाउनुपर्ने बाध्यता छ,’ उनले भनिन् । उनका अनुसार केही वर्षयता चेपाङ परिवारले सहयोगीको भरमा दसैं मनाउँदै आएका छन् ।

चेपाङबस्तीका सबैभन्दा धनी मानिने ६८ वर्षीय सुकमान चेपाङका अनुसार उनलाई वर्षभरि खान पुग्दैन । गिठाभ्याकुर खाएर बाँच्नुपर्ने अवस्था छ । उनी भन्छन्, ‘अचेल त्यही गिठाभ्याकुर पनि पाउन छोड्यो । सहयोगी पाएमात्र चाडपर्व रमाइलो हुन्छ । नत्र केको दसैं, केको तिहार ?’

प्रकाशित : आश्विन ३०, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?