कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफैं श्रमिक, आफैं मालिक

प्रतीक्षा काफ्ले

स्याङ्जा — आत्मर्निभर बन्न आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको बताउने आँधीखोला गाउँपालिका– ३ का विश्व पौडेल कुखुरापालन व्यवसायमा रमाउँदै आएका छन् । भन्छन्, ‘आवश्यकतानुसार हाकिम, कर्मचारी, साहु र श्रमिक बन्नुपर्छ ।’

आफैं श्रमिक, आफैं मालिक

गाउँतिर गए पनि गोबर मल फालेकै छु
बजारतिरै बसे पनि दानापानी हालेकै छु ।
दिनरात हिउँद वर्षा आँधी हुरी झेल्दै झेल्दै
हारजित सुखदु:ख पाइलाहरू चालेकै छु ।

उनी गजलकार होइनन् । तर बारम्बार यही गजल गुन्गुनाउँछन् । पुतलीबजार नगरपालिका– १ मा कुखुरा पाल्दै आएका उनले पसिना बग्नेगरी मेहनत गर्नुपर्ने बताउँछन् । राजनीति गर्दा गुजारा चलाउन धौधौ भएपछि उनी व्यवसायतर्फ लागेका हुन् । ‘दु:खका कुरा गरिसाध्य छैन’ उनले भने, ‘जीवन सोचेजस्तो नहुने रहेछ । सदुपयोग गर्ने हो ।’ उनीसहित ८ जनाले सामूहिक लगानी गरी माछापुच्छ्रे पोल्ट्री एन्ड लाइफस्टक प्रालि २०७१ मा दर्ता गरी व्यवसाय सुरु गरेका थिए ।


एक करोड रुपैयाँ लगानी गरी सञ्चालन गरिएको उक्त कम्पनीमा थोरै १० र धेरैले ३० लाख रुपैयाँ लगानी गरेका छन् । प्रतिवर्ष २ लाख रुपैयाँ भाडा दिने गरी १५ वर्षका लागि २३ रोपनी जग्गा भाडामा लिएर फार्म सञ्चालन गरेका हुन् । फार्मका ५ वटा भवन छन् । प्रतिफार्ममा १३ हजार कुखुरा अटाउने क्षमता छ । कुखुरा पालनसँगै चल्ला र दाना पनि बिक्री गरिँदै आएको छ । एक लटमा ५ देखि ७ लाख रुपैयाँसम्म फाइदा हुने पौडेलको भनाइ छ । फार्ममा ११ जनाले नियमित काम गर्छन् । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा काम गर्ने ५४ जना छन् ।
‘हामी आफैं श्रमिक आफंै मालिक हौं,’ उनले भने, ‘फार्मको सुरुदेखि हामी आफैंले मिलेर काम गरेका छौं ।’ मेघ प्रनेश पनि लामो समय वैदैशिक रोजगारीमा गएर आएका हुन् । अर्काको देशमा गरिने श्रम आफ्नै देशमा गर्नसके हीरा फलाउन सकिन्छ भन्ने उद्देश्यले व्यवसायमा हात हालेको उनी बताउँछन् ।


‘स्वदेश वा विदेश जहाँ दु:ख गरे पनि काम र पैसा एउटै हो,’ उनले भने, ‘आफ्नो देशमा गरिएको व्यवसायमा मिले हाकिम र साहु पनि बन्न पाइन्छ । विदेशमा अर्काको दबाबमा कामदार मात्र बन्ने हो ।’ उनले विदेशमा गरेको दु:खका पाठले आज व्यवसायी बनाएको बताए । कुखुराको हेरचाह, उपचार, आहारा खुवाउने काम आफैं गर्छन् । कतिपय साथीले आफै काम गर्छ भन्ने विश्वास नभएर फर्ममा हेर्न पनि पुगेको उनीहरूको अनुभव छ ।


कम्पनीको संरक्षक अर्का सेयरधनी मोतीप्रसाद पौडेलले गर्दै आएका छन् । उनी विगतदेखि कुखुरा व्यवसायी गर्दै आएका व्यक्ति हुन् । उनको अनुभवमा नै सामूहिक नमुना फार्म सञ्चालन भएको अन्य सञ्चालकको भनाइ छ । पुतलीबजार नगरपालिकाका उपप्रमुख महेश पुरीसमेत यस फार्मका सञ्चालक हुन् । जनप्रतिनिधि हुनुपूर्वसम्म फार्म बनाउन, खाल्डा खन्न, चल्ला कुर्नदेखि संरक्षणसम्म ठूलो भूमिका उनको छ ।


फार्मका सबै सञ्चालकहरू बिहानबेलुका एक ठाउँमा हुन्छन् । दिउँसो भने, कोही नगर कार्यपालिका, कोही पार्टी वा संगठनसँगै सामाजिक काममा व्यस्त देखिन्छन् । व्यवसायबाट आर्थिक रूपमा धेरै फाइदा लिन नसके पनि अनुभव र सिकाइ महत्त्वपूर्ण रहने सेयरधनीको भनाइ छ । फार्ममा तीन जनाको परिवार बस्दै आएका छन् । यस फार्मबाट अन्य ठाउँमा पनि यस्तै व्यवसाय गर्न सक्छौं भन्ने आत्मबल बढेको अर्का सञ्चालक मोतीप्रसाद पौडेलले बताए । यहाँ उत्पादित कुखुरा पोखरा, पर्वत, बागलुङ, बुटवल र काठमाडौं पुग्छन् ।

प्रकाशित : कार्तिक ६, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?