कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एम्बुलेन्सको लापरबाही रोक्न सक्रियता

कान्तिपुर संवाददाता

गोरखा — गत शनिबार आँबुखैरेनीबाट गोरखा सदरमुकाम आउँदै गरेको बस सोह्रकिलोमा दुर्घटना हुँदा १७ जना घाइते भएका थिए ।

एम्बुलेन्सको लापरबाही रोक्न सक्रियता

दुर्घटनास्थलबाट घाइते र उद्धारकर्मीले एम्बुलेन्सका चालक र सेवा ञ्चालकहरूलाई फोन गरे । सेवा सञ्चालनको स्वीकृति लिएका ३२ मध्ये एउटा पनि एम्बुलेन्स घटनास्थलमा पुगेनन् ।


घाइतेहरू ट्याक्सी बोलाएर अस्पताल गए । एम्बुलेन्स सञ्चालकले चाहिएका बेला सेवा नदिनु यहाँ नौलो छैन । तर, बस दुर्घटनाका बेला प्रहरी–प्रशासनका अधिकारीहरूलाई पनि उद्धारमा ध्यान दिनुपरेकाले एम्बुलेन्सको लापरबाहीबाट परिचित हुने मौका मिल्यो । चाहिएका बेला नआइदिने एम्बुलेन्स चालकहरूको बानीका कारण सेवाग्राही हैरान छन् । भनेका बेला नआउने, राति फोन रिसिभ नगर्ने र रिसिभ गरे पनि बिरामी लिएर हिँडेको वा व्यस्त रहेको बहानाबाजी गर्दा हैरानी बढेको हो ।


जनगुनासो बढेपछि एम्बुलेन्स सञ्चालनमा रहेको बेथिति हटाउन सोमबारदेखि जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिले कडाइको प्रयास थालेको छ । ‘अस्ति भएको बस दुर्घटनामा एम्बुलेन्स पाएनांै । एम्बुलेन्स सञ्चालन व्यवस्थित नगरी नहुने भयो,’ प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले भने, ‘अब व्यवस्थित गर्नुपर्छ भनेर लागेका छौं ।’


भीमसेन स्मृति प्रतिष्ठान छोप्राक र बुंकोट स्वास्थ्य चौकीबाट सञ्चालित एम्बुलेन्स ठेक्कामा चलाएको पाइएको उनले बताए । दुवैले स्वीकृति लिएको ठाउँबाट सेवा पनि सञ्चालन नगरेको पाइएको छ । काजीमान स्मृति प्रतिष्ठानबाट सञ्चालित एम्बुलेन्सले फुजेलमा रहेर सेवा दिनुपर्नेमा दसकिलोमा राखेर चलाइएको पाइएको प्रजिअ भट्टराईले बताए ।


सोमबार भएको जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिको बैठकले सेवा सञ्चालन गर्न अनुमति लिएकै ठाउँबाट चलाउन १५ दिनको समयसीमा दिएको छ । ‘अन्य कुनै संघ–संस्थाले पनि अनुमति लिएको ठाउँभन्दा अन्यत्र चलाएको वा ठेक्कामा लगाएको भए १५ दिनभित्रै सम्बन्धित ठाउँ र संस्थालाई चलाउन भनेका छौं,’ उनले भने । एम्बुलेन्स सञ्चालकहरूले एउटा सञ्चालक समिति बनाई एम्बुलेन्स परिचालनका बारेमा आधिकारिक सम्पर्क स्थान र सम्पर्क व्यक्ति तोक्न पनि समितिले निर्देशन दिएको छ । ‘चालक मात्र भन्न भन्दा पनि सञ्चालक समिति पनि जिम्मेवार बन्नुपर्छ,’ उनले भने ।


एम्बुलेन्स कतै जाँदा/फिर्दा कार्यालयका स्रोत व्यक्तिलाई जानकारी गराउने र समय खुल्ने अभिलेख राख्न पनि सञ्चालकहरूलाई निर्देशन दिइएको छ । प्रत्येक महिनाको ७ गतेभित्र अघिल्ला महिनाको उक्त अभिलेख जनस्वास्थ्य कार्यालयमा पठाउन पनि भनिएको प्रजिअ भट्टराईले बताए । ‘राज्यले एम्बुलेन्स खरिदमा भन्सार छुट दिएको अप्ठ्यारो पर्दा सेवा देऊ भनेको हो,’ उनले भने, ‘यसका सर्तहरू पालना गर्न सञ्चालक समिति जिम्मेवार बन्नैपर्छ ।’

प्रकाशित : कार्तिक २७, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?