कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोटरसाइकलले पैदलयात्रुलाई जोखिम

दिप्ती सिलवाल

पर्वत — झोलुंगे पुल पहाडी नदीखोलाहरूमा एउटा किनारबाट अर्को किनारसम्म जोड्न फलामे लठ्ठा तानेर बनाइएको बाटो हो । झोलुंगे पुलहरू पैदलयात्रुको आउजाउका लागि बनाइन्छ । पर्वतका अग्ला झोलुंगे पुलहरूमा मोटरसाइकल कुदाउने पैदलयात्रुभन्दा धेरै हुन थालेका छन् । 

मोटरसाइकलले पैदलयात्रुलाई जोखिम

कुश्मा–मुडिकुवा र कुश्मा–कैया जोड्न बनेका दुईवटा झोलुंगे पुलमा पैदलयात्रुको भन्दा मोटरसाइकलको चाप बढी हुन्छ । बिहानदेखि साँझसम्म यी दुवै पुलमा मोटरसाइकलमा सवार गर्नेहरूको चाप थेगिनसक्नु हुने गरेको स्थानीय बताउँछन् ।


चाडपर्व र पर्यटकको सिजनमा त झन् घुम्न आउनेहरूले पुलमा लस्करै बाइक चलाउने गरेका छन् । सिंगल स्पानको पुलमा एउटा बाइक गुडाएपछि यात्रुलाई पैदल हिंड्न असहज हुन्छ । कहिलेकाहीं मोटरसाइकलकै कारण पैदल यात्रुलाई हिंड्डुल गर्न समस्या हुने गरेको मुडिकुवाका शालिग्राम लामिछानेले बताए । ‘पिच बाटोमा जस्तै बाइक हुइँक्याएर ल्याउँछन्,’ उनले भने, ‘हिजोआज पुलमा हिंड्नै डर लाग्छ ।’


उनका अनुसार २ वर्षअघि बनेको कुश्मा–मुडिकुवा झोलुङ्गे पुलमा सुरुसुरुमा दैनिक दुई/चारवटा मोटरसाइकल वारपार हुन्थे । हिजोआज दैनिक सयभन्दा धेरै मोटरसाइकल वारपार गर्ने गरेको उनले बताए । मुडिकुवा, देवीस्थान, खानीगाउँ, कुर्घा, पाङराङलगायत दक्षिण पर्वतका बासिन्दाका लागि कुश्मा–मुडिकुवा र फलेवास–कुर्घा जोड्न बनेका झोलुङ्गे पुलले चार घण्टा बाटो छोटिएको छ ।


सदरमुकाममा कोठा खोजेर बस्ने कर्मचारी, शिक्षक, विद्यार्थी पनि अहिले मोटरसाइकलमा केही मिनेटमै कुश्मा आउजाउ गर्छन् । ‘पहिला कुश्मा जागिर गर्दा पनि कोठा खोजेरै बसिन्थ्यो,’ सडक डिभिजन कार्यालय बाग्लुङमा कार्यरत मुडिकुवाका अर्जुन गौतमले भने, ‘अहिले बाग्लुङ पनि घरबाटै भ्याइन्छ ।’ बिहान साढे ९ बजे खाना खाएर हिंडेपछि २० मिनेटमै बाग्लुङ पुग्न सकिने उनले बताए ।


दुई वर्षअघि फलेवास नगरपालिकाले मुडिकुवास्थित माटेदेवल मावि हुँदै झोलुङ्गे पुलसम्मको ३ किलोमिटर सडक खनेको थियो । स्थानीयकै सक्रियतामा नगरपालिकाले पुलसम्म ट्रयाक खोल्दिएपछि मोटरसाइकल वारपार गर्न सहज भएको हो । अहिले मोटरसाइकलमा यात्रा गर्नेहरू कुश्माबाट जिल्लाको सुदूर दक्षिण हुवाससम्म दुई घण्टामै पुग्छन् । कुश्मा र फलेवासको पुल बन्नुअघि ५ देखि ६ घण्टासम्म लाग्थ्यो ।


त्यस्तै बाग्लुङतर्फको झोलुङ्गे पुलमा समेत दैनिक दुई सयको हाराहारीमा मोटरसाइकल वारपार हुने गरेको स्थानीय बताउँछन् । कैयाका कृष्ण अखेलीका अनुसार दसैंदेखि तिहारसम्म बिहानैदेखि साँझ अबेरसम्म पुलमा बाइक वारपार गर्नेहरूको भीड नै लागेको थियो ।


स्थानीयवासी र निर्माण समितिहरूले एक पटकमा एउटा बाइक वा स्कुटर मात्रै वारपार गर्ने गरी नियम बनाए पनि त्यसको पालना भएको पाइँदैन । ‘पुल लत्रिने गरी एकैपटकमा ५–६ ओटासम्म बाइक चलाएपछि सावधानी सूचनासमेत टाँस्यौं,’ स्थानीय राजु क्षेत्रीले भने, ‘चौबीसै घण्टा हेरेर बस्न पाइँदैन । बाहिरबाट आउनेले प्रवाह नगरी एकैचोटि बाइक हाल्छन् ।’


बाइक तार्ने यात्रुसित शुल्क लिएर पुलको मर्मतसम्भार गर्न सम्बन्धित कुश्मा, फलेवास र बाग्लुङ नगरपालिकालाई केही स्थानीयले सुझाव दिने गरेका छन् । तर, त्यो सम्भव नहुने भन्दै नगरपालिकाले कार्यान्वयन गरेको छैन । ‘हामीले निश्चित शुल्क लिएर पुलको व्यवस्थापन गर्न नगरपालिकालाई सुझाएका हौं,’ कुश्मा ५ की ईश्वरी पाठकले भनिन्, ‘नगरपालिकाले वास्तै गरेन । दुई–तीन वर्षमै पुल जीर्ण हुन थालिसकेका छन् ।’


पुलमा दुईतर्फी बाइक गुडाउँदा साइडका जाली च्यातिन थालेको स्थानीयले बताएका छन् । नगरपालिकाले भने सार्वजनिक पुलमा शुल्क लिनु उपयुक्त नभएको भन्दै स्थानीयको सुझावलाई कार्यान्वयन गर्न मानेको छैन । ‘यहाँका झोलुङ्गे पुल हाम्रा गहना हुन्,’ कुश्माकी उपप्रमुख सीता काफ्ले लामिछानेले भनिन्, ‘पुल हेर्न आउनेहरूसँग शुल्क उठाउनु उपयुक्त हुँदैन ।’ पुलकै कारण कुश्माको व्यावसायिक चहलपहल बढेको भन्दै उनले वारपार गर्नेहरूबाट शुल्क लिन थाले कुश्मामा पर्यटक घट्ने भएकाले यस्तो गर्न नहुने बताइन् ।


‘सुरुमा बाइक तार्न नदिने भनिएको थियो,’ स्थानीय एवं पुल निर्माण समितिका सचिव नारायणप्रसाद पौडेलले भने, ‘पछिपछि प्राविधिकहरूसँग सल्लाह लियौं । बाइक कुदाउँदा समस्या नहुने भनेपछि बाइक तार्न मिल्ने गरेरै बनाइयो ।’ पुलसम्म आउने मोटरबाटो समितिकै पहलमा खनेपछि पुलमा बाइक वारपार गर्न सहज भएको उनले बताए ।


प्राविधिक हिसाबले भने झोलुङ्गे पुलमा मोटरसाइकल वारपार गर्नु उपयुक्त नहुने जानकारहरू बताउँछन् । ‘सिंगल स्पानको झोलुङ्गे पुलमा बाइक गुडाउनु त्यति उपयुक्त होइन । हामीले प्रपोज गर्दैनौं,’ इन्जिनियर रवीन्द्र तिवारीले भने, ‘अहिले सजिलोका लागि गुडाउँछन् । प्रविधिले सजिलो पनि बनाएको छ । अहिले पुल डिजाइन गर्ने बेलामै बाइक तार्ने गरी डिजाइन गरिन्छ ।’


तत्कालीन जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर तिवारीकै अगुवाइमा बनेको कुश्मा–मुडिकुवा पुल बाइक तार्ने गरी नै डिजाइन गरिएको उनले बताए । तिवारी हाल पूर्वाधार विकास कार्यालय लमजुङमा कार्यरत छन् ।


प्रविधिको विकास नहुने बेलासम्म आरनमा काँचो फलाम पगालेर फलामका साङ्ला आपसमा जोडेर लठ्ठा बनाएर झोलुङ्गे पुल बनाइन्थ्यो । यस्ता साङ्लाको पुल लामो दूरीमा जोखिमपूर्ण मानिन्थ्यो । नदीको खोंच लामो भएको स्थानमा यस्ता लठ्ठा आफैंमा बढी गह्रौंगो हुने भएकोले लामो दूरीमा टाँगेर यस्ता पुल हाल्ने चलन थिएन । प्रविधिको विकाससँगै अहिले मेसिनबाट बनेका लठ्ठाको सहायताले एउटा खोंचबाट अर्को खोंचसम्म आधा किलोमिटर लम्बाइसम्मका पुल हाल्न थालिएको छ ।


पर्वतको कुश्मा बजारमै यस्ता पुलको संख्या आधा दर्जन पुग्न थालिसकेको छ । २०६६ मा कुश्मा–ज्ञादी जोड्न ३३५ मिटर लामो पुल बनेपछि त्यसलाई सिंगल स्पानको मुलुककै लामो पुल दाबी गरियो । त्यही पुल हेर्न आउने पर्यटकको केही वर्ष भीड नै लाग्यो । अहिले कुश्मा–मुडिकुवा, कुश्मा–बलेवा गरी ३ वटा पुल निर्माण भइसकेका छन् ।


त्यस्तै कुश्माकै खरेहाबाट ज्ञादीको अधिकारी फाँट जोड्ने र कुश्मा १ पाङबाट बाग्लुङ बजार जोड्न थप दुई पुल निर्माणाधीन छन् । कुश्माकै उपल्लो बजारस्थित चाक्लेको डिलबाट बलेवा जोड्न बन्जी जम्पसहितको अर्को पुल निजी लगानीकर्ताहरूले धमाधम निर्माण गरिरहेका छन् ।


निर्माणाधीन झोलुङ्गे पुलमा पनि मोटरसाइकल वारपार गर्न मिल्ने गरी डिजाइन गरिएको स्थानीय सरोकारवालाहरूले बताएका छन् ।

प्रकाशित : कार्तिक २६, २०७५ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?