विकासे जातकै लहर
स्याङजा — घरभित्र कसौंडीमा पाक्दै गरेको चामलको बाहिरसम्म बास्ना आउँछ । खाँदा नरम र स्वादिलो पनि ।
पुतलीबजार ४ की ६० वर्षीया उमादेवी पोखरेलको रोजाइमा झिनुवा चामलको भात हो । तर, अब सजिलै त्यो चामल पाउन सकिँदैन ।
बैडा र अर्चले नामका फाँटमा लगाउने झिनुवाका लामा–लामा लहलह फलेका धानका बाला, अग्लो धानको पराल सम्हाल्दै उनको धेरै वर्ष बितेका हुन् । ‘झिनुवाको धान भनेपछि खेत नै बसाउँथ्यो,’ उनी भन्छिन्, ‘धान काट्ने बेला फाँटमा जाँदा झिनुवा बसाएर एकपटकको भोक त्यहीं हराउँथ्यो ।’
सानो उमेरदेखि जिब्रोमा बसेको झिनुवा र अनदीको चामलको स्वाद अब सपना जस्तो लाग्न थालेको उनले बताइन् । ‘एक हल गोरुले जोतेको खेतमा झिनुवा र अनदी मात्र लगाइन्थ्यो,’ उनले भनिन्, ‘एक वर्षसम्म मजाले खान पुग्थ्यो पनि । अहिले ती दिन हराए । धानका हाम्रा पुराना जातको साटो खेतमा विकासे जात पस्यो ।’ उनले भनेजस्तै अनदी र झिनुवाजस्ता पुराना रैथाने धान अब न कृषि प्राविधिक सिफारिस गर्छन्, न त किसानले लगाउने रहर ।
यसको कारण थोरै क्षेत्रफलमा धेरै उत्पादन दिने जातमा सबैको ध्यान छ । हाइब्रिड जात लगाउनु बाध्यता भएको किसानको भनाइ छ । आँधीखोला गाउँपालिका ५ का तोयनाथ लामिछाने रैथाने जातको उत्पादन घट्दै गएकाले किसान विकासे लगाउन बाध्य भएको बताउँछन् । चाडपर्व आउने बेलामा पाक्नेगरी लगाइने आँगा, जरपनि, बातिसरा, मार्सी, झिनुवा र अनदी धान हराउँदै गएका छन् । कसैकसैले रहरले अझै लगाए पनि अपेक्षित परिमाणमा उत्पादन छैन ।
‘जर्मनबाट ल्याएको धान भएकाले जरपनि भन्थे,’ पोखरेल भन्छिन् ‘तौली धान कात्तिक निख्रिँदा पाक्ने गोला मन्सुरा कौडे, मानामुरी गोला, मन्सरा (रातो धान), कनजिरो, कालो धान (गाजली झिनुवा), रातो झिनुवा, मगमग बसाउने जेठो बूढो, लामा–लामा जुवा जस्तो हुने जुवाडी धानका जात नै हराए ।’ अहिले निल्न नसके पनि बजारका चामलको भात खानुपर्ने बाध्यता भएको उनी गुनासो गर्छिन् ।
अहिले त कुन धान धेरै फल्छ, त्यही रोप्ने चलन चलेको छ । थोरै जग्गामा धेरै उत्पादन दिने जात कृषि सम्बद्ध निकायहरूले सिफारिस गर्छन् । ‘हाइब्रिड र उन्नत जातको धान उत्पादन तेब्बर हुन्छ,’ किसान शिवलाल लामिछाने भन्छन्, ‘खानलाई स्वादिलो रैथाने जात नै थिए भनेर नचल्ने जमाना छ ।’
छिमेकीको खेतमा लटरम्मै धानका बाला देखेपछि गोगनपानीका लोकराज लामिछानेको पनि मन बदलिएको छ । रैथाने जात चटक्कै छाडेर करिब १० रोपनी खेतमा हाइब्रिड जात खेती गरेका छन् । ‘धेरै फलेपछि बेच्न पनि पुगेको छ,’ उनले भने, ‘रैथानेभन्दा हाइब्रिड र उन्नत झन्डै तेब्बर फल्यो ।