कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रानीपानीमा सहकारीले सजिलो

कान्तिपुर संवाददाता

पर्वत — बजार क्षेत्रमा बग्रेल्ती खुलेका बचत तथा ऋण सहकारीका विकृति नभएका होइनन् तर, गाउँले मिलेर आफ्ना लागि खोलेका सहकारीले खनखाँचो सजिलो पारेका छन्  । सजिलो पार्नेमध्येकै दरिलो उदाहरण हो रानीपानीको सहकारी  ।

रानीपानीमा सहकारीले सजिलो

सानोतिनो व्यवसाय गर्न गाउँमा पैसा खोज्दा सजिलै नपाएपछि रानीपानीका यामनारायण ज्ञवाली, रामप्रसाद पराजुली र मुकुन्द पराजुलीलगायतले सहकारी संस्था खोल्ने सल्लाह गरे । २०६७ वैशाख २८ मा सहकारी डिभिजन कार्यालय बागलुङमा कृषि सहकारी दर्ता भयो । उतिबेला ३५ जनाले जनही २ हजारका दरले ७० हजार रुपैयाँ जुटाएर सुरु गरेको सहकारीमा अहिले ४० लाख पुँजी पुगेको छ ।

आवद्ध सबैलाई यसले आर्थिक कारोबार सहज भएको छ । सस्तो व्याजदरमा घरघरै पैसा पुग्छ । सहकारीकै अगुवाइमा गाउँका घरघरै फलफूल बगैंचा सुरु गरिएको छ । सहकारीबाट धेरथोर ऋण गरेर रानीपानीका ५० परिवारले घरघरै व्यावसायिक तरकारी लगाएका छन् । सहकारीको अगुवाइमा स्थानीयका कृषिउपज प्रदर्शनी र साप्ताहिक रूपमा हाटबजार सुरु भएको छ । गाउँमा दूध उत्पादन व्यावसायिक बनाउन चिस्यान केन्द्र खोल्ने प्रक्रिया सुरु भएको छ ।

सहकारीले हालसम्म रानीपानीमा मात्रै ५ हजार लिची र आँपको बिरुवा वितरण गरेको छ । करिव सय परिवारले घर वरपर फलफूल लगाएका छन् । ‘सिजनमा लिची किलोको दुई सय रुपैयाँ पर्छ,’ स्थानीय सृजना भट्टराइले भनिन्, ‘एउटा बोटमा राम्रो हुँदा दुई क्विन्टल फल्छ ।’ राम्रो बजार मूल्य पाए एउटा बोट लिचीबाट वर्षभरि खान पुग्ने अन्न किन्न सकिने उनले बताइन् । ‘पहिला दुई–चार हजार नपाएर समस्या हुन्थ्यो,’ गोविन्दराज पराजुलीले भने, ‘अहिले सानोतिनो व्यवसाय गर्न पैसाको समस्या हुंँदैन । सस्तो ब्याजमा घरघरै पैसा आउँछ ।’ सहकारीले बिनाधितोमा ५ लाखसम्म ऋण सेवा शुल्क नलिई लगानी गर्दै आएको छ । बढीमा १५ प्रतिशत व्याजमा ऋण लगानी गर्दै आएको अध्यक्ष रामप्रसाद पराजुलीले बताए ।

‘विगतमा रानीपानी हरेक हिसाबले विकट थियो,’ उनले भने, ‘अहिले वालिङसम्म सडक जोडिएकाले सहज छ । यही वर्षदेखि बाटो स्तरोन्नति भएको छ । वर्षामा पनि गाडी चल्ने बन्दै छ ।’ सडकको सहज सुविधा हुने भएकाले सहकारीले यसै साताभित्र दूध चिस्यान केन्द्र ल्याएर गाउँको उत्पादन वालिङसम्म लैजाने तयारी गर्दै छ ।

कम्तीमा दुई सय लिटर दुध वालिङ पठाउने गरी तयारी गरेको सहकारीका सचिव गोविन्द पराजुलीले बताए । सहकारी स्थापना भएपछि स्थानीयलाई सानोतिनो व्यवसाय गर्न, कृषिमा लगानी गर्न, तरकारी तथा फलफूल खेती गर्न सहज भएको स्थानीय ज्ञानप्रसाद ढकालले बताए । ‘मैले सहकारीबाटै ऋण लिएर तरकारी खेती सुरु गरेको हुँ,’ उनले भने, ‘तरकारीकै आम्दानीले किस्ता तिर्न सजिलो छ ।

ब्याजदर सस्तो भएकाले किस्ता बुझाउन समस्या छैन ।’ रानीपानीकै गोविन्दराज, मुकुन्द र रामप्रसादलगायतका युवाले सहकारीबाट सहुलियत दरमा ऋण लिएर व्यवसाय सञ्चालन गरेका छन् ।
केही किसानले पशुपालन र सिलाइकटाइमा लगानी गरेको अध्यक्ष पराजुलीले बताए ।

तत्कालीन रानीपानी, बर्राचौर र वाहाकी गाविस कार्यक्षेत्र रहनेगरी सुरु गरेको सहकारीले गाउँपालिकाभर कार्यक्षेत्र बनाउन लागेको पदाधिकारीले बताए । धेरै किसान सहकारीमा आबद्ध हुन चाहेपछि सहकारीले हालै विधान संशोधन गरिसकेको छ । सहकारी डिभिजन कार्यालयसँग अनुमति लिएर कार्यक्षेत्र बिस्तार गर्ने तयारी भएको उपाध्यक्ष यामनारायण ज्ञवालीले बताए ।

सहकारीका शेयर सदस्यहरूले अहिले पनि नियमित बचत गर्छन् । हरेकले मासिक न्यूनतम ५ सय बचत गर्दै आएका छन् । नियमित गरेको बचतलाई मूल पुँजीमा जम्मा गरेर बढाउँदै लगेको सहकारीले आगामी दिनमा गाउँमै सहुलियत पसल, कृषि तथा पशुपालन फर्म, सहकारी खेतीलगायतमा लगानी गर्ने योजना बनाएको छ ।

प्रकाशित : कार्तिक १८, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?